एजेन्सी । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा भएको पाकिस्तानविरुद्धको खेलमा अष्ट्रेलियाले २१ रनको रोमान्चक जित निकालेको हो । पूर्वविजेता पाकिस्तान हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । यो जितसंगै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना जिवित राखेको छ । यद्यपि, दावेदार भारतसंगको कडा प्रतिस्पर्धाले अन्तिम चारको यात्रा तय गर्ने छ ।
समूह दूईमा रहेका दुवैको समान ४–४ अंक छ । रनरेटका आधारमा पाकिस्तान समूहको अंक लालिकामा दोस्रो स्थानमा रहँदा भारत तेस्रो स्थानमा छ । तीन खेल लगातार जितेको न्यूजिल्याण्ड यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ । न्यूजिल्याण्डले सुपर टेनको पहिलो खेलमा भारत र दोस्रो खेलमा अष्ट्रेलियालाई नै हराएको थियो । तेस्रो खेलमा भने पाकिस्तान २२ रनले स्तब्ध भएको थियो । अष्ट्रेलियासंगको खेलमा पाकिस्तानले एक रन मात्रै सुधार गर्न सक्यो ।
अष्ट्रेलियाले दिएको एक सय ९४ रनको चुनौती पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७२ रनमात्रै बनाउन सक्यो । पाकिस्तानका लागि सोइब मल्लिकले २० बलमा अविजित ४० रन बनाए । यस्तै, खालिद लतिफले ४१ बल खर्चेर ४६ रनको योगदान गरे । उमर अकमलले ३२ रन नाउँदा ओपनर शरजील खानले ३० रन बनाए । बलिङतर्फ पाकिस्तानका जेम्स फल्कनर एक्लैले ५ विकेट चट्काए ।
टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ४ विकेट गुमाएर एक सउ ९३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान स्टेभेन स्मिथले ४३ बलमा अविजित ६१ रन बनाए । शेन वाट्सनले अविजित ४४ रनको योगदान गरे । स्मिथ र वाट्सनको ७४ रनको साझेदारी नै अष्ट्रेलियालाई जिताउन मत्वपूर्ण सावित भयो । बलिङतर्फ पाकिस्तानका इमाद वासिम र वहाब रियाजले समान २–२ विकेट लिए । अष्ट्रेलियालाई जिताउन कप्तान स्टेभेन स्मिथसंग महत्वपूर्ण साझेदारी गरेका शेन वाट्सनले यो टि–२० विश्वकपपछी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा यसअघिनै गरी सकेका छन् ।