arrow

सट बल फर्काउन नसके पनि कसरी भयो ह्यारीकै जित?

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Lamjung_Harry-Volleyball.jpg.jpeg
विष्णु नेपाल। लमजुङ। छात्र मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन्। सोझै भन्नेहो भने सकेनन्। तर पनि उनकै समुहले खेल जित्यो। मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो। 
 
गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा आज बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल खेलका लागि मैदान उत्रेका थिए। राजकुमारका साथमा सोही विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा टकबहादुर थापा, उमेश गुरुङ, जयप्रसाद गुरुङ, प्रियसी गुरुङ लगायत थिए। 
 
भूपू गोर्खाका क्याप्टेन बालकृष्ण गुरुङले नेतृत्व गर्नुभएको अर्को टोली वेलफेयर स्किममा छात्रछात्रा युवराज गुरुङ, मोती थापा, मनोज गुरुङ, जुन थापा, कल्पना गुरुङले साथ दिएका थिए। 
 
हकी खेलका खेलाडी र भलिबलका सोखिन ३२ वर्षीय ह्यारीको टोलीले स्किमलाई ३५ मिनेटमा २५–१९ ले पराजित गरेको थियो। ह्यारीको खेलाई मध्यमस्तरको भएपनि उनलाई साथ दिने विद्यार्थीहरुको कारण उनको टीमले जीत निकाल्यो।
 
गत वैशाखको भूकम्पले पूर्ण क्षति पुर्‍याएको विद्यालयको अवलोकन र नवनिर्माणबारे जानकारी लिएपछि शारीरिक अभ्यास गर्दै ह्यारी मैदान उत्रेका थिए। ह्यारी मैदान प्रवेश गर्दा विद्यालयका छात्रछात्राले ताली बजाएर स्वागत गरेका थिए। खेलपछि उनले आफ्नो टोलीमा सहभागीसँग तस्बिर खिँचाए। 
 
 

यसअघि ह्यारीले भूकम्पले क्षति पुर्‍याएका कक्षा कोठा र यही चैतमा सुरु हुन लागेको प्रवेशिका परीक्षाको तयारी कक्षामै प्रवेश गरी विद्यार्थीलाई ह्यारीले भने ‘डि स्टडी एन्ड बेस्ट अफ लक। ’लमजुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले राजकुमारबाट भलिबल खेलमा सहभागी भई विद्यार्थीलाई अध्ययनमा थप उत्साह जनाइएको प्रतिक्रिया दिए। 

यसैगरी विद्यालयका प्राचार्य उत्तममान गुरुङले राजकुमारलाई विद्यालयमा स्वागत गर्न पाउनु आफ्ना लागि ऐतिहासिक क्षण भएको बताए। 
 
यसअघि ह्यारी गौंडा गासिसको लुरानीबाट एक घन्टाको पदयात्राबाट ओखरे आइपुगेका थिए। पदयात्राका क्रममा ह्यारीले आफूलाई अनुपम प्राकृतिक सुन्दरताले लोभ्याएकाले आफू नेपाल आएको बताए। सो क्रममा उनले पैदलयात्राबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लमजुङ हिमाल लगायतको अवलोकन गर्नाका साथै ती दृश्य आफ्नो मोबाइलमा कैद गरे।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ