arrow

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेतृत्व पहिलो पटक अफ्रिकामा

नयाँ नेतृत्वलाई नेपालको पत्रकारिताको अवस्थाबारे जानकारी गराइँदै 

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
ifj.jpg

ट्युनिस । अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको ३० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् । 
    
बिहीबार सम्पन्न निर्वाचनबाट मोरक्कोका पत्रकार युनेश एम जाहेद निर्वाचित भएका हुन् । अफ्रिदी महादेशमै पहिलो पटक भएको यो महासभामा जाहेदले आफ्ना क्यानेडियन प्रतिस्पर्धी मार्टिन ए हालोनलाई ८८ मतको अन्तरले पराजित गरे । 

३ सय १५ मध्ये उनले दुई सय मत ल्याएका हुन् । नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य तथा नेपाल प्रेस युनियनबाट अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी उक्त महासभामा सहभागी भएका छन् । 

महासभाबाट वरिष्ठ उपाध्यक्षमा पेरुकी जुलियाना लाइनेज विजयी भएकी छिन् । उपाध्यक्षद्धयमा भारतीय सबिना इन्द्रजित र रुसी टिमुर शफिर विजयी भएका छन् । बेलायती जिम बौमेल्हा कोषाध्यक्ष भएका छन् । 

जितपछि अध्यक्ष जाहेदले सबै पक्षलाई मिलाएर संस्थाको हकहितका लागि लडिरहने प्रतिवद्धता जनाएका छन् । 

कार्यसमिति सदस्यहरुको नतिजा भने शुक्रबार सार्वजनिक हुने युनियनका महासचिव शिवाकोटीले जनाएका छन् । 

नेपाली टोलीले नेपालबारे अवगत गराउँदै
यसैबीच नेपाली टोलीले नेपालमा भइरहेका विभिन्न पत्रकारिताका कुण्ठित कार्यहरुबारे शुक्रबार नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई भेटेर जानकारी गराउने भएको छ । 

पछिल्लो समय सरकारले मिडिया काउन्सिल विधेयकमार्फत नेपाली प्रेस जगत्लाई नियन्त्रण गर्ने नीति बनाएपछि पत्रकार महासंघ, प्रेस युनियन लगायत आन्दोलनमा छन् । 

त्यसैगरी मिडिया मिसन बोलाउन आग्रह गरिने समेत शिवाकोटीले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ