arrow

नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
parliament.png

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।
 
सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरिन्। यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उनले बताइन‍ ।
 
सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गरे। सांसद अनिलकुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारसँग माग गरे । सांसद अमरेशकुमार सिंहले उखु किसानले मूल्य नपाएको उल्लेख गर्दै कसको मिलिभगतमा पीडित भएका हुन् भनी प्रश्न गरे।
 
सांसद आशाकुमारी विकले सुदूरपश्चिमको गौरवको आयोजनाको कार्यप्रगति कछुवा गतिमा भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। सांसद उमेशकुमार श्रेष्ठले शिक्षकको खाली दरबन्दी पूर्ति गर्न माग गरे। सांसद एकवाल मियाँले बारा जिल्लामा हावाहुरीले भत्किएका घर छुटेकाले पुनःसर्वेक्षण गर्न माग गरे। सांसद खगराज अधिकारीले कालिगण्डकी सिँचाइ आयोजना निर्माणमा भएको ढिलाइको जवाफ माग गरे।
 
सांसद गजेन्द्रबहादुर महतले जग्गा अतिक्रमण गर्ने कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको मिलेमतोमा दोषीलाई उम्काउन खोजिएकाले यसतर्फ सरकारलाई सचेत गराए ।

सांसद घनश्याम खतिवडाले वास्तविक किसानलाई अनुदान मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीपछिरिङ लामाले माथिल्लो तामाकोशीको बाँकी सुरुङ मार्ग बनाउन आगामी आर्थिक वर्षमा बजेट छुट्याउन माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ