arrow

दक्षिण एसिया र आतंकवाद

logo
बिनोज बस्न्यात,
प्रकाशित २०७६ जेठ २ बिहिबार
terrorist1.jpg

काठमाडौं। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा रहेको ट्वीन टावरमा आक्रमण भयो। आतंकवादी संगठन अलकायदाले गराएको यो आक्रमणलाई ९/११ आक्रमण भनेर चिनिन्छ। त्यसयता अमेरिकासहितका अन्य मुलुकहरु आतंकवादविरुद्धका लागि संगठित भएर सहकार्य गर्दै आएका छन्। दक्षिण एसियाली मलुकमा भने पछिल्लो आतंकवादी गतिविधि बढेको छ। बेलाबेलामा यस किसिमको आक्रमण हुँदै आएको छ। यसले दक्षिण एसियाका लागि आतंकवाद विरुद्धको कार्यक्रम तत्काल शुरु गर्नुपर्ने आवश्यकता देखिएको छ।

दक्षिण एसियामा श्रीलंका आतंकवादको नयाँ निशाना बन्न पुगेको छ। यो मुलुकमा सन् २००९ मा तीन दशकदेखि चल्दै आएको युद्ध रोकिएको थियो। यो युद्धमा करीब ८० हजार मानिसको ज्यान गएको थियो। यो युद्धमा श्रीलंकाको डिफेट अफ लिबरेशन टाइगर अफ टामिल एलम (एलटीटीई) संगठनले हारको सामना गरेको थियो।  

यसैबीच केही समयअघि इस्टरको समयमा भएको आक्रमणमा परी २ सय ५० जना मानिसको ज्यान गएको थियो। जसमा ३८ जना विदेशी थिए। ५ सय भन्दा बढी मानिस घाइते हुन पुगेका छन्। सरकारले इस्लामिक स्टेट (आईएस)का सहयोगीको यो आक्रमणमा हात रहेको बताएको छ। अल्पसंख्यक मुस्लिम समुदायका केही मानिस आतंकवादमा संलग्न रहेको सरकारको भनाइ छ। अप्रिल २१ मा भएको यो आक्रमणको दुई दिनपछि आईएसले घटनाको जिम्मेवारी लिएको थियो।

नेशनल थावहीड जमात (एनटीजे) श्रीलंकाको भूमिगत संगठन हो। लामो समयदेखि श्रीलंकामा देखिएको धार्मिक युद्धको केन्द्रमा रहँदै आएको छ। श्रीलंकाको रक्षा मन्त्रालयले यो आक्रमण यसअघि न्युजिल्याण्डको मस्जिदमा भएको आक्रमणको बदलास्वरुप गराइएको दाबी गरेको छ। श्रीलंकाको समग्र जनसंख्यामा ७० दशमलव २ प्रतिशत बौद्ध धर्मावलम्बी छन्, १२  प्रतिशत हिन्दू छन्, ९ दशलमव ७ प्रतिशत मुस्लिम रहेको मुलुकमा ७ दशमलव ४ प्रतिशत क्रिस्चियन छन्। क्रिस्चियनमा पनि अधिकांश रोमन क्याथोलिक छन्। सन् २०१२ मा मुस्लिममाथि अतिवादी बुद्धिस्ट समुहले आक्रमण भएको थियो। 

त्यस्तै गत फेब्रुअरी १४ मा भारतको काश्मिरमा रहेको पुलवामामा भारतीय सैनिकमाथि आक्रमण भएका थियो। यो आक्रमणमा ४० जनाको ज्यान गयो। आक्रमणको जिम्मेवारी पाकिस्तानमा रहेको आतंकवादी ग्रुप जैश ई–मोहम्मदले लिएको थियो। यो आक्रमण काश्मिरमा भएको ३० वर्षयताकै सबैभन्दा ठूलो आक्रमण हो।

बंगलादेशको संविधानले बंगलादेश प्रमुख चार सिद्धान्तमा आधारित रहेर सुरक्षित मुलुक रहेको घोषणा गरेको छ। तर, उसले इस्लामलाई मलुकको धर्म रहेको घोषणा गरेको छ। बंगलादेशका ८९ प्रतिशत मानिस मुस्लिम छन्। बंगलादेशमा अल्पसंख्या धार्मिक समुदायका मानिसमाथि आक्रमण हुँदै आएको छ। सन् २०१३ यता यस किसिमको आक्रमण बढेको छ। 

सन् २०१६ जुलाई १ मा होली अर्टिशन क्याफेमा भएको आक्रमणमा परी २९ जनाको ज्यान गएको थियो। यो आक्रमणको जिम्मा आईएसले लिएको थियो। तर, गृहमन्त्रीले भने यो आक्रमण आईएससँग नभई जमात अल मुजाहेडीनसँग सम्बन्धित रहेको तर आईएससँग कुनै सम्बन्ध नदेखिएको बताएका थिए।

पाकिस्तानमा आतंकवादी आक्रमणमा परी ज्यान जानेको संख्या र आक्रमणमा कमी आए पनि आत्मघाती बम विष्फोट र आक्रमणको क्रम भने रोकिएको छैन। प्रधानमन्त्री इमरान खानले अप्रिल १८ मा भएको आक्रमणलाई आतंकवादी आक्रमण भएको बताएका थिए। सो दिनमा कराँचीबाट ग्वाडारतर्फ गइरहेका १४ यात्रुमाथि आक्रमण भएको बताएका थिए। उक्त आक्रमण बालोचिस्तानमा भएको थियो।

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लाग्दै आएको छ। संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरेका २२ संगठन छन्। साथै राष्ट्रसंघका करीब आधा आतंकवादी पाकिस्तानमा छन्। गत मे १ मा जैश ई–मोहम्मदका मासुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरिनु दक्षिण एसियाको लागि आतंकवाद विरुद्धको पहिलो कदम हुनसक्ने बताइएको छ। 

नेपालसँग पनि अजहरको खराब इतिहास छ। सन् १९९९ मा आईसी ८१४ विमान अपहरण भएको थियो। भारतीय जेलमा रहेका अजहरको रिहाइको माग गर्दै उक्त विमान अपहरण गरिएको थियो। अहिले विप्लवलाई सरकारले ११ बम विष्फोटको घटनापछि अवैधानिक घोषणा गरेको छ। 

अफगानिस्तानका ५४ प्रतिशत जिल्ला सरकारी नियन्त्रणमा छन्। सन् २०१५ मा ७२ प्रतिशत जिल्ला सरकारको नियन्त्रणमा थिए। पछिल्लो समय मुलुकमा सरकार आतंकवादी संगठनको दबदबा घटाउन असफल बन्दै आएको छ। यस्तोमा अमेरिकाले पनि अफगानिस्तानलाई दिँदै आएको सहयोग कटौती गर्ने निर्णय गरेको छ। यसले अफगानिस्तानमा आतंकवादी गतिविधि बढ्नसक्ने देखिएको छ। 

दुई सय माल्दिभ्सका नागरिक सिरिया पुगेका थिए। उनीहरु त्यहाँ रहेका विभिन्न आतंकवादी संगठनबाट लड्नका लागि उक्त मुलुकमा पुगेका हुन्। अहिलेसम्म दक्षिण एसियामा सुरक्षाको कुनै जोखिम नदेखिएको मुलुक भुटान हो। यूएन र आईसीएसआरले गरेको अध्ययनमा विश्वका एक सय १० मलुकबाट ४० हजार विदेशी लडाकु सिरिया, इराक र अन्य मध्यपूर्वमा मुलुक पुगेका छन्। ८० मलुकबाट ३२ हजार पुरुष, करीब ५ हजार महीला र त्यसै हाराहारीका बालबालिका आईएसमा आबद्ध छन्। 

दक्षिण एसिया बहुधर्म, बहुसंस्कृति भएको क्षेत्र हो। यहाँको बम आक्रमण, हत्या, राजनीतिक अस्थिरता, भ्रष्टाचार, कमजोर सरकार र आप्रवासीले यहाँको शान्ति प्रक्रिया कमजोर बनाएको छ। पछिल्लो समय श्रीलंका, भारत र नेपालमा भएका आक्रमणमा गुप्तचर संस्थाको वेवास्ता स्पष्ट देखिएको छ।

राष्ट्रसंघको सुरक्षा परिषद्ले आतंकवादविरुद्ध लड्नका लागि विशेष किसिमको नीति अख्तियार गर्नुपर्ने देखिन्छ। साथै दक्षिण एसिया र दक्षिणपूर्वी एसियाले आतंकवादको सामना संगठित रुपमा डटेर गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि सार्क तथा बिमस्टेकजस्ता संगठनमार्फत् काम अघि बढाउनु जरुरी छ। 

नेपाल र अन्य मुलुकले तत्कालै आफ्नो सैन्य क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ। सुरक्षामा ध्यान दिनु नेपालको लागि आवश्यक छ। नेपालले पनि आतंकवादी गतिविधि हुनु पर्व र रोक्न अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्नु अत्यत्न जरुरी छ। जसमा थप सेना भर्ती, परामर्श लिने वा वित्तीय सहयोगजस्ता विषय समावेश छन्। यो सुरक्षाको हिसाबमा निकै महत्वपूर्ण काम हो।

(नेपाली सेनाका पूर्व उपरथी बस्न्यातको साउथ एसिया मोनिटरमा छापिएको आलेखबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ