arrow

मेलम्चीमा खेतीयोग्य जमिन धमाधम घडेरीमा परिणत

logo
आदित्य दाहाल,
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Melamchi-village.jpg.jpeg
मेलम्ची। सिन्धुपाल्चोक जिल्लाका ग्रामीण क्षेत्रमा समेत आवास क्षेत्र बनाउने नाममा प्लटिङ गर्ने क्रम बढेको छ। मेलम्चीलगायतका ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन धमाधम प्लटिङ गरेर बिक्री वितरण गर्ने क्रम बढेको छ। सयौँ मुरी धानलगायतका खाद्यान्न उब्जाउ हुने जमिनलाई सिमेन्टको बार लगाई प्लटिङ गर्न खोजिँदा सहरीकरणका साटो बस्ती नै कुरुप हुन थालेको छ भने उत्पादनसमेत कम हुन थालेको छ।
 
खेतीयोग्य जमिन घडेरीको लगि टुक्राउने, उत्पादन नगर्नेजस्ता क्रियाकलापले दीर्घकालीन खाद्यान्न समस्या निम्त्याउने मेलम्ची नगर विकास समितिका सदस्य प्रकाश दाहाल बताउनुहुन्छ। दाहालले अव्यवस्थित प्लटिङले समस्या बढेको भन्दै सरकारले कडाइ गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो।
 
भू–उपयोग नीतिविपरीत हुने प्लटिङ नियन्त्रणका लागि सरकारले सबै नगरपालिकालाई निर्देशन दिइसकेको छ। विसं २०७१ कात्तिकमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अनुमतिबिना जग्गा प्लटिङ गरेर बिक्री–वितरण गर्न नदिन देशभरका सबै जिविस, नगरपालिका र गाविसलाई निर्देशन दिएको हो। केही नगरपालिकाले प्लटिङलाई कडिकडाउ गरे पनि अन्य निकायले कार्यान्वयन गर्न सकेका छैनन्।
 
मेलम्ची नगरपालिकाका इन्जिनियर राजेशकुमार शर्माले जथाभावी प्लटिङ रोक्ने मापदण्ड केही मात्रामा तयार भइसकेको र केही हुँदै गरेको बताए। प्लटिङका लागि मापदण्ड पूरा गरेकालाई स्वीकृत दिने नभए नदिने नीति नगरपालिकाले लिएको समेत उनले जानकारी दिए। शर्माका अनुसार नालाबाहेक मुख्य सडकबाट प्लटिङका लागि मुख्य बाटो न्यूनतम छ मिटर र शाखा बाटो चार मिटर फराकिलो हुनुपर्छ।
 
बिनामापदण्ड र बिनाअनुमतिका प्लटिङले खानेपानी, विद्युत्, टेलिफोनलगायतका विकासका पूर्वाधार विस्तारमा समस्या हुने हुनाले प्लटिङ गर्दा नगरपालिकासँग अनुमति लिनुपर्ने शर्माको भनाइ छ।
 
अव्यवस्थित प्लटिङले विकासभन्दा विनास बढी भइरहेको मेलम्ची नगरपालिकाका स्थानीय इन्द्रप्रसाद दाहाल बताउदछन्। मेलम्ची नगरभित्रका मेलम्ची बजार क्षेत्र, ग्रामीण तथा नयाँ सहरी क्षेत्रमा बढेको प्लटिङले कालान्तरमा खाद्य सङ्कट निम्त्याउने दाहालको बुझाइ छ। रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ