arrow

हावाहुरीले आधा घण्टामै तहसनहस पारेको सुदूरपश्चिम

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
haba.jpg

कैलाली । बिहीबार बेलुकी सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको ठूलो हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ ।

८० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । 

मृत्यु हुनेमा वीरबहादुर चौधरी र लाहानु चौधरी हुन् । मोटरसाइकलमा सवार कैलाली गोदावरीका वीरबहादुर चौधरीको हावाहुरीकै कारण टिपरको ठक्करबाट मृत्यु भएको हो।

त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर टिकापुरका लाहानु चौधरीको मृत्यु भएको बताइएको छ।

घाइतेमध्ये धेरैजसोको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया, निसर्ग अस्पताल हसनपुरलगायतमा उपचार भइरहेको छ । गम्भीर भएका दुई जनालाई थप उपचारका लागि भारत पठाइएको र दुई जनालाई कोहलपुर पठाइएको छ । 

बेलुकी ७ः३० देखि आधा घण्टासम्म चलेको हावाहुरीले थुप्रैको क्षति पुर्याएको छ । त्यसको यकिन विवरण आउन समय लाग्ने बताइएको छ । 

सयौं घरका छाना उडाएको छ भने बिजुलीका पोल ढालेको छ । रुखहरु ढल्दा केही सडकसमेत अवरुद्ध छन् । 

पश्चिमी चापिय प्रभावका कारण हावाहुरी आएको मौसमविद् सुवास रिमालले बताएका छन् । 

उनले अब यो क्रम पूर्वतिर सरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ