त्रिविको लापार्वाही : १८ गतेदेखि परीक्षा शुरु हुने एलएलबीको प्रवेश पत्र अझै तयार भएन

प्रकाशित मिति : २०७६ असार ११ बुधबार
तस्बिर : फाइल

काठमाडौं। त्रिभुवन विश्वविद्याल, परीक्षा निन्त्रण कार्यालयको अल्छिपना र लापार्वाहीका कारण, यही असार १८ देखि शुरु हुने एलएलबी पहिलो वर्षको प्रवेशपत्र पाउने नपाउनेमा १२ हजार विद्यार्थी अन्यौलमा परेका छन्।

यसअघि परीक्षा नियन्त्रण कार्यालय बल्खुले नेपाल ल क्याम्पसलाई १० गते मंगलबार नै परीक्षार्थीको प्रवेश पत्र लिन डाकेको थियो। तर, प्रवेशपत्र लिन डाकेको भाखा फेर्दै कार्यालयले १५ गते मात्रै तयार हुन सक्ने बताएपछि, ल क्याम्पस प्रशासन अन्यौलमा परेको छ।

यो शैक्षिक सत्रदेखि कानुनको स्नातक तह सेमेष्टर प्रणालीमा जाने भएपछि, १२ हजार बढीले भर्ना गरेका छन्। ती सबै परीक्षार्थीले फारम भरेको दुई महिना नाघिसकेको छ। तर परीक्षा नियन्त्रण कार्यालयले परीक्षा शुरु हुने एक हप्ताअघि समेत प्रवेशपत्र दिन नसकेपछि, ल क्याम्पस प्रशासन के गर्ने कसो गर्नेमा अन्यौलमा परेको छ। प्रवेश पत्र नपाएपछि, परीक्षार्थी सशंकित छन्। परीक्षा केन्द्रको टुंगो छैन। 

नेपाल ल क्याम्पस प्रशासनकि एकजना कर्मचारीका अनुसार १० गते नै प्रवेशपत्र दिने सूचना पठाएको कार्यालयले, एकाएक १५ गते भनेपछि, त्यही दिन प्रवेशपत्र पाएपनि, हजारौं परीक्षार्थीलाई कसरी बाँड्ने भन्नेमा अन्यौल बढेको बताइन्। उनले भनिन्, ‘यदि परीक्षा नियन्त्रण कार्यालयले १५ गते नै १२ हजार बढी प्रवेशपत्र दियो भने पनि, २ दिन बाँडिसक्नका लागि हामीले रातदिन खटिनुपर्ने स्थिति बन्नेछ’।उनले थपिन्,

‘यदि कुनै परीक्षार्थीको कारणबस प्रवेशपत्र आएन भने, विद्यार्थी कतिबेला बल्खु जाने, कति बेला प्रवेशपत्र लिएर आउने र परीक्षा दिने ? हामीले विद्यार्थीलाई १० गते नै डाकेका थियौं। त्रिविको लापार्वाहीले हामीले समेत विद्यार्थीको गाली खानु परिरहेको छ’। 

यही विषयमा जिज्ञासा राख्दा परीक्षा उपनियन्त्रक पशुपति अधिकारीले भने, ‘हामी परीक्षा फारामको डाटा इन्ट्रीको काम गरिरहेका छौं, प्रवेशपत्र तयार पार्ने काम चलिरहेको छ, रोल नम्बर हाल्ने काम भइरहेको छ’। कहिले वितरण गर्ने त ? उनले भने, हामीले होइन ल क्याम्पसले वितरण गर्ने हो।

क्याम्पसले वितरण गर्न पनि त तपाईंहरुले दिनु पर्छ होला नि ? उनले एक छिन है भन्दै परीक्षा नियन्त्रकलाई सोधे। परीक्षा निन्त्रकले भने आइतबारसम्म हुन्छ भन्दिनु न। उनले पनि त्यही जवाफ सुनाए। साथै उनले, ल क्याम्पसलाई प्रवेशपत्र उपलब्ध गराउन कुनै डिले नभएको पनि सगर्व सुनाए। 

नयाँ