- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जयरा वसीमले अचानक बलिउडको संसार छाड्ने निर्णय लिएसँगै सबै अचम्ममा परेका छन् । बलिउडमा उनका धेरै प्रशंसकले उनलाई सहानुभूति देखाउँदै यो उनको व्यक्तिगत फैसला रहेको भन्दै यसको सम्मान गरिनुपर्ने बताएका छन् ।
तर, स्रोतले दिएको जानकारीअनुसार जायराको यो फैसलाप्रति आमिर खान भने बेखुश देखिएका छन् । उनी अहिले जायरालाई सम्झाउने प्रयासमा छन् । स्रोतका अनुसार जायराले यो निर्णय आवेशमा आएर गरेकी हुन् । उनमा अझै परिपक्वता नआएको कारण उनलाई बाटो देखाउने कोही छैन । दंगलको शुटिङको क्रममा पनि जायराले धेरै समस्याको सामना गर्नुपरेको थियो । त्यतिबेला उनको ट्रोल पनि बनाइएको थियो । तर, आमिरले उनलाई साथ दिएका थिए ।
यस्तोमा आमिर फेरि पनि जायरालाई सम्झाउने प्रयासमा छन् । पछि पछुतो हुने गरी कुनै निर्णय नगर्नका लागि उनले सुझाव दिएका छन् । अब जायराले आफ्नो निर्णय फिर्ता लिन्छिन् कि लिन्नन् भन्ने कुरा निकै महत्वपूर्ण हुनेछ । यसैबीच जायराको सामाजिक सञ्जाल ट्वीटरको आईडी ह्याक भएको समाचार पनि आएको थियो । यसको जवाफ दिँदै उनले यसबाट आफ्नो आईडी ह्याक नभएको स्पष्ट पार्न चाहेको पनि उनले बताइन् । यो आईडी आफूले आफैं ह्याण्डल गर्दै आएको उनको भनाइ छ ।
यसैबीच जायराले आफ्नो आगामी फिल्म ‘द स्काई इज पिंक’का निर्मातासँग पनि आफूलाई फिल्म प्रमोशनको हिस्सा नबनाउन आग्रह गरेकी छिन् । यो फिल्ममा जायराका साथै फरहान अख्तर र प्रियंका चोपडाजस्ता ठूलो अनुहार पनि देखिने छ । यो फिल्म ११ अक्टोबरमा रिलिज हुनेछ ।