सरकारद्वारा संस्कृतिमाथि वि. सं. १४०६ को भन्दापनि भयंकर आक्रमण ! 

सुदर्शन अर्याल, प्रकाशित मिति : २०७६ जेठ ३२ शनिबार
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा गुठी प्राधिकरण सम्बन्धी विधेयकका कारण नेपाली संस्कृतिप्रेमि नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । गुठीको अस्तित्व सिध्याउने गरी गरिएको यो आक्रमणको विरोधमा त अधिकांश नेपालीहरु देखिएका छन् । यद्यपि सडकको भीड भने अहिले संयमित रुपमा अघिबढिरहेको देखिन्छ । 

केही दिन अघि संस्कृतिप्रेमिहरुले काठमाडौंको माईतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेपछि यो मुद्दा झनै चर्काे रुपमा अघि बढेको छ । कुनैपनि देशको अस्तित्व जोडिएको संस्कृतिमाथि प्रहार गर्दा आठौं शताब्दीका चिनियाँ शासक मारिएका थिए । तत्कालीन समुद्रगुप्तकालीन शक्तिशाली साम्राज्यमा समेत सांस्कृतिक मतभेदको सम्भावना देखेर बौद्ध धर्मालम्बीहरुलाई सेना प्रमुख, बैष्णवलाई धर्मगुरु र शैव सम्प्रदायका व्यक्तिलाई मुख्य सल्लाहकार जस्ता विभिन्न पद दिएर सांस्कृतिक सम्मानको बाटो अपनाईएको थियो । नेपाल एकीकरण पछि पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियामा काठमाडौं नजोडिनपनि सक्थ्यो यदि यहाँको संस्कृतिमाथि प्रहार गरेका थिए भने । यसको अर्थ यो हो कि राजनीति भन्दा धेरै माथि हाम्रा संस्कृतिहरु रहेका हुन्छन् । यो ऐतिहासिक घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । 

नेपाली संस्कृतिमाथि पटक पटक आक्रमणको प्रयास नभएको होईन । नेपालमा १६ औं शताब्दीदेखि नै धर्म संस्कृतिमाथि प्रहार गर्नेखालका विभिन्न गतिविधिहरु हुँदै आएका छन् । तर, कुनैपनि शासकले जनताले मान्दै आएको संस्कृतिमाथि प्रहार गर्ने काम गरेको पाईँदैन । जहानीय राणा शासनको समयमा समेत अन्य सबै खाले गतिविधिहरुमा प्रतिबन्ध लगाईँदा पनि धार्मिक गतिविधिमा कुनैपनि बन्देज लगाउने काम गरिएन । उनीहरुले बरु अँग्रेजहरुको प्रभावमा परेर केही पश्चिमा संस्कृति सिके । तर, त्यो संस्कृति जनतामा लाद्ने काम गरेनन् । त्यही कारणले १०४ वर्षसम्म पनि जनताहरुले उनीहरुविरुद्ध क्रुर आन्दोलन गरेनन् । 

अहिले जुन गुठीको प्रस्ताव गरिएको छ । यस विधेयमा केही राम्रा प्रावधानहरु रहेको भएपनि यसमा सरकारको नियत भने ठीक देखिँदैन । हिन्दू र बौद्धमार्गीहरुलाई जवर्जस्ती धर्मपरिवर्तन गराउने धर्मप्रचारकहरुमाथि मौन स्वीकृति दिने र ईशाई धर्मप्रचारको लागि सहयोग पुग्नेखालका गतिविधिहरुमा सहयोग पुग्ने काममा सक्रिय रहेको सरकारले ल्याएको यो व्यवस्थामा दुईवटा मूलभूत शंका रहेको छ । 

पहिलो शंका त गुठीलाई केन्द्रको मातहत ल्याउने र गुठीमा गुठीयारको हक समाप्त भएपछि केन्द्र सरकारले नचाहेको खण्डमा विस्तारै हाम्रा परम्पराहरुलाई दिईने सेवा सुविधा कम गर्दै जाने र केही वर्षमा यसलाई पूर्ण रुपमा बन्द गराउन सहयोग पुग्नेछ । सबै गुठीहरुको कार्यसञ्चालन प्राधिकरणले गर्ने र त्यो केन्द्रमा रहँदा प्राधिकरणका एक अधिकारीलाई हाम्रा प्राचीनकालदेखि चल्दै आएका परम्पराहरु बन्द गराउन चाहेको खण्डमा त्यो सम्भव हुने देखिएको छ । यस्तो गर्दा विदेशी संस्कृतिलाई लाद्न चाहिरहेका प्रचारकहरुलाई हाम्रो धर्म संस्कृति सिध्याउनको लागि केन्द्रबाट नै सम्भव हुने भयो । 

दोस्रो शंका गुठीको नाममा रहेका हजारौं विगाहा जग्गालाई केन्द्र मातहत ल्याउने र भूमाफियाको प्रभावमा परी भाडामा दिने बाहानामा आफ्नै नाममा नामसारी गराउन सहयोग पुग्नेछ । तेस्रो शंका कुनैपनि गुठी स्थापना गर्नको लागि सरकारसँग अनुमति लिनुपर्ने उल्लेख छ । यसले हिन्दू धर्मको विभिन्न संस्कार गर्न पनि सरकारले स्वीकृति नदिएको खण्डमा हाम्रो सदियौंदेखि चल्दै आएको धर्म संस्कृति पनि मान्न नपाउने अवस्था आउँछ । यस्तै यस्ता व्यवस्थाहरुका कारण पनि सरकारको यो विधेयक विरुद्ध ठूलो जनसमुदाय उत्रिएको छ । 

बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादी स्वरुप भन्ने अभिव्यक्ति दिए । यसबाट पनि प्रष्ट भएको छ कि सरकारले संस्कृतिलाई सामन्तवादी सोच मान्दछ र यसलाई समाप्त पार्नको लागि नै यो विधेयक संसदमा दर्ता गरिएको हो । जसरी माओवादी सशस्त्र युद्धको समयमा संस्कृत भाषालाई सामन्तवादी भन्दै आक्रमण गरिएको थियो । यसैगरी अहिले पनि सरकारले संस्कृतिलाई सामन्तवादी स्वरुप मानेर समाप्त पार्ने प्रयास गरेको बुझिएको छ । 

अहिले सरकारले जुन किसिमको आक्रमण गर्ने प्रयास गरेको छ । यो आक्रमण वि. सं. १४०६ मा नेपालमाथि भएको मुसलमानहरुको आक्रमण भन्दा पनि भयंकर डरलाग्दो आक्रमण हो । त्यतिबेलाको आक्रमण केवल देखादेखी मन्दिर माथि भएको थियो । तर, अहिलेको यो आक्रमण संस्कृतिमाथि भएको छ । देखादेखी भएको आक्रमण पुननिर्माण गर्न सकिन्छ । तर, थाहा नहुनेगरी संस्कृतिमाथि भएको प्रहार पुनर्निर्माण गर्नको लागि निकै ठूलो प्रयत्न र लामो समय लाग्दछ । यस्तै किसिमको आक्रमण अहिले सरकारले गरेकोले यो वि. सं. १४०६ मा भएको मुसलमान आक्रमण भन्दापनि भयंकर डरलाग्दा आक्रमण भएको मान्न सकिन्छ । 

के भएको थियो विसं १४०६ मा ?

सूर्यविक्रम ज्ञवालीको पुस्तक नेपाल उपत्यकाको मध्यकालीन इतिहासमा मुसलमानको आक्रमण सम्बन्धी विषय उल्लेख छ । सो पुस्तकमा मुसलमानहरुको भारतमा प्रवेश अष्टम शताब्दिको आरम्भमा भएको भए तापनि यसले भारतीय इतिहासमा उस्तो प्रभाव पार्न नसकेको उल्लेख छ । मुसलमानहरुद्वारा भएको सिन्धको विजय भारतीय इतिहासको केवल एउटा घटना मानिन्छ । महमूद गजनीले एघारौं शताब्दीको आरम्भमा गरेको आक्रमणद्वारा मुसलमान विजयको के परिणाम हुँदोरहेछ भन्नेबारे भारतलाई अनुभव हुन थाल्यो । १३ औं शताब्दीको आरम्भमा त भारतमा मुसलमानहरुको शासन नै स्थापित भयो । यसका अनेक परिणाम देखिन थाले । ती मध्ये एउटा परिणाम के भयो भने उत्तर भारतका फाँटबाट हजारौं हिन्दूहरू धर्म रक्षा गर्ने उद्देश्यले बसाईसरी वर्तमान नेपाल राज्यका विविध भागमा पसे तथा यसले गर्दा नेपालको इतिहासको स्रोतले आफ्नो गति परिवर्तन गयो । 

नेपालको खाल्डो पनि यसको प्रभावदेखि बञ्चित भएन । विहार तथा बंगालबाट नै यहाँ धेरै मान्छे जानु स्वाभाविक थियो । यी ठाउँमा प्रचलित विकृत तान्त्रिक मत पनि तिनीहरुले त्यहाँ लगेका थिए । सिमरौनगढका हरि सिंहदेव आफ्नी इष्टदेवता तुलजालाई लिएर चौधौं शताब्दीको आरम्भमा नेपाल पसेका थिए । मुसलमानहरुले हिमालयमा भएका काश्मीर, काँगडा , कुभाउँ आदि प्राचीन स्थानहरुमाथि आक्रमण गर्न बाँकी न राखेको भए तापनि नेपालको उनीहरुले उस्तो वास्ता राखेनन् । नेपालका उपत्यकाको राज्य एक ता भारतीय राज्यहरुका तुलनामा गरिब थियो । दोस्रो, यहाँ आउने बाटो पनि उति राम्रो थिएन । यही कारणले कुनै ठुलो मुसलमान विजेताले नेपाल माथि आक्रमण गरेन र नेपालको धार्मिक जीवन एक रीतिले पुरानै ढाँचाले तेह्रौं शताब्दीको अन्त्यसम्म चलिरह्यो ।

त्यतिबेला नेपालमा ठूलो आतङ्क सुष्टि गरेको कुरा उनको सो किताबमा उल्लेख छ। नेपालका दृष्टिले यो घटना अत्यन्त ठूलो भए तापनि भारतीय इतिहास लेख्ने क्रममा यस बारेमा उनताकका मुसलमान इतिहासकारहरुले यसलाई इतिहासमा उल्लेख गरेका छैनन् । यो आक्रमण उल्कापात जस्तो मात्र भएको हुनाले केही कालमा नेपालका मानिसको सम्झनाबाट पनि हरायो । उपत्यका बाहिर पहाडका मानिसलाई त आक्रमण भयो कि भएन भन्नेमा समेत सन्देह छ । 

गोपाल वंशावलीबाट उधृत उपर्युक्त अशुद्ध संस्कृत लेखमा लेखिएको विषयलाई योगी नरहरिनाथले नेपालीमा उद्दृत गर्दै लेखेका छन् । “तदतन्तर पूर्वको बाटो गरी सुलतान समसुद्दीनले आएर नेपाल श्रीपशुपतिलाई तीन खण्ड पारे । समस्त नेपाल तीनै शहर भस्मीभूत भयो । जनतामापनि हाहाकार मच्चियो । त्यहीकारण संवत् ४७० मार्गशीर्ष शुदी ९ का दिन भक्तपुरमा महाकष्ट भयो । 

यो आक्रमण हुँदा नेपालमा राजदेवको शासन थियो । सो बेलामा आक्रमणकारीहरुलाई रोक्नको लागि के कस्तो प्रतिकार गरे ? त्यो विषयमा कुनै पनि वंशावलीमा उल्लेख छैन। सो समयमा एक्कासी शत्रु आएर पशुपतिनाथको लिंग तीन टुक्रा पारेको तथा समस्त नेपालमा आगो लगाएको देख्दा प्रजामा हाहाकार मच्चियो। उपयुक्त अवतरणबाट सुलतान शमशुद्दीन नेपालमा स्वयम्भूका शिखरमा गई त्यहाँको मन्दिर पनि भत्काएको तथा आगो लगाएको कुरा उल्लेख छ । यो आक्रमण मंसिर शुक्ल दशमीको दिन बिहीबार भएको थियो ।  
 

नयाँ