arrow

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : मोबाइल प्रयोगकर्ताकै संख्या जनसंख्याभन्दा एक करोड बढी

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
telecommunication-day-may-17.jpg

काठमाडौं। आज विश्वभर ५० औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ। अन्तर्रा्ष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू) का विश्वभरका १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ। दशक अघिसम्म दूरसञ्चारको विस्तारमा बढी केन्द्रित दिवस अहिले  यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा लक्षित हुन थालेको छ। 

यस वर्ष दिवसको नारा स्तरीकरणको खाडल जोड्नेतर्फ लक्षित छ। पछिल्लो समय नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयूबाट प्राप्त हुनसक्ने थप लाभ लिन नसकिएको नेपाल दुरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालको भनाइ छ।

आईटीयूको स्थापना दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो। आईटीयूको स्थापना भने सन् १८६५ मे १७ मा भएको हो। विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा सदस्य राष्ट्रलाई यसले सहयोग गर्दै आएको छ।

मोबाइल प्रयोगकर्ताकै संख्या जनसंख्याभन्दा एक करोड बढी
नेपालको जनसंख्या पौने ३ करोड पुगेको छ तर मोबाइल प्रयोगकर्ताकै संख्या जनसंख्याभन्दा एक करोड बढी अर्थात तीन करोड ९६ लाख ५५ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क छ। २ दशक अघि नेपालमा १५ हजार व्यक्तिमा मात्र टेलिफोनको पहुँच थियो जतिखेर देशको जनसंख्या दुई करोड २७ लाख थियो। दूरसञ्चार सेवा प्रदायकले बिक्री गर्ने सिमकार्ड आधारमा पहुँच निर्धारण गर्ने गरिन्छ।

जनसंख्याको करिब ६० प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचमा छन्। प्राधिकरणकै तथ्याङ्क अनुसार हरेक महिना औसत दुई लाख दूरसञ्चार प्रयोगकर्ता थपिएका छन्। हरेक प्रदेशमा उच्च गतिको इन्टरनेट पुर्‍याउन करिब १० अर्ब रुपियाँ लगानी अप्टिकल फाइबर बिछ्याउने परियोजना अगाडि बढिसकेको छ। प्रदेश १, २ र ३ को जिम्मा पाएको नेपाल टेलिकमले फाइबर बिछ्याउन काम सुरु गरिसकेको छ। त्यस्तै हरेक सामुदायिक विद्यालयमा आईटी ल्याब र इन्टरनेट पहुँच विस्तारको काम पनि सँगै अघि बढेको छ। देशैभर डिजिटल सेवाको पहुँच बढाउन आगामी आर्थिक बर्षदेखि डिजिटल नेपालको प्रारुप अनुसार काम अघि बढाउने तयारी सरकारको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ