arrow

देशभर अप्टिकल फाइबर बिछ्याइने कार्यको शुभारम्भ : धादिङ्ग, सिन्धुली, धनकुटा र पाँचथरबाट एकैसाथ सुरुवात हुदै

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
nta-hamrakura_com-850X550-pxl.jpg

काठमाडौं। देशभर अप्टिकल फाइबर बिछ्याइने कार्यको शुभारम्भ सोमबारबाट हुदैछ। हरेक जिल्लाका स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ अप्टिकल फाइबर बिछ्याइने कार्यको शुभारम्भ हुन लागेको हो।

नेपाल दुरसञ्चार प्रधिकरणको अनुदान सहयोगमा सञ्चालित परियोजनाबाट नेपाल टेलिकमले जिम्मा पाएको विभिन्न ४ स्थानबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ। २ हजार १ सय ७९ किलोमिटरको अप्टिकल फाइबर बिछयाउने कार्यको सुभारम्भ धादिङको गल्छी गाउँपालिकाबाट हुदैछ। सरकारको डिजिटल नेपाल बनाउने योजनाको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे गर्ने कार्यक्रम छ। 

त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ। टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्‍याउनेछ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्‍याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको हो। सरकारको यो परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो। 

योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो। २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो ।यो सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई बर्र्षिभत्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ। बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन्।

टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य सहरहरूमा नौ महिना भित्रै उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।

अप्टिकल फाइबर नै किन ? 
अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ। फाइबरमा तामाको तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ।

देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको(ब्रोडब्यान्ड) इन्टरनेट स्थानीयतहसम्म उपलब्ध गराउन सकिन्छ। सरकारले अहिले ग्रामीण क्षेत्रमा ५ सय १२ केबीपीएस र शहरी क्षेत्रमा ५ एमबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड इन्टरनेट भनेर परिभाषित गरेको छ। यसरी अप्टिकल मार्फत प्रवाह हुने ब्रोडब्यान्ड इन्टरनेटले डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाह गर्न सहयोग पुग्नेछ। 

सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शीता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ। आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने डिजिटल नेपालको परियोजना अनुसार काम अगाडि बढाउन अप्टिकल फाइबर बिछ्याउने परियोजना अघि बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ