arrow

विकट व्याँसमा सडक

logo
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७६ जेठ १३ सोमबार
Byas_gaunpalika.png

दार्चुला । सधै ज्यानमारा तुइनको भरमा बाँचेको विकट गाउँ । कहाली लाग्दो जीवन व्यतित यहाँका स्थानिय । बिरामी, गर्भवतीलाई सधै सीमा पारी ज्यानमारा तुइनको डब्बामा हालेर सडकसम्म पुर्याउनुपर्ने बाध्यता । गाँउमा उत्पादन भएका कृषिजन्य वस्तुहरु तथा फलफूल सधै पिड्यूमा बोकेर बिक्रीका लागि उर्लिदो महाकाली माथि तुइन तर्दै सदरमुकाम ल्याउनुपर्ने । 

अनि साझ बिहानको छाक टार्नका लागि बजारबाट सधै चामल बोकेर घरमा पुर्याउनुपर्ने बाध्यता थियो विकट दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने व्याँस गाँउपालिकाका स्थानीयलाई । भौगोलक भू–बनोट, जिल्ला सदरमुकाम बाट निक्कै टाढा, तुइन मार्फत वारीपारी गर्छन भन्ने केन्द्र सरकारलाई पनि कण्ठै थियो । तर अहिलेसम्म ज्यानमारा तुइनको सकस झेलिरहेको यो बाध्यता कुनै नौलो पनि थिएन । 

अहिलेसम्म उक्त गाउमा सडक सञ्जाल नहुदा सधै यही पीडामा जीवन चलाउदै आएका छन् स्थानीयहरुले । मुलुक संघियतामा गइसके पछि स्थानीय सरकार गठन भएसगै पहिलो प्राथमिकता सडक विस्तारले पायो । राष्टि«य आयोजनाको रुपमा स्थापित दार्चुला तिंकर सडक स्थानिय सरकारले संचालन गर्न सक्ने अवस्था थिएन तैपनि यहाँको जनताको माग नै सडक थियो । भौगोलिक विकटता रहेको व्याँसमा सडक पुर्याउन सहज भने थिएन, भौगोलिक विकटता, कडा चट्टानी भुभाग मुख्य बाधक थियो ।


अहिलेसम्म तुइनको डब्बा र ताङ्ला चढेर महाकाली वारपार गरेको अनुभव बाहेक अरु केही थिएन् याहाका स्थानियलाई , गाडिको सिटको त कुरै छोडौ । एउटा त्यही गाउँ हो व्याँस गाउँपालिका । दार्चुलाको अत्यन्तै विकट क्षेत्र व्यास गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् ।

शुक्रबार व्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकीले आफैले जिप चलाएर गाउँपालिकाको केन्द्र सुन्सेरा सम्म पुर्याएपछि स्थानीयवासीले सवारीसाधन र बुढाथोकीलाई फूलमाला र अबीरले सम्मान गरेका थिए ।

महाकाली कोरीडोर अन्तर्गत पर्ने दार्चुला तिंकर सडक व्याँस गाँउपालिको केन्द्र वडा नं। ४ सुन्सेरासम्म ४० किलोमिटर ट्रयाक खुलेसंगै पहिलोपटक जिप र ट्र्याक्टर पुगेका हुन । गत शुक्रबार जिल्ला सदरमुकाम खलंगा बाट व्यास गाउपालिकाको सुन्सेरा ४ घण्टाको यात्रा पश्यात केन्दमै गाडी पुगेको हो । सदरमुकाम बाट दार्चुला तिंकर सडक आयोजनाका निमित्त प्रमुख दिनेश रैखोला, सब इन्जिनियर नबिन जोशी, जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, व्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिह बुढाथोकी, वडा नम्बर २ का अध्यक्ष धिरन बुढाथोकी, ३ का उपेन्द्र धामी, ५ का मंगल धामी गाडि चढेर सुन्सेरा पुगेका हुन् ।

आफ्नै आँखाले मेरो गाउमा गाडी पुगेको देख्दा धेरै खुसी लागेको छ, समय परिर्वतन भएको हो, हामीले जुनी बदलेको जस्तो आभाष भएको छ, गाउँपालिकामा सडक संगै जिप आउँदाखेरी व्यास गाउँपालिका–४ का ८० वर्षिय जैलालसिह विष्टले खुसी हुँदै भने । गाउँपालिकाको केन्द्रसम्म पहिलोपटक जीप पुगेपछि उनि खुसी भएका हुन् ।

‘कठै हाम्रा ती कहाली लाग्दा दिन त तुइन तर्दै दुःखमा बिते, अब छोराबुहारी, नातिहरूलाई राम्रो हुने भयो’ विष्टले भने, आँगनैमा गाडी आउलाजस्तो लागेको थिएन, तर मेरै जुनी हुँदै गाउँमै गाडी देख्न पाएँ ।’ विष्टले भने । ‘यसरी यो भूभाग फोडेर यहासम्म गाडी आउला कल्पनासम्म गरेको थिइन ।’ गाउँपालिकामा सडक आउँदा आफु निकै खुसी भएको ६८ वर्षिय रतना विष्टले बताए । 

सडक सञ्जाल जोडिएपछि गाउँगाउँको आर्थिक, सामाजिक र व्यापारिक सम्बन्ध विस्तार हुने स्थानिय बताउँछन् । दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवतजावत र बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज  हुनेमा स्थानिय आशाबादी छन् । विकासमा विकटता मात्र होइन, स्थानीय कृषि उत्पादनमा सम्भावना बोकेको व्याँस  गाउँपालिकामा सडक पुगेपछि नगदेबाली,आलु खेती,स्याउखेती, ओखर , सुन्तला, तरकारी–फलफूल खेतीबाट मनग्ये आम्दानी भित्र्याउन सकिने सम्भावना छ । 

दार्चुला–तिंकर सडकको १ सय ३० किलोमिटर निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन् । कहिले विष्पोटक त कहिले ठेकेदारको लापरवाहीका कारण सडक ढिलाइ भएको हो । निर्माणाधिन दार्चुला तिंकर सडकमा भने तत्काललाई यातायात संचालनमा ल्याउन सकिने अवस्था छैन् । यस सडकलाई छिटटै तिंकर सम्म जोडन सकियो भने दार्चुला व्यापारीक तथा आर्थिक रुपमा सम्पन्न हुने देखिन्छ ।

विकट र ग्रामीण बस्तीमा सडक पहुच पुगेको छ । व्यास गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भने अब विस्तार र स्तरोन्नति कार्य अघि बढ्नुपर्छ, छिट्टै अब व्यासका जनताको गाडि चढने सपना पुरा होस् उनले भने ।  यसको लागी आफुले विष्फोटक पदार्थ ल्याउन देखी लिएर सडकको ट्रयाक खुलाउनमा निक्कै पहल गरेको बताए । साथै उहाले ट्रयाक खुलाउन पहल गर्ने जिल्लाबाट केन्द्रमा पुगेका सांसद, आयोजनाका प्रमुख तथा स्थानियहरुलाई धन्यबाद समेत दिएका छन् । सबैजसो गाउँमा नयाँ ट्र्याक ओपन गर्ने काम गर्नुपर्ने आफ्नो प्राथमिकता रहने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ