arrow

संकलकको बीमा सहित जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन हुँदै

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७६ जेठ ४ शनिबार
school-n-yarsa-sport.JPG.jpeg

दार्चुला । जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट संकलकको बीमा सहित यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्दे्शिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि यो वर्ष परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र लिएर यार्सागुम्बा संकलन गर्न जाने संकलकको यो वर्षबाट पहिलो पटक बीमा गर्न शुरू गरिएको छ।

यो वर्ष यार्सा संकलनको अवधिमा १० जना सर्वसाधारण संकलक, १० जना कर्मचारी र सुरक्षाकर्मीको बीमाको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । बीमा २० लाख बराबरको हुनेछ ।

“एक महिनाको अवधिमा यार्सागुम्बा सङ्कलनको क्रममा कुनै भवितव्य घट्ना भइहाले राहत स्वरुप वीमा कार्यक्रम अघि सारिएको हो”, उनले भने। सङ्कलकलाई जोखिमपूर्ण काम गर्दा हुने क्षति कम गर्न बीमा कार्यक्रम पहिलो पटक लागू गरिएको हो ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, जिल्लाका विभिन्न सेक्टर, रेन्जपोष्ट लगायतबाट परिचयपत्र वितरण शुरु गरिएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत मेहताले जानकारी दिए। निर्दे्शिकाले सङ्कलकका लागि नागरिकता अनिवार्य गरेको छ । सोहि निर्दे्शिकाको आधारमा परिचय पत्र जारी गरिने बताइएको छ । निर्देशिकामा यार्सागुम्बा टिप्न संरक्षित क्षेत्रभित्रका जनतालाई रु ५ सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई रु १ हजार र जिल्ला बाहिरका व्यक्तिलाई रु २ हजार राजस्व तोकिएको छ । 

यार्सागुम्बा अपिहिमाल गाउँपालिकाका लोलु, रोखापु, सतगंगा, कटेली गाड, बयेली, धरमघर, क्षत्तिगाड, चाइमटेला र व्यास गाउँपालिकाका अपि फेद, नाम्पा, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका क्षेत्रमा पाइने गरेको छ। जिल्लामा हरेक वर्ष सातदेखि आठ हजार यार्सागुम्बा संकलनकर्ता आउने गरेका बताइन्छ । वार्षिक झण्डै ६ देखि ८ क्वीन्टल यार्सागुम्बा सङ्कलन हुने गरेको कार्यालयको तथ्याङ्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ