- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गएको बैशाख २३ मा पक्ष, विपक्ष सबै सरकारको नीति र कार्यक्रममा आफनो धारणा व्यक्त गरिरहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल चाहिँ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद विक्री प्रकरणमा आफुलाई सकेसम्म चोखो देखाउने प्रयासमा नै धेरै समय खर्चिरहेका पाइए । उनले त्यसदिन धेरैपटक दोहोर्याए –दोषी ठहरिए कारबाही भोग्न तयार छु । उनको भनाइ थियो ‘ललिता निवासको सरकारी जग्गा कब्जामा संलग्न दोषीलाई कारबाही होस्, म पनि कारबाही भोग्न तयार छु । दोषी ठहर भए तोकिएको सजाय व्यहोर्न तयार छु ।’
जगजाहेर भएको विषय हो कुनै पनि गैह्रकानुनी काममा दोषी ठहर भए तोकिएको सजाय भोग्नै पर्छ । त्यसमा कसैले पनि तयार छु वा छैन भन्ने आवश्यकता नै पर्दैन । तर महासचिव पौडेलले त्यसदिन कारबाही भोग्न तयार भएको वताएर ठूलो त्याग वा साहस प्रकट गरेको जस्तो देखाए जो वास्तविकता होइन ।
त्यतिबेलासम्म यी महासचिव पौडेलमाथि जग्गाकैबारेमा अर्को विवरण प्रकट भैसको थियो सुकुम्वासी भएर भूमि प्राप्ति गरेको भन्ने । तर त्यसदिन उनले त्यसकाबारे कतै चर्चासमेत गरेनन, जसले यो विषय अहिलेसम्म नाजवाफ वा मौन स्वीकृति लक्षणम्मा पर्यो । जुनबेला उनले सुकुम्वासीका नाममका जग्गा प्राप्त गरे त्यसबेला उनी वास्तविक सुकुम्वासी थिए कि थिएनन् भन्ने अध्ययन हुन बाँकी छ । वास्तविक सुकुम्वासी नै रहेछन भने त्यो हैसियतमा सरकराबाट सहयोग पाए, यतिमै यो कुरा सकिएला । तर यहीबाट फेरी प्रश्न उठछ सरकार सामु आफु सुकुम्वासी भनी निवेदन दिएर प्राप्त भएको त्यो जग्गा के भयो त ? स्मरण रहोस् सुकुम्वासीका हैसियतबाट प्राप्त गरेका जग्गा बेचविखन र नामसारी पनि हुन सक्तैन । अवका दिनमा पौडेलसंग सोधिनुपर्ने प्रश्न यही हुनु पर्छ । यी पंक्ति लेखिएको बेलासम्म पनि उनी त्यो विषयमा मौन नै छन् ।
तर यता उनी आजको मितिसम्म पनि सरकारी अभिलेखमा सुकुम्वासी नै जनाइरहेका छन् । सुकुम्वासी समस्या समाधान आयोग रुपन्देही समितिमा रहेको २०५२ असौज १९ मा दिए –लिएको जग्गाधनी दर्ता प्रमाण श्रेस्ता । यो बीचमा उनी बालुवाटारवासी हुन खोजे त्यहाँ आठ आना घडेरी लिएर जो यतिबेला विवादमा छ । त्यसको स्रोतमा यही जग्गा रहेको अनुमान गर्छन जानकारहरु ।
अर्को, यतिनैबेला उनी काठमाडौं उपत्यकाको धेरै नै आकर्षक मानिने भैसेपार्टी आवासमा निर्मित आलिसान महलका पनि मालिक हुन् । ललितपुरको साविक कार्यविनायक नगरपालिका वडा–२ भैँसेपाटी आवासीय क्षेत्रमा बसोबास छ उनको ।
जानकारका अनुसार बुटवल दीपनगरको जग्गा बेचेर सुरुमा काठमाडौँ कलंकीमा र पछि कलंकीको बेचेर भैँसेपाटीमा घर बनाइएको हो । उनको भैँसेपाटीको घरजग्गाको मोल यतिबेला करिब २० करोड रुपैयाँ पर्ने जानकार बताउँछन् ।
यो र बालुवाटारको आठ आना गर्दा नेकपाका यी महासचिव पौडेल आजका मितिमा करिव ३० करोडका मालिक भए । बालुवाटारको आजको प्रचलित भाउमा आठ आनाको १० करोड सहजै किनबेच हुने मूल्य रहेको वताउछन जमीनको कारोवार गर्नेहरु ।
राजनीति र जग्गाको कारोवार संगसंगै चल्नै न सक्ने व्यवसाय चाहिँ होइनन् । त्यसकारण कसले कसरी आर्जन गरे भन्ने धेरै खोजीनीति भैरहनु पनि आवश्यक नहोला सर्वसाधारणका लागि । उनी जुन दलका महासचिव छन त्यसका कार्यकर्ताले चाहिँ चासो राख्न सक्छन नै ।
जो व्यक्ति यतिठूलो सम्पत्तीका मालिक भए उनले आफुलाई किन सुकुम्वासीको हैसियतबाट हटाउन खोजेनन् भन्ने प्रश्न मात्रै उठाउन खोजिएको हो जसले गम्भीर संकेत गर्छन । यतिखेर नेकपाको सरकार छ । त्यसले विगतको जस्तै सुकुम्वासीका नाममा जग्गा वितरण गर्ने योजना घोषणा नै गरिसकेको छ । त्यस्तो बेला सरकारसंग रहेको यस्तो अभिलेखले उनी ‘अटोमेटिक’ रुपमा फेरी सुकम्वासी भएर जमिन प्राप्त गर्ने सुरमा त छैनन ? आफुलाई दुइतिहाइको भनी चिनाउने सत्तारुढ दलका महासचिव, विगतमा तीनपटक मन्त्री समेत भैसका यस्ता भीआइपीकाबारे यस्तो प्रश्न गर्नुपर्ने अवस्था नै दुःखलाग्दो हुनु पर्छ ।
विभिन्न रिपोर्ट (नेपाल, सोतोपार्टी आदि) मा आएका र सम्वद्ध पक्षले पनि स्वीकारेका विवरणअनुसार पूर्व–पश्चिम राजमार्गबाट करिब १ सय मिटर दूरीमा बुटवल उपमहानगर भित्रको दीपनगर बस्ती जो आफै ०५२ सम्म सुकुमबासी बस्तीका रूपमा चिनिन्थ्यो । बहुदल स्थापनाको आसपासमा हाल नेकपा महासचिव तथा रूपन्देही–२ का सांसद पौडेलले दीपनगरको दर्ताविहीन १८ धुर जग्गामा माटाको टायलले छाएको कच्ची घर बनाई बसोबास सुरु गरेका थिए । यो सुकुम्वासी भन्ने परिचय पाउने कामको प्रारम्भ हुनु पर्छ ।
नेकपा एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा ०५१ मा बनेको सरकारले बनाएको ऋषिराज लुम्साली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोगले यिनै पौडेललाई उनका छोराका नाममा सुकुम्वासी जमिन उपलव्ध गरायो । त्यसबेला सुकुमबासीको पहिचान गरी जग्गा वितरण गर्न देशभर आयोगका जिल्ला समिति विस्तार भए । त्यही मध्ये रूपन्देहीमा भोजप्रसाद श्रेष्ठ (हाल प्रदेश ५ सभासद्) को अध्यक्षतामा आयोग गठन गरियो । श्रेष्ठ नेतृत्वको यो आयोगले पौडेल लगायतले बसोबास गरिरहेको दीपनगरको जग्गाको कित्ताकाट गरी १९ असोज ०५२ मा ‘अव्यवस्थित बसोबासीको प्रयोजनका लागि’ जग्गाधनी प्रमाण श्रेस्ता दियो । कित्ता नम्बर २९ मा १५ धुर र कित्ता नम्बर ६४ मा ३ धुर गरी १८ धुर जग्गापुर्जा पौडेलले एक मात्र छोरा नवीनको नाममा लिए । छोराको नाममा लालपुर्जा लिएपछि पौडेलले त्यहाँ ९–९ पिलरको एकतले पक्की घर बनाएका थिए । माटाको टहरोबाट पक्कीघरमा यसरी रुपान्तरित भयो पौडेल परिवार राज्यको सुकुम्वासी अभिलेखमा चढेर ।
त्यसको नौ वर्षपछि २५ माघ ०६१ मा पौडेल परिवारले उक्त घरजग्गा पवित्रा थापाका नाममा बिक्री गरेको जग्गाधनी श्रेस्ताबाट खुल्छ । जानकारका अनुसार पौडेल परिवारको नाममा रहेको घरजग्गा खरिद गर्ने पवित्राका पति राजकुमार थापा पूर्वएमालेकै कार्यकर्ता हुन् । अहिले उनीहरूले समेत अर्कैलाई बिक्री गरिसकेका छन् । पौडेलले यो जग्गा प्राप्ति गर्दा किनबेच नहुने भनि शर्तनामा गराइएको थियो । तर त्यो शर्त मानिएन् ।
पौडेलको यस्तो सुकुम्वासी यात्रालाई पछ्याउदै अरु विवरणहरु खुल्दै गए जसमा तत्कालिन एमालेका अरु दर्जन भन्दाबढी नेता यो एउटा जिल्लाको र यो एउटा स्थानबाट मात्र सुकुम्वासीको हैसियतबाट जमिन लिएका खुल्दै आयो । पौडेलसँगै एमालेका नेताहरू प्रदीप ज्ञवाली (हाल परराष्ट्रमन्त्री), त्रिलोचन ढकाल (पूर्वमन्त्री), शिव सुवेदी (हाल बुटवल उपमहानगर प्रमुख), देवेन्द्र घिमिरे (एमाले अनुशासन आयोगका पूर्वअध्यक्ष), सिद्धिनाथ ज्ञवाली (दिवंगत), गोपीरमण उपाध्याय लगायतले उनकै जग्गाको सीमा तथा आसपासमा जग्गाधनी प्रमाण श्रेस्ता लिएका पाइयो सुकुम्वासी भएर ।
अरु कतिपय भूतपूर्व भए र विते पनि होलान् । यतिखेर यो समूह मध्ये पौडेल सत्तारुढ दलका महासचिव र ज्ञवाली परराष्ट्रमन्त्री छन् । त्यस कारण पनि अहिलेका भीआइपी सुकुम्वासीमा यिनी दुइजनाको नाम जोडिएर आएको हुनुपर्छ । यता उनीहरु राज्यको जुन पदमा भएपनि उता ‘सुकुम्वासी समस्या समाधान आयोग रुपन्देही’ को अभिलेखमा भने सुकुम्वासीकै हैसियतको परिचय अभिलेखमा कायम नै रहेको अवस्था छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले अघिल्लो जेठ पहिलो हप्ता बुझाएका सम्पत्ति विवरणमा बुटवलमा भएको घर र जग्गा बेचेर काठमाडौंको शंखमुलमा २१ लाखमा किनेको दुइतले घर देखाएका छन जुन श्रीमतीका नाममा रहेको भनिएको छ । त्यसबेलासम्म ज्ञवालीसँग मात्र २ तोला सुन छ । पारिश्रमिक, पुस्तकको रोयल्टी र स्तम्भ लेखनबाट कमाएको २ लाख ५७ हजार ३८३ रूपैयाँ छ भने २५ सय पुस्तकलाई पनि उनले सम्पत्ति मानेका छन् ।
ज्ञवालीको स्थाइ घर गुल्मीको बलेटक्सारमा हो जो रुरु गाउँपालिकामा पर्छ । उनलाई चिन्नेहरु उनको परिवार सामान्य तहको नै वताउँछन । बुटवलमा जमीन किनेर घर बनाएको प्राय धेरैलाई जानकारी छैन । उनी चुनाव पनि आफनै जिल्लाबाट लडेका हुन् । यी सामान्य विवरणले पनि मन्त्री ज्ञवालीले सम्पत्ति विवरणमा खुलाएको बुटवलको घरजग्गा पौडेलसँगै त्यही प्रकृयाबाट प्राप्तगरेको भन्ने रिपोर्टहरु आए । त्यसकारण ज्ञवालीपनि भीआइपी सुकुम्वासी मै परेका मानिएको हुनु पर्छ ।
पौडेल र ज्ञवालीले जुन आयोगबाट जग्गा धनी दर्ता प्रमाणपत्र श्रेस्ता पाए त्यो आयोग यसरी आफुसुकुम्वासी भएको भनी निवेदन दिनासाथ जग्गा उपलव्ध गराउनेमा अहिलेसममकै पहिलो नम्वरमा पर्छ । त्यसकारण पनि होला २०५१ सालमा तत्कालीन नेकपा एमाले सरकारले ऋषिराज लुम्सालीको अध्यक्षतामा गठन गरेको आयोग अहिलेसम्मका १५ वटा आयोगमध्ये धेरै जग्गा वितरण गर्नेमा अगाडी देखियो । उक्त आयोगले प्रकाशन गरेको प्रतिवेदन अनुसार, ५८ हजार ३४० परिवारलाई जग्गा वितरण गरेकोमा २४ हजार ४७० सुकुम्बासी, २४ हजार ५२ अव्यवस्थित बसोबासी, १९५ कमैया, तीन हजार ३०२ बाढीपहिरो पीडित थिए । तीमध्ये ६ हजार ३२१ परिवारको विवरण खुलाइएको छैन ।
तत्कालीन समयमा भूमिसुधार मन्त्रालयमा कार्यरत र हाल सेवा निवृत्त एक सरकारी अधिकारीका भनाइमा ‘विवरण नखुलाइएका ती व्यक्तिहरू पार्टी कार्यकर्ता थिए’ (हिमाल खवर)। नाम जे दिइयोस् उल्लेखित ५८ हजार ३४० परिवार सुकिम्वासीकै हैसियतबाट जग्गा पाएका वा लिएका थिए जो यी भिआइपी पनि त्यही संख्यामा परे भन्नेमा शंका नहोला ।