arrow

राष्ट्रिय उद्देश्य र योजना बिनाको प्रधानमन्त्रीको यूरोप भ्रमण

logo
जगन कार्की,
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
ol-europe.jpg

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली एक हप्ता लगत्तै युरोपको स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स  भ्रमणमा निस्किए  । सत्तारोहणको १५ महिना  भित्र भारत, चीन, अमेरिका, कोस्टारिका, स्विट्जरल्याण्ड, भियतनाम र कम्बोडियाको भ्रमण गरिसकेका ओली फेरि युरोप  निस्केका हुन्  । रोगी शरीर अनि मुलुकको प्रतिकूल  आर्थिक अवस्थालाई बेवास्ता गर्दै विदेश भ्रमण रहरले गरीएको हो या आसेपासे द्वारा ग़लत सल्लाह दिदै नचाहिएको घुमाईएको  हो बुझ्न कठिन छ ।

जनताको आस र भरोसाले प्राप्त ऐतिहासिक बहुमतलाई सेवा र सुविधाको  अवसरको रुपमा लिएर विना उद्देश्य तारन्तार विदेश भ्रमणमा  निस्किनु जनमतको अपमान मात्र हैन, सिटामोल खान नपाएर, सामान्य जीवनजल समेत नपाएर मृत्युको मुखमा पुगीरहेका भोका निमुखा जनताको पेटमा लात हान्नु पनि हो ।

सरकरले लिएको "समृद्ध  नेपाल सुखी नेपाली"  नाराको लागि कुन आर्थिक रणनीति  र के योजना सफल पार्ने कुनै निश्चित  उद्देश्यले  के सम्झौताका लागि अनुरोध गर्न स्विट्जरल्याण्ड  हुँदै २० जनाको टोली बेलायत पुगेको हो ?  एक आम नेपालीले प्रश्न गर्दा उत्तर  "विलासिता र यही हो मौका घुमौ  गति परी हालौं " भन्ने वाहेक केहि देखिन्न ।

सामान्य रुपमा हेरौं : प्रम ओली स्विट्जरल्याण्डको जेनेभा जानुको उद्देश्य अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीको अवसरमा आयोजना हुने कार्यक्रममा दुइ  शब्द बोलेर शान झर्नु बाहेक  स्विट्जरल्याण्डसँग नेपालले द्विपक्षीय छलफल, सहकार्य वा सम्झौता गर्नुपर्ने साइडलाइनका कार्यक्रम पनि थिएनन् । महंगो प्लेन भाडा, जम्बो टोलीको खर्च पिटेर त्यहाँ के पी ओलीले गरेको भाषणले कर्णालीमा खान नपाएका जनताले के पाए ?  गरिव निमुखालाई के उपलब्धि भयो ?एकपटक प्रश्न गरौँ । उत्तर सकारात्मक पाए ठीक भनौं, नत्र कुन मुखले ठीक भन्ने ?

ल नेपालका नेताले विदेश घुम्नु पर्छ, सिक्नु पर्छ भन्ने कुरालाई आत्मसात  गर्ने हो भने बेलायत भ्रमणका कुनै एक कार्यक्रम पनि सिक्ने अवलोकन गर्ने, अन्तरक्रिया गर्ने दृष्टिले राखिएको पाईएन ।

यहाँ प्रवचन दिने, भाषण दिने, दर्शन भेट दिने, सलामी लिने  र राजाकै शैलीमा “मैले बुझें” भनेर ज्ञानेन्द्रकै शैलीमा भन्ने बाहेक खास कार्यक्रम गरेको देखिएन ।

समानता र आत्मसम्मानको लडाई लडीरहेका सोझा गोर्खाहरुलाई विभाजित गरेर सरकारको भजन गाउने र नगाउने  पक्षमा  फुटाउन पनि यो भ्रमण सफल भएको छ । सत्याग्रहले सुरु गरेको शान्तिपूर्ण आन्दोलनलाई अपमानित गर्दै सरकारको हण्डी खाने गेसोका केही नेतालाई समातेर उपलब्धिप्रति स्वागत भन्दै आन्दोलन तुहाउन सरकारनै लागेको अन्दोलित  गोर्खाहरुले आरोप लगाएका थिए । यसलाई मत्थर पार्न प्रम मेसंगको भेटमा कुरा  राखे झै गरि झारो टार्ने काम भएको छ । यसर्थमा कि त्यहाँ सरोकारवाला  पीडित गोर्खाहरुलाई सामेल गरिएन । तिनलाइ छेउमा उभ्याएर वर्दी र तक्मा सहित दुइ  शब्द बोल्न दिइएको भए हो सरकार गम्भीर रहेछ भन्ने देखिन्थ्यो र मागलाई बेलायत सरकारले सुन्ने सम्भावना रहन्थ्यो ।

सरकारका प्रेस सल्लाहकारले दावी गरेको त्रिपक्षीय सन्धि सम्झौता सम्बन्धि वार्ता भएको भन्ने कुरो बेलायती प्रम मेको निवासले जारी  गरेको प्रेस वक्तव्यसंग मेल खाँदैन, बरु  ठाडै अस्वीकार गर्दछ । उल्टो बेलायतको स्वार्थ अनुरुपको मानव अधिकार र वातावरण संबन्धी वार्ता भएको मात्र चर्चा गरिएको छ भने गोर्खा सम्बन्धी मुद्दामा गुणगान गाउने काम मात्र भएको कुरा उल्लेख छ ।

त्यस्तै गैर आवासीय नेपालीको चिन्ताको  विषय दोहोरो नागरिकताको बारेमा गैर आवासीय नेपाली संघका प्रतिनिधिले अनुनय  विनय गर्दा मौन रहनु र अफ्नो मन्तब्य र विचारमा चुँ नबोल्नु उल्टो नेपाल फर्किन सार्वजनिक  आग्रह गर्नुले नागरिकता सम्बन्धि सकारात्मक संदेश  सुन्न चाहेका प्रवासी नेपालीहरु थप खिन्न भए । २-३घण्टा काम, समय र पैसा खर्च गरेर देशका प्रम भेट्न जाँदा फोटो खिच्न, दुइ शब्द प्रश्न उत्तर गर्न नदिएर जनतासंग घुलमेल हुन नदिने प्रपन्च रहेको भन्दै प्रम समर्थित दलका कार्यकर्ताहरु समेत रुस्ट थिए ।

गणतन्त्र नेपालका जबजवाला दलका सर्वहाराका नेता भनिने चप्पल लगाएर आंदोलन गरी बनेका भनिएका प्रधानमन्त्रीलाई  जनतासंग भेटन, हात मिलाउन सामान्य फ़ोटो खिच्न पनि नदिइएका गुनासा सुनिएका छन्   ।यो सामन्ती प्रवृत्ति  राजा महाराजालाई खोपीका देवता बनाउने आसेपासे मानसिकता परिवर्तन नभएको रुपमा बुझन र प्रम स्वयं त्यसको मूकदर्शक भएर गमक्क फूलेर शानपट्टी झारेर बसीरहनुले प्रस्ट पार्दछ ।

यो सामान्य घटना हेर्दा सवारी मोह र राज़श्री शैली निर्माण गर्ने ठूलो  भूमिका पुरातनवादी कर्मचारीतंत्रका मानसिकता त छंदैछ  महान एतिहासिक भनिएको परिवर्तनलाई नेतृत्व गर्ने नया थिति बसाल्नु पर्ने  नेता आफैका  मानसिकता पनि जिम्मेवार  देखिन्छ ।

नेपालका राजालाई स्वागत गर्न रानी स्वयं आउने परम्परा थियो ।  राजा फ्याकेर गणतन्त्र ल्याईयो त्यस देशका हाम्रा  क्रान्तिकारी पार्टीका प्रम त राजपरिवारका  राजकुमार ह्यारीलाई भेट्न दरवारसम्म नै पुगेर आन्दोलन र क्रान्तिको अपमान गरे । अनि राजा फ्यांकेको औचित्य प्रमाणित गर्न सकेनन् भन्ने जनमत पनि रुस्ट देखियो ।

न स्थानीय  विज्ञ समूहलाई लिएर कुनै लगानी र प्रविधि हस्तान्तरणका औपचारिक आधिकारिक वार्ता, खोज र सम्भावनालाई नै मूर्त रुपले उठान गरेको देखियो ।

फ्रान्सको भ्रमणलाई औपचारिक भनिएतापनि दुई मुलुकबीच कुनै महत्वपूर्ण सम्झौता हुने जानकारीमा आएको छैन । बरू प्रमको उपस्थितिका बेला सेक्युरिटी प्रेस र फ्रान्सेली कम्पनीलाई स्याटेलाइट संचालनका लागि अनुमोदन दिन पहल हुने अनुमान गरिएको छ । यो आफैमा कुनै स्वार्थ समूहले निस्चित उद्देश्यका लागी मात्र प्रम संस्था र  व्यक्तिलाई दुरुपयोग गर्न लागीएको भन्ने पनि सुनीन आएको छ ।

देशमा स्थानीय मिडियामा सम्म त उखान टुक्का हावादारी भाषण भए, बीबीसी टिभीमासम्म गएर सगरमाथा, लगानी जस्ता प्रश्नहरुको निम्छरो जवाफ दिएर आफ्नो, सरकार, पार्टी लगायत मुलुककै  बेइजत गरेको आरोप प्रम  र सल्लाहकार भजन मण्डलीले  खेपेका छन् ।

समग्रमा अथाह परिवर्तन , जन आन्दोलन , मधेश आन्दोलन, जनजाती, आदिवासी, अल्पसंख्यकहरुको विद्रोहको जगमा आएको परिवर्तनलाई हाक्न ड्राईभिंग सिटमा बसेका प्रमको निम्छरो भ्रमण शैली र प्रचार प्रशंसा मोहले सिंगो मुलुकका स्थानीय नेता कार्यकर्तामा नकारात्मक असर पर्ने त छंदैछ, भ्रमण टोलीमा एक  जना पनि महिला, आदिवासी, जनजाति, उत्पीडितहरु नपर्नुले ती  समुदायको  पनि चर्को असन्तुस्टी रहेको छ ।

गुठी विधेयक  ल्याएर स्थानीय नेवार समुदायको पहिचान ध्वस्त पार्ने प्रयास, सिनेमाको हस्यौली समीक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु , मिडिया काउन्सिल विधेयकको यत्रो  विरोध हुँदा कानमा तेल हालेर बस्नु , वाइड बडी काण्डका नाइकेलाई अख्तियारले नै संरक्षण दिनु, बालुवाटार बेची खाने आफ्नै नेताको संरक्षण यावत घटनाले नेकपाको साख गिराएको भन्दै नेकपा भित्र नै ओली सरकार यसका छुद्र संचार मन्त्री र उटपटांग, अपरिपक्व र बचकाना सल्लाहमा देश विदेश घुमाएर अन्ठसंठ बोल्न लगाउने सल्लाहकार र आसेपासेहरु नै ओली सरकार पतनको कारक बन्ने विश्लेषकहरुको ठहर छ ।

 (लेखक बेलायतबाट संचालित अंग्रेज़ी अनलाइन साउथ एसिया टायमका सम्पादक हुन् )



नयाँ