arrow

‘राष्ट्राय स्वाहा, इदं राष्ट्राय, इदं न ममः’

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
hawan.jpg

नेपालगञ्ज । पुरानो डि एस पी रोडस्थित पशुपति शिक्षा मन्दिर, नेपालगञ्जको प्राङ्गण । प्रज्ज्वलित हवन कुण्ड । स्थानीय व्यक्तित्वका साथै देशभरिबाट आएका युवाहरूको उपस्थिति । वैदिक मन्त्रहरूको उच्चारणका साथ कुण्डमा आहुति अर्पण । यो दृश्य कुनै महायज्ञको होइन, तर उपस्थित हवनकर्ता, आयोजकहरू यसलाई ‘महायज्ञ’ नै बताउँछन् ।

वैदिक मन्त्रहरूका साथै ‘राष्ट्राय स्वाहा, इदं राष्ट्राय, इदं न ममः’ उच्चारण गर्दै यहाँ उपस्थित युवाहरूको जमातले आफूलाई समाज र राष्ट्रको सेवारूपी यज्ञकुण्डमा समिधा र आहुतिका रूपमा अर्पित भएको बताउँछन् । हुन पनि नेपालगञ्जमा, जहाँको तापक्रम यस मध्य गर्मीमा ४० डिग्रीको हाराहारी छ, यी युवा आफ्नो घरको सुख शयल छोडेर जुटेका हुन् शिक्षा वर्गका लागि । संघ शिक्षा वर्ग भनिने यसै कार्यक्रमको आरम्भमा अग्नि र ईश्वर, अनि अँ, प्रखर सूर्यलाई साक्षी राख्दै उद्घाटन भएको छ । वर्गको आयोजक हो हिन्दू स्वयंसेवक संघ नेपाल ।

वर्गको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस सत्रका प्रमुख अतिथि संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यले वर्गको उद्देश्यबारे प्रकाश पारेका थिए । उनले भने, ‘देशका विभिन्न ठाउँबाट स्वयंसेवकहरू यहाँ विशिष्ट उद्देश्यका साथ उपस्थित हुनुभएको छ । उद्देश्य हो, राष्ट्र निर्माण, मानव कल्याण जस्ता उदात्त कार्यका लागि योग्य व्यक्ति निर्माण ।’

कलियुगमा संगठन नै सर्वश्रेष्ठ शक्ति भएको बताउँदै उनले विश्व कल्याणको कामना गर्ने हिन्दू संस्कृतिका संवाहक संगठित हुनुपर्नेमा जोड़ दिए । उद्घाटन सत्रमा वर्गाधिकारीका रूपमा डा महन्थ ठाकुर र वर्ग कार्यवाहका रूपमा सोमप्रसाद पाण्डेको नाम घोषणा संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यले गरे । यस्तै, वर्ग सञ्चालन टोलीको घोषणा वर्ग कार्यवाह सोमप्रसाद पाण्डेले गरे ।

संघले प्रत्येक वर्ष जेठ–असारको समयमा युवाहरूका लागि २० दिने वर्गको आयोजना गर्ने गरेको छ । २० दिनको यो आवासीय वर्गमा उपस्थित युवा स्वयंसेवकहरू समाज र राष्ट्रका लागि योग्य कार्यकर्ताका रूपमा विकसित हुन साधना गर्दछन् । 

पूर्णतः अनुशासित वातावरणमा यस वर्गमा शारीरिक, बौद्धिक र मानसिक कार्यक्रमहरूको अभ्यास गराइन्छ । शारिरिक प्रशिक्षण अन्तर्गत योगासन, सूर्यनमस्कार, विभिन्न प्रकारका व्यायाम, नियुद्ध कला आदि रहेका हुन्छन् । आफू स्वस्थ रहेर नै समाजका लागि योग्य सपूत बन्न सकिन्छ भन्ने भाव जागृत हुन्छ । 

बौद्धिक प्रशिक्षणमा गीत, सुभाषित, समाज, राष्ट्र, धर्म, संस्कृति, संस्कार आदि विभिन्न विषयमा प्रवचन(चर्चा इत्यादि हुने गर्दछ । आफ्नो गौरवशाली सांस्कृतिक स्वत्वको बोध नभएसम्म कसैले किन पो केही गरौँ भनेर अघि सरोस् । बौद्धिक सत्रबाट स्वयंसेवकहरूले एउटा गौरवशाली संस्कृतिको घटकका रूपमा आफ्नो परिचय प्राप्त गर्दछन् । कार्यकर्ताको भाव जागृत हुन्छ ।

विविध भौगोलिक, भाषिक, जातीय, सांस्कृतिक पृष्ठभूमिबाट आएका स्वयंसेवकहरू यहाँ कुनै भेदभावबिना संगच्छध्वं संवदध्वुं भन्दै सामूहिकतामा रामाउँछन् । सँगै बसेर भोजन गर्छन् । सँगै मनोरञ्जनात्मक खेलहरू खेल्छन् । विविधतामा एकताको साक्षात्कार गर्दै परस्परमा आत्मीय बन्धुत्वको अनुभूति गर्दछन् । संकीर्णता छुट्छ । यसरी नै ‘वसुधैव कुटुम्बकम्’ को उद्घोषले सार्थकता पाउँछ भन्ने मानसिकताको विकास हुन्छ यस वर्गबाट ।

जेठ १६ मा शुरु भएको संघ शिक्षा वर्ग असार ५ गतेका दिन दीक्षान्तसम्म सञ्चालित रहने छ । वर्गमा ६८ जना शिक्षार्थी रहेका छन् भने प्रशिक्षण र व्यवस्थामा खट्ने ४० कार्यकर्ता गरी एक सय आठ स्वयंसेवकहरूको सहभागिता रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ