arrow

मध्यपुरका मेयर श्रेष्ठका अनियमित कामका फेहरिस्त

उपप्रमुखसहित वडा अध्यक्षद्धारा बिशेष नगर सभाको माग

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
madhan-madhyapur.jpg

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर जुगुल श्रेष्ठले मापदण्ड विपरित मध्यपुर थिमि नपा–३, गठ्ठाघरमा बनेको आफ्नी आमाको नाममा रहेको घर अनियमित ढंगबाट जरिवाना तिरेर नक्सा पास गरेका छन् ।

आमाको नाममा रहेको गठ्ठाघरको घर हालसम्म मापदण्ड विपरित बनेकै कारण नक्सापास हुन सकेको थिएन् । मेयर श्रेष्ठले उक्त घरको १ लाख रुपैयाँ जरिवाना तिरेर पास गराएको स्विकार गरेका छन् । गत मंगलबाट गठ्ठाघरस्थित सामुदायिक भवनको तल्ला थप गर्ने कार्यक्रममा श्रेष्ठले भने, ‘मध्यपुरमा ५–६ वटा त्यस्ता घरको जरिवाना तिरेरै नक्सा पास गरिएको छ तर, केही पत्रपत्रिकामा मेयरको मात्र गल्ती देखाएर समाचारहरु सम्प्रेषण भएका छन् । मैले मेरो आमाको नाममा रहेको घरको जरिवाना तिरेर नक्सा पास गरेको हो, जरिवाना तिरेर नक्सा पास गर्दा पत्रकारहरुको टाउँको किन दुख्नु परेको हो ?’ मेयर श्रेष्ठको यो अभिव्यक्तिले पहुँचका आधारमा नियम विपरित अनियमित कार्य गर्दै जाने र न्युन शुल्क तिरेर उन्मुक्ति पाउने आशय व्यक्त गरेको छ । उनले मेयरको मात्र गल्ती देख्ने पत्रकारहरुले अन्य व्यक्तिले जरिवाना तिरेर नक्सा पास गराएको समाचारलाई पनि खोजी गर्न आग्रह गरे । मध्यपुरमा वडा नं. ३ का वडा अध्यक्ष प्रेम कुटुले पनि १५ हजार जरिवाना तिरेर मापदण्ड विपरित बनेको लोकन्थलीको आफुनो घरको नक्सा पास गरेका छन् ।

मनोमानी गर्दै योजना सञ्चालन गरेका कारण नगर कार्यपालिकाबाट योजना तथा बजेट स्विकृत गराउन नसकेका मेयर श्रेष्ठले ४ वटा सहकारीहरुबाट चर्को व्याज तिरेर नगरपालिकाको नाममा ऋण लिएरै योजनाहरु सञ्चालन गरेको नगरपालिका कार्यपालिका सदस्यले जानकारी दिएका छन् । सहकारीसँग ऋण लिएर नियम विपरित कार्य गर्ने नगर प्रमुखले कार्यपालिकाबाट योजनाहरु स्विकृत गराउने वातावरण बनाउन नसक्दा समस्या उत्पन्न भएको उनीहरुको भनाई छ ।

कार्यपालिकाका एक सदस्यले भने, ‘मेयरले नियम विपरित कार्य गर्दै हिड्ने त्यसको जस कार्यपालिकाले लिनुपर्ने नियम कहिँ नभएकाले नगरपालिकाको नाममा लिएको ऋण कसरी चुक्ता हुँदो रहेछ हामी पनि हेरौला ।’

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बरालले ऋण लिएर सम्पन्न गरेका योजनाहरुको भुक्तानीका लागि आर्थिक शाखामा पठाएपनि रित नपुगेको र नियम विपरित भन्दै आर्थिक शाखाले अहिलेसम्म भुक्तानी रोकेर राखेको छ ।

नगर प्रमुख श्रेष्ठले १६ वटा योजना र बजेट कार्यपालिकाबाट स्विकृत नै नगरी मनोमानी सञ्चालन गरेका छन् । शंखधरचोक पश्चिम ट्रयाकरोडमा रिटेनिङ्ग वाल लगाउन १ करोड ३९ लाख ११ हजार रकमको काम बजेट विनियोजन नै नगरि सञ्चालन गरिराखेका छन् । उनले दुई पोखरीको पुर्ननिर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएकोमा नपुग थप ६३ लाख ८७ हजार रुपैयाँको आफुखुशी काम गराएपछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु रुष्ट बनेका छन् ।

त्यस्तै जनप्रेमी स्कुलदेखी टिवी हस्पिटलसम्म ढल निर्माणको लागि ९३ हजार पनि आफुखुशी खर्च गरेका छन् । मेयर श्रेष्ठले महाकाली–सिद्धिकालीमा ढुंगाको वाल निर्माणका लागि ५० लाख विनियोजन गरेको भएपनि थप नपुग ७० लाख १५ हजार रुपैयाँ कार्यपालिकाबाट स्विकृत नै नगराई खर्च गरेका छन् । शंखधर चोक गुरुयोजनाका लागि बिनियोजन भएको ५० लाख बजेटले नपुगेपछि बाँकी ५५ लाख ४५ हजार रुपैयाँ मनोमानी खर्च गरेका छन् । आदर्श माबि लायकुको मल्लकालिन शैलीमा बिद्यालय निर्माणका लागि ९७ लाख ८४ हजार बजेट विनियोजन नै नगरी योजना सञ्चालन भइरहेको छ । बिष्णुबीर बिस्केट जात्रा मार्गमा पनि ३६ लाख ३५ हजारको योजना पनि बिनियोजन नै नगरी काम सम्पन्न भएको छ । मेयर श्रेष्ठले बजेट बिनियोजन नै नगरी बिष्णुकुण्डल बाटो कालोपत्रे गर्ने काम सम्पन्न गरेका छन् ।

मेयरले भष्टाचार गरेको वडा अध्यक्षहरुको आरोप
नगरसभाबाट पारित नभएका र कार्यपालिकाबाट स्विकृत नभएका करोडौं बजेटका योजनाहरु नगर प्रमुख श्रेष्ठले खर्च गर्नु अनियमितता भएको कार्यपालिका सदस्यहरुको आरोप छ । उनीहरुले यसरी मनोमानी रुपमा खर्च गर्नु भष्टाचार भएको ठहर गरेका छन् । नगरपालिकालाई विधी र कानुन विपरित सञ्चालन गर्ने मेयरमाथि अख्तियारले छानविन गर्नुपर्ने नगरपालिकाका प्रवक्ता एवम् वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता राम थापामगरको भनाई छ । 

मेयरले आफैं गल्ती गर्दै आफैं सञ्चाउने कार्य समेत गर्दै आएका छन् । नगरपालिकाको बजेट लगानी भएको छ । त्यो बजेट कसरी स्विकृत गर्न सकिन्छ र ? प्रवक्ता थापामगरले भने, ‘मध्यपुर थिमि र सुर्यविनायक नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण सम्पन्न हुनै लागेको नयाँ पुलमाथि मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुखले डोजर चलाएर भत्काईदिनुभयो । पछि गल्ती गरेको महशुस भएछ क्यार फेरी गएर आफै बनाइदिनुभयो । यस्मा खर्च भएको बजेट नगरपालिकाले कसरी व्यहोर्न सक्छ ?’ निर्माण व्यवसायीलाई कुनै पत्तो नदिई एकाएक निर्माण कार्य भइरहेको स्थानमा पुगेर गुण्डागर्दी शैलीमा पुलको बन्दै गरेको संरचना भत्काइदिएको भन्दै नगर प्रमुख श्रेष्ठको चर्को आलोचना भएपछि उनले पुनः मध्यपुर थिमीतर्फको पुलको भत्काएको संरचना बनाइदिएका थिए ।

उपप्रमुखसहित वडा अध्यक्षद्धारा बिशेष नगर सभाको माग
नगर प्रमुखको मनोमानीका कारण असन्तुष्ट बनेका नगर उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्यलगायत ३५ जनाले नगरपालिकाको विशेष नगरसभा बोलाउन माग गरेका छन् । उनीहरुले नगर प्रमुखको दुई बर्षे कार्यकाल असफल रहेको र नियम विपरित काम गरिरहेकाले तत्काल विशेष नगर सभा बोलाउन माग गरेका हुन्। नगर प्रमुखले एकलौटी निर्णय गरेर मनोमानी गरेको भन्दै उपप्रमुख, ७ जना वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले नगर प्रमुख श्रेष्ठले बहुमत पक्षलाई बेवास्ता गर्दै योजना, कार्यक्रम र बजेटहरु कार्यपालिकामा छलफल नै नगरी सञ्चालन गर्ने गरेको उनीहरुको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ