कांग्रेस सच्चिने कि सिद्धिने ?

विजय सन्तोषी राई, प्रकाशित मिति : २०७६ असार ९ सोमबार

नेपाली कांग्रेस पार्टी फैलिएर मैलाउनुका सट्टा पार्टी भित्र गुटउपगुट मैलाउदै झागिदै गएको छ । नेताहरु चाहिँ बलियो बन्दै जानु पार्टी चाहिँ साँघुरिँदै र दुब्लाउँदै जानु सबैभन्दा  बिडम्बना भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली कांग्रेस इतिहासको अहिलेसम्मकै अत्यन्तै कमजोर अबस्थामा पुगेको छ । 

यतिबेला कांग्रेसले आफूलाई उचित ढंगले व्यवस्थापन गरी सम्हाल्न सकेन भने स्वयम् कांग्रेस र राष्ट्रको लागि अपुरणीय क्षति हुने खतरा बढेको छ । कांग्रेस अहिलेको अबस्थामा आईपुग्ने मुख्य कारण स्थायी रुपमा गुट उपगुटले संस्थागत रुप धारण  गरी क्रियाशील भैरहनु नै हो । गुटउपगुट दह्रो हुनु पार्टी चाहिँ दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अबस्थामा पुगको कांग्रेसलाई अब मार्ने कि बचाउने नेताहरुको हातमा छ । त्यसमा पनि बढी तेन्नेरी युवा नेताहरुमा छ ।

जबसम्म कांग्रेसमा स्थायी रुपमा रहको गुटउपगुटलाई ध्वस्त बनाइँदैन तबसम्म कांग्रेस कमजोर मात्र होईन गुटउपगुटले गर्दा सिद्धिन सक्छ । कांग्रेसलाई दह्रो बनाउन पहिलो चरणको जागरण अभियानले केही भूमिका निर्वाह गरेको छ । अब कांग्रेसका तिनै तहका पुस्ताका नेताहरु मिलेर पार्टी भित्र शल्यक्रिया गरेर कांग्रेसभित्र रहेको ठूलो रोग गुटउपगुटलाई सदाका लागि कांग्रेसले सम्पन्न गरेको पहिलो चरणको जनजागरण अभियानले पत्ता लगाएकोले अब हुने दोस्रो र तेस्रो चरणको जनजागरण अभियान मार्फत फाल्नु पर्छ । सिद्धिदै साँघुरिँदै मर्दै गएको पार्टीलाई जिवन्तता प्रदान गर्नका लागि सवै कांग्रेसजनले अब हुने दोस्रो र तेस्रो चरणको जनजागरण अभियानलाई महत्वपूर्ण अवसरको रुपमा दिनु पर्छ । यसले मात्र कांग्रेसको जागरण अभियानको औचित्य र सार्थकता हुने र पूर्णता पाउँछ ।   

गुटउपुगटको स्वार्थका कारण कांग्रेसले आफुलाई रुपान्तरण गर्न र गति दिन नसको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकता समेत कायम गर्न नसक्दा सडकदखि सदनसम्म कांग्रेस इतिहासमा नै कमजोर भएको देखिन्छ ।

पार्टीका नेताहरुमा व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नहुनु, नीति र नियम परिवर्तन भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार परिवर्तन भए पनि सस्कार र संस्कृति परिवर्तन नहुनु नै कांग्रेस भित्रको अर्को मुल समस्या हो । नेपाली कांग्रेसले बैशाख तेस्रो साता देखि प्रारम्भ गर्न लागेको जागरण अभियानले पार्टीमा र नेताहरुमा देखिएका सवै समस्याहरु समाधान हुने आशा कांग्रेसजनमा पलाएको छ ।

नेपाली कांग्रेस अब सच्चिने कि सिद्धिने भन्ने कांग्रेसका प्रमुख नेताहरु र युवा नेताहरुको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ । अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले कांग्रेस कमजोर भएका कारणहरुलाई विष्लेषण गरेर बीपीको जस्तो विचार र दूरदर्शिता, सुर्वण शमशेरको जस्तो मन, गणेशमानको जस्तो त्याग र सर्मपण, किसुनजीको जस्तो सादगी र निस्वार्थीपन र गिरिजाबाबुको जस्तो क्रान्तिकारीपन व्यवहारमा उतार्दै सवैभन्दा पहिला म बदलिन्छु, हामी बदलिन्छौं र कांग्रेसलाई बदल्छौं भन्ने नयाँ सोच चिन्तन र विचारका साथ काम गर्दै अगाडि बढ्नु पर्छ ।

नेपाली जनताको लागि नेपाली आमाको छोरा जननायक बीपी कोइरालाको सक्रियतामा बि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरी २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण गरी नेपाली कांग्रेस नामाकरण गरी सशस्त्र आन्दोलन गरी २००७ सालमा प्रजातन्त्रको स्थापना गर्न सफल भएको कांग्रेसको गौरवपूर्ण इतिहास रहेको छ ।

नेपाली जनताको माया एवं विश्वासले वि.सं. २०१५ सालमा भएको प्रथम आमनिर्वाचनमा दुई तिहाई भन्दा बढी संख्यामा विजय प्राप्त गरको नेपाली कांग्रेस जनहितका लागि काम गर्दा गर्दै २०१७ मा प्रजातन्त्रलाई तत्कालिन राजा महेन्द्रले अपहरित गरी पछि २०४६ सालसम्म प्रतिवन्धित रुपमानै पञ्चायती व्यवस्था विरुद्ध निरन्तर संघर्ष गरिरह्यो । 

नेपाली कांग्रेसकै नेतृत्वमा वि.सं. २०४६ सालमा भएको जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना गर्न सफल भएपश्चात् नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको सरकारले वि.सं. २०४७ सालको नयाँ संविधान घोषणा गरी २०४८ सालमा आमनिर्वाचन गरी कांग्रेसले पूर्ण बहुमत ल्याएको स्वर्णिम इतिहास कांग्रेसको छ । २०४७ सालको संविधान अनुरुप नै तीनवटा संसदीय आम निर्वाचिन दुई वटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्रको सुदृढ गर्दै रहेकोमा २०६१ सालमा तत्कालिन राजाको प्रतिगामी कदमबाट प्रजातन्त्र पुनः अपहरित भएपछि नेपाली कांग्रेसको आव्हानमा नेपाली कांग्रेसका तत्कालिन सभापति कान्तिकारी नेता गिरिजाप्रसाद कोइरालाको नेतृतवमा २०६२–०६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनद्धारा संसद पुनःस्थापना भएको र शान्ति प्रक्रिया र नेपालको अन्तरिम संविधान २०६३  घोषणा गरी नेता कोइरालाकै नेतृत्वमा सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रुपमा जनतामा सथापित पनि भएको कान्तिकारी इतिहास पनि कांग्रेस पार्टीले बनाएको थियो । 

पहिले संविधान सभाको निर्वाचन मार्फत ठूला भएका राजनैतिक दल तत्कालिन माओवादी पहिलो र तेस्रो दल तत्कालिन नेकपा एमालेको नेतृत्वमा पटक पटक सरकार गठन भएता पनि संविधान निर्माण गर्न पूर्ण रुपमा असफल भएकाले अन्ततः संविधान सभा नै उनीहरुले नै विघटन गरी पुनः २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल भयो र नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोईरालाको नेतृत्वमा सरकार गठन  भयो उनकै नेतृत्वमा २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि परम्परागत रुपमा वंशले शासन गर्दै आएको राजतन्त्रात्मक व्यवस्था पनि संवैधानिक रुपमा नै समाप्त  गरेको नेपाली कांग्रेको युगान्तकारी इतिहास पनि छ ।

 संविधानकै कार्यान्वयन स्वरुप नेपाली कांग्रेसकै नेतेत्वमा पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा २०७४ सालमा  संघीयप्रतिनिसभा, प्रदेश सभा र स्थानीय तहको पनि निर्वाचन सफलता पूर्वक र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेको सफल इतिहास पनि कांग्रेससंग छ ।  
 
 राणाले र राजाले मास्न नसकेको कांग्रेस र माओवादीले घाटी रेट्दा पनि नसिध्यिएका कांग्रेस एक पटक निर्वाचन हार्दैमा सिद्धियो भन्नु मुर्खतामात्र हो । कांग्रेसलाई मुलुकै सवैभन्दा ठूलो शक्तिशाली र जनताको प्रिय पार्टी बनाउन  कांग्रेसभित्र तिव्र रुपमा मौलाउँदै सस्थागत रुपमा रहेको  स्थायी गुटउपगुटलाई अन्त्य गर्न १४ औं महाधिवेशनमा गुटउपगुटरहित सर्वसम्मत् नेतृत्व केन्द्रदेखि प्रदेश स्थानीय तह, र वडा तहसम्म  चयन गर्नुपर्छ । 

त्यसका लागि पहिलो विकल्प कांग्रेसभित्र रहेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौलाको पहिलो पुस्ता अनि बीचको पुस्ता डा शशांक कोइराला लगायतका पुस्ता र तेस्रो तन्नेरी पुस्ता धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरेको तिनै पुस्तालाई मिलाएर पदाधिकारीमा बाँडफाँड गरी महत्वपूर्ण जिम्मेवारीहरु प्रदान गर्नु पर्छ । 

दोस्रो विकल्प दोस्रो र तेस्रो तन्नेरी पुस्तालाई नेतृत्व गर्न दिएर अहिलेको पहिलो पुस्ता पार्टी र देशका लागि अभिभावक भएर प्रधानमन्त्री होइन राष्ट्रपति हुने सपना देख्नुपर्छ  ।  

अन्तिम विकल्प अहिलेको तेन्नेरी पुस्ता जो पार्टीमा तेस्रो पुस्ताको रुपमा चर्चित छन् उनीहरुलाई पार्टीको नेतृत्व सर्वसम्वत रुपमा केन्द्रदेखि वडा तहसम्म सुम्पिने अनि केन्द्रदेखि स्थानीय तह सम्मको सरकारको समेत नेतृत्व एक पटकका लागि दिने घोषणा गर्ने र पहिलो तथा दोस्रो   पुस्ताका नेताहरु अभिभावक भएर अभिभावकत्व ग्रहण गर्ने र उनीहरुलाई आगामी राष्ट्रपतिको रुपमा घोषणा गरी नयाँ ढंगबाट पार्टी संगठनमा सशक्त र सक्रिय पूर्वक लाग्नु पर्छ ।

कांग्रेसले यस्तो महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्ने साहस गरेमा राजनीति भन्दा बाहिर रहेको ठूलो पंक्ति कांग्रेसतर्फ आकर्षित हुने र कांग्रेस बाहेक अन्य पार्टीहरुलाई मतदान गरिरहेका मतदाताहरुले पनि विकल्प सोच्न वाध्य हुने अनि पहिलो पटक मतदान गर्न लागेका तेन्नेरी मतदाताहरुले पनि तन्नेरीहरुले नेतृत्व गरेरको पार्टीलाई देशको पनि नेतृत्व दिनका लागि मतदान गर्न उत्साहित हुने छन् । 

गौरवपूर्ण इतिहास भएको कांग्रेसको सफल वर्तमान बन्छ र भविष्य पनि सुनिश्चित हुने भएकोले कांग्रेसका यी विकल्पहरुबाट कांग्रेस सिद्धिने होइन सच्चिन सक्छ । जागरण अभियान मार्फत यी विकल्पहरुको बारेमा पनि व्यापक छलफल गरी १४ औं महाधिवेशनमा ती विकल्पमध्ये उचित विकल्पलाई प्रयोग गर्न समेत मेचीदेखि महाकालीसम्मका र हिमाल, पहाड, मधेस र तराई सम्मका कांग्रेसजनलाई तयार बनाउनु पर्छ । 

महासागर भएको कांग्रेस नदी हुँदै खोला हुन लागेकोले अब कांग्रेसलाई खोलाबाट महासागर  बनाउन सबै कांग्रेसीहरु एकजुट भएर लागौं । यसका लागि नयाँ परिवेशमा पार्टीको संघीय विधान पारितसंगै राष्ट्र, राष्टियता, लोकतन्त्र, समाजवादको सन्दर्भमा समेत २१ औं शताब्दी अनुसारको नयाँ युगका लागि  पुनःव्याख्याका साथ पुनर्लेखन  गर्नुपर्छ ।

आर्थिक सामाजिक र छिमेकी मित्रदेशहरुको सम्बन्धको बारेमा लगायत पार्टीको सबै विषयमा सैद्धान्तिक तथा वैचारिक दस्तावेज अहिलेको युग र पुस्तालाई सुहाउँदो  पुनर्लेखन गरी नयाँ ढंगबाट पार्टीलाई पुनःसंगठित गरी आगामी निर्वाचनमा देशकै पहिलो, ठूलो र शक्तिशाली जनताको प्रिय आधुनिक कांग्रेस पार्टी बनाउन सकिन्छ ।

नेपाली कांग्रेसलाई अगाडि बढाउन र सशक्त बनाउन अब तन्नेरीहरुको मेहनत र पसिना, पाका तथा अभिभावकहरुको अनुभव तथा सल्लाह र आर्शीवादबाट मात्र संभव हुन्छ । युवा तन्नेरी, मध्यम र पाका अभिभावकहरु गरी तिनै पुस्तालाई मिलाएर र आदिवासी जनजाति महिला दलित अपांगता भएकाहरुलाई पनि पार्टी नेतृत्वमा समायोजन गरी पार्टीका पदाधिकारी तहसम्म निर्णायक ढंगबाट सहभागी गराई पार्टीलाई पुरै रुपान्तरण गर्नुपर्छ । अहिले राजावादीदेखि कम्युनिष्टहरुसम्म कांग्रेसले हिँडेको बीपीले तय गरेको लोकतान्त्रिक बाटो ठीक छ भनी निर्विकल्प रुपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अन्त्य भै लोकतान्त्रिक वाटो ठीक छ भनी निर्विकल्प रुपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अन्त्य भै संविधानको कार्यान्वयनका साथ नयाँ राजनैतिक युगको आरम्भसंगै आर्थिक कान्तिको शुभारम्भ भएको छ ।

    विशेषगरी युवा नेताहरुले पनि पार्टी नेतृत्वलाई खवरदारी गरी गलत निर्णयहरुलाई सुधार्न लगाउनु भन्दा पनि त्रय नेताहरुकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरुमा विभाजित भै नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नु पर्यो । 

त्यसले गर्दा  युवा नेताहरुले पनि  हारको  दोष र जिम्मेवारी दिँदै  अब पार्टीलाई पहिलो बनाउन युवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनुपर्छ । त्यसैले युग परिवर्तनसंँगै अब नेपाली कांग्रेसका नेताहरुले सबैभन्दा पहिले आफु सच्चिएर कांग्रेसलाई सच्याउन सकल्पका साथ नयाँ नीति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनःव्याख्या गर्दै संगठनको पुनःनिर्माण गरी २१ औं शताब्दीको भारी बोक्न सक्ने आधुनिक कांग्रेसको निर्माण गर्नु पहिलो कर्तव्य हो । 

पहिलो चरणको जनजारण अभियानबाट पत्तो लागेको कांग्रेसको रोग गुटपउगुटलाई  कांग्रेसले दोस्रो र तेस्रो चरणको अब हुने जनजागरण अभियान मार्फत जरैदेखि फालेर कांग्रेसीहरुले  कांग्रेसलाई नबदल्ने हो भने कांग्रेस प्रजापरिषद र गोर्खा परिषद जस्तै इतिहासिमा मात्र सीमित हुनसक्छ । त्यसैले नेतृत्वमा रहेका सबै नेताहरु र तन्नेरी युवा नेताहरुले समेत बेलैमा यसतर्फ   अभिलम्ब ध्यान पुर्याउनु पर्छ ।

 पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला र युवा तथा तन्नेरी नेताहरुले अब हुने दोस्रो र तेस्रो चरणको जनजागरण अभियान मार्फत माथिका तीन विकल्पहरु मध्ये कुनै एक विकल्प प्रयोग गरेर अगाडि बढी कांग्रेस बाँच्न सक्छ । नत्र कांग्रेसलाई यही यथास्थितिमा राखिराख्ने हो भने कांग्रेस सशक्त हुनुको सट्टा आफै समाप्त भएर जान सक्छ । अब कांग्रेसलाई मार्ने कि बचाउने र कांग्रेस सच्चिने कि सिद्धिने भन्ने पहिलो पुस्ता र युवा तन्नेरी पुस्ताको हातमा छ । (लेखक धनकुटा कांग्रेसका जिल्ला सचिव तथा शहीद स्मृति प्रतिष्ठानका महासचिव तथा  नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन्)

 

नयाँ