arrow

फरक राजनीतिक आस्था भएको भन्दै ट्रोनाडो पीडित घरविहीनको घर बनेन

गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको पुत्ला दहन, निर्माण सूचीमा नपरेको भन्दै झाडु जुलुस 

logo
मुकेश यादव,
प्रकाशित २०७६ असार १ आइतबार
jhadu.jpg

बारा । गत वर्षको चैत १७ गते बेलुकी आएको ट्रोनाडो आँधीबाट पीडित बनेका प्रसौनी गांउपालिकाका पीडितहरूलाई बिजोग भएको छ । 

ट्रोनाडोले घरबारविहीन भएका प्रसौनी गांउपालिका –४ खुटवाजब्दीका ८१ घरपरिवारको सरकारले घर निर्माण गर्ने सुचीमा नपरेपछि उनीहरूलाई बिजोग भएको हो । 

घर निर्माण सुचीमा नपरेपछि शनिबार ट्रोनाडो पीडित महिला र पुरूषहरुले वडा कार्यालयमा तालाबन्दी गरी झाडु जुलुश प्रदर्शन गर्दै प्रसौनी गांउपालिकाका अध्यक्ष भोला गुप्ता र वडा अध्यक्ष आनन्द गुप्ताको पुत्ला दहन गरेका छन् ।

स्थानीय याकुब अंसारीको नेतृत्वमा उनीहरु नारावाजी गर्दै प्रदर्शन गरेका हुन् । फरक राजनीतिक आस्था भएका कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले पिडितहरुको नाम घर निर्माणको सुचीमा ८१ जनाको नाम सिफारिस नगरेको ललिता देवी साहले आरोप लगाईन् । 

स्थानीय भोला साह, मायाशंकर ठाकुर, निरंजन साह , महन्थ ठाकुर, रामबाबु साह लगायत ८१ घर परिवार अझै टेण्ट र भत्केको घरमा नै बस्न बाध्य  छन् ।

शुरुमा सुची तयार गर्दा  एक सय ५७ जनाको नाम पुर्ण घर क्षति भएको सुचीमा उल्लेख भई गृह मन्त्रालयबाट आएकोमा अहिले नेपाली सेनाले घर निर्माणगर्ने बेला ८१ जनाको नाम हटाइएको खुटवाजब्दीका अर्का  पिडित नुरुलहोदाले गुनासो गरे ।

आफुहरु खुल्ला आकाशमुनी खाना बनाउँदा पनि राज्यले देख्न नसकेकोमा आक्रोश व्यक्तगर्दै पिडित ललिता देवी साहले भनिन हुरीले पीडा दियो नै, राज्यले समेत पीडा बुझी दिएन । 

प्रसौनी गाउँपालिकाको नेकपा नेता विनोद जैसवारले राजनीतिक आस्थाको कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले हावाहुरीले घर विहीन बनेका पिडितहरुको घर निर्माणको सुचीमा नाम समावेश नगरिएको आरोप लगाए। 

उनले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बाहेकका पार्टीप्रति आस्था राख्ने पीडितहरुको नाम घर निर्माणको सुचीबाट हटाइएको आरोप लगाए। 

वडाध्यक्ष र गाउँपालिका अध्यक्ष राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका हुन् । वडाध्यक्ष आनन्द गुप्ताले हावाहुरी पिडित केही व्यक्तिको नाम घर निर्माणको सुचीबाट हटाइएको स्वीकार गर्दै त्यसको जिम्मेवार आफू नभएको बताउदै जिल्ला प्रशासन कार्यालयले पिडितहरुको नाम सुचीबाट हटाएको आरोप लगाए। पिडितहरुको घर निर्माण नगरिए आफुहरु थप आन्दोलनगर्ने स्थानीय मोजाहिब अंसारीले चेतावनी समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ