इञ्जिनीयरिङमा छात्राको आकर्षण कम

प्रकाशित मिति : २०७६ असार ५ बिहिबार
फाइल तस्विर

काठमाडौं । अनुपमा शर्मा सिभिल इञ्जिनीयर हुन् । चार वर्षसम्म निजी कम्पनीमा काम गरेपछि उनले अहिले संयुक्तरूपमा कार्यालय खोलेर काम गर्दै आएकी छन् । शर्मा इञ्जिनीयरिङ पढ्दादेखि अहिले कार्यरत क्षेत्रसम्म महिला ज्यादै कम रहेको बताउछिन् । कक्षामा ४० विद्यार्थीमध्ये पाँच–छ मात्रै महिला हुने गरेका र ती पनि आमाबाबुले छोरी इञ्जिनीयरिङबाहेक अरु विषय पढुन् भन्ने दबाब हुँदाहुँदै पनि इञ्जिनीयरिङ पढेकाहरु थिए ।

“मेरा आमाबाबाले विज्ञान सङ्कायमा १२ कक्षा पास गरेपछि एमबिबिएस पढोस् भन्ने चाहनुभएको थियो मैले इञ्जिनीयरिङ पढ्न चाहेको भनेँ”, उनले भनिन्, “इञ्जिनीयरिङमा पनि सकेसम्म बाहिरी काममा जान नपर्ने सङ्काय छान्न उहाँहरुले भन्नुभएको थियो ।”

विभिन्न सामाजिक मान्यताका कारण इञ्जिनीयरिङ विषयमा छात्राको  आकर्षण कम छ । छोरी मान्छे घरबाट टाढा एक्लै बसेर काम गर्न नहुने सामाजिक मान्यता र महिला स्वयंमा पनि एक्लै टाढा जाने इच्छा नहुँदा इञ्जिनीयरिङमा महिलाको सङ्ख्या कम भएको हो । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अहिले जम्मा विद्यार्थीमध्ये दश प्रतिशत मात्रै छात्रा रहेको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवालले बताए।

उनका अनुसार सिभिलबाहेक इलेक्ट्रिकल, इलेक्ट्रोनिक, कम्प्युटर, मेकानिकल, एरोसपेस (अन्तरिक्षयान प्रविधि) र एप्लाइड साइन्स शङ्कायमा महिला कम छन् । यी शङ्कायमा महिलाका लागि आरक्षण सिट पनि छन् । तीबाहेक कमै विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् । उनले भनिन्, “छात्रा कोटाबाट नै १० प्रतिशत विद्यार्थी आउँछन् तर अरु कम मात्रै भर्ना हुन आउँछन् ।”

आर्किअलजी (पुरातत्वशास्त्र) मा भने छात्र जतिकै छात्राको आकर्षण रहेको सहायक क्याम्पस प्रमुख दुवालले बताए । यो विषय अध्ययन गरेपछि रोजगारीका लागि टाढा जानु पर्दैन भन्ने मान्यताका कारण छात्राको आकर्षण रहेको उल्लेख गर्दै उनले भने, “फिल्डमा कम र कोठाभित्रै धेरै काम हुन्छ भन्ने विश्वासका कारणले पनि यसमा आकर्षण रहेको पाइएको हो ।”

अभिभावकमा आफ्ना सन्तान त्यसमा पनि छोराभन्दा छोरी घर छाडेर टाढा नजाओस् भन्ने सोचाइ रहेको जानकारी दिँदै सहायक क्याम्पस प्रमुख दुवालले सिभिललगायत विषय अध्ययन गरेपछि रोजगारीका क्रममा काठमाडौँभन्दा टाढा खास गरेर दुर्गम जिल्लामा जानुपर्छ भन्ने सोचाइ रहेको पाइन्छ । छात्रा आफैँमा पनि सकेसम्म कार्य क्षेत्रमै पुगेर गर्ने कामप्रति रुचि कम रहेको उनले बताए । “उनीहरुमा पनि बन्दै गरेको घर चढ्नुपर्छ, लठ्ठा चढ्नुपर्छ वा उपकरण चलाउनुपर्छ भन्ने चिन्ता हुने गरेको पाइन्छ”, सहायक क्याम्पस प्रमुख दुवालले भने।

क्याम्पसमा अहिले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, कम्प्युटर, मेकानिकल, एरोसपेस (अन्तरिक्षयान प्रविधि) र एप्लाइड साइन्स गरेर छ वटा शङ्काय छन् । क्याम्पसमा स्नातक तहमा ५२८ र स्नात्तकोत्तर तहमा ४०० विद्यार्थीको सिट सङ्ख्या छ ।

स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गराउन लागेको उक्त क्याम्पसले स्नातक तहमा रसायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी शुरु गरेको छ । क्याम्पसको सबैभन्दा बढी सिट सङ्ख्या सिभिल इञ्जिनीयरिङमा छ ।

नयाँ