arrow

दरवारको सारा सम्पतीले पनि किन भरिएन साधुको भिक्षापात्र ?

धन- दौलत र भोगको मोहलाई त्यागेर आत्मात्थानको मार्ग अप्नाउदा नै आत्मकल्याण

logo
अध्यात्म,
प्रकाशित २०७६ असार १५ आइतबार
king2.jpg

काठमाडौं । साधु घुम्दैफिर्दै एक राजाको दरबारमा पुगे । राजाले साधुको यथोचित सम्मान गरे अनि दरबारमा आउनुको प्रयोजन सोधे ।

साधुले भने, 'राजन, मैले सुने अनुसार तपाई ठूलो दानी प्रजापाल हुनुहुन्छ । आफ्ना दरबारमा आएका भिक्षुलाई सन्तुष्ट बनाएर पठाउनुहुन्छ । मेरो पनि एउटा भिक्षा पात्र छ यसलाई भरिदिनुहोस् । यो भिक्षा पात्र लिएर म अनेकौं राजाहरुकोमा गए तर मेरो यो सानो भिक्षा पात्रलाई कसैले भर्न सकेनन् । धेरै आशा लिएर तपाईकोमा आएको छु ।'

साधुको कुरा सुनेर राजाले तत्काल आदेश दिए साधुको पात्रलाई बहुमुल्य बस्तुले भरिदिनु ।

तब साधुले भने, 'हे राजन ! यो भिक्षा पात्रलाई सामान्य भिक्षा पात्र नसम्झनुहोस। यसलाई अन्नले त भर्न सकेन भने स्वर्ण मुद्राले कसरी भरिएला।'

राजाले भने, 'हे साधु यो दरबारलाई गरिब नसोच्नुहोस। तपाईको पात्रलाई बहुमुल्य हिरा जवाहरातले भरिदिनेछु ।'  

राजाले मन्त्रीलाई आदेश दिए साधुको पात्रलाई बहुमुल्य हिरा जवारात स्वर्ण मुद्राले भरिदिनु । आज्ञा अनुसार मन्त्रीले बहुमुल्य हिरा जवाहरातले साधुको पात्रलाई भर्न थाले। जब मन्त्रीले भिक्षा पात्रमा बहुमुल्य बस्तु हाले तब ति बस्तु गायब हुन थाल्यो।

जति स्वर्ण मुद्रा हालेपनि पात्र रित्तोको रित्तै रहेको देखेर राजा र मन्त्री छक्क परे। राजाले पनि साधुको पात्रलाई भरिदिने दृढ निश्चय गरेर मन्त्रीलाई दरबारका सारा मुद्राहरु साधुको भिक्षा पात्रमा हालिदिने आदेश गरे ।

जब मध्यान्हसम्म पनि भिक्षा पात्र भरिएन तब राजाको मनमा संकोच र अनुहारमा चिटचिट पसिना आउन थाल्यो । साझसम्ममा त राजाको आखा आश्चर्यले खुल्लाको खुल्लै रह्यो। दरबारका सारा बहुमुल्य हिरा जवाहरात स्वर्ण मुद्रा सबै सकिए तर भिक्षा पात्र खालिनै रह्यो ।

राजा सिंहासनबाट उठेर साधुको चरणमा झुके र विनम्रतापूर्ण भन्न थाले, 'साधु महाराज ! यो पात्र के हो जुन जति हाले पनि भरिदैन मलाई यसको रहस्य बताउनुहोस यो पात्र कुनै जादुको चिज जस्तो लाग्छ ?'

तब साधुले भने, 'हे राजन ! म एक समय मसानघाटको बाटो भएर भिक्षा माग्न निस्किएको थिए । मसँग कुनै पात्र थिएन त्यसैले मसानघाटमा रहेको मनुष्यको खोपडीलाई पात्र बनाए । त्यसपछि म जहाँ जहाँ भिक्षा माग्न जान्छु र भिक्षा पाउछु त्यहाँ सबै गायब हुदै जान्‍छ । जुन कहिल्यै भरिदैन । जसरी संसारका सारा धन दौलत र भोगहरु पाएर पनि मनुष्यको इच्छा कहिल्यै पुरा हुदैन त्यस्तै यो भिक्षा पात्र पनि भरिदैन ।'

'हे राजन ! हामी पनि ठिक यसै भिक्षा पात्र जस्तै छौं । चाहे हामी जति पनि किन नकमाउ हामी कहिले पनि तृप्त हुदैनौ किनभने हामी मनको सहारा बाचिरहेका छौ । अत: धन- दौलत र भोगहरुको मोहलाई त्यागेर ईश्वरोन्मुख भइ आत्मात्थानको मार्ग अप्नाउदा नै मनुष्यको आत्म कल्याण हुनेछ ।' त्यो सुनेर राजनले साधुको चरण स्पर्श गरे । साधु आफ्नो भिक्षा पात्रलाई लिएर दरबारबाट बाहिरिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ