arrow

जलविद्युतमा लगानी आकर्षित हुँदै

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Lallo-Modikhola-Hydropower.jpg.jpeg
काठमाडौँ। नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले रु दुई अर्बको सेयर निष्काशन गरेर जलविद्युत् क्षेत्रमा आकर्षित गरिएको लगानी पछिल्लो दिनमा क्रमशः बढ्दै गएको छ । निर्माणमा क्रममा रहेका र निर्माण तयारीमा रहेका जलविद्युत् आयोजनाले पनि स्थानीयवासीलाई सहभागी गराउँदै अगाडि बढाउने तयारी गरेपछि आकर्षण एकाएक बढेको हो । जलविद्युत् कम्पनीले रु दुई अर्बको सेयर आह्वान गर्दा रु ४३ अर्ब बराबरको आवेदन परेको थियो । नागरिक लगानीका लागि तयार छन् र उनीहरु उचित लगानीकर्ताको प्रतीक्षामा छन् भन्ने पनि जलविद्युत् कम्पनीको सेयरले स्थापित गरेको थियो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्स्चेन्जमा आठ जलविद्युत् कम्पनीको सेयर सूचीकृत भएको छ । 
 
रसुवाको चिलिमे जलविद्युत् आयोजनाले स्थापित मूल्य र मान्यताले नागरिकलाई जलविद्युत् क्षेत्रप्रति आकर्षित गरेको छ । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चयकोषका बचतकर्तालाई सेयर सदस्य बनाइसकेको छ । बुटवल पावर कम्पनी, नेसनल हाइड्रो जस्ता नाम चलेका जलविद्युत् कम्पनीले पनि नागरिकलाई सहभागी गराएर विभिन्न जलविद्युत् आयोजना अगाडि बढाइरहेका छन् । 
 
सरकारले पछिल्लो दिनमा लिएको जलविद्युत्मैत्री नीति एवम् लगानीमैत्री वातावरणका कारण पनि नागरिकको चासो जलविद्युत् क्षेत्रमा बढ्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष शैलेन्द्र गुरागाईँ बताउछन् । “नेपालीसँग पैसा छ, उनीहरु लगानीका लागि तयार छन् भन्ने बजारमा स्थापित भएको छ, अब मात्रै आकर्षक परियोजना चयन गरेर युद्धस्तरमा निर्माणमा जानुपर्छ, सबैले त्यसका लागि प्रयत्न गर्नुपर्छ”–गुरागाईँले भने । 
 
गुरागाईँ नै अध्यक्ष रहेको ङयादी समूहले यसै महिनाको तेस्रो साता नौ लाख ७३ हजार कित्ता सेयर सर्वसाधरणका लागि जारी गर्न लागेको छ । करिब रु तीन अर्ब बराबरको आवेदन पर्ने सो समूहले विश्वास लिएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीले यसै महिनाको अन्त्यसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयरको प्रमाणपत्र वितरण गर्ने भएको छ । कम्पनीले गत कात्तिक १२ देखि २९ गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित दरको करिब रु दुई अर्बको सेयर नागरिकलाई प्रदान गर्ने प्रयोजनका साथ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा तीन लाख बढीले लगानी गरेका थिए । 
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार नागरिकमा लगानीको क्षमता छ भन्ने कुरा आफ्नो कम्पनीको सेयरमा देखिएको उत्साहले पनि स्पष्ट भएको छ । कम्पनीले ५०० कित्तासम्म आवेदन गर्नेलाई ५६ कित्ता सेयर दिएको छ । 
 
यस्तै यही चैत ५ गते जलविद्युत् लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच काबेली जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा वित्तीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । लामो समयदेखि अड्कँदै आएको सो सम्झौताले पनि जलविद्युत् क्षेत्रमा उत्साहको सञ्चार गरेको छ । काबेली इनर्जीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैंकले रु चार अर्ब लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल सरकार र बैंकबीच २०७१ साल मङ्सिर ८ गते नै हस्ताक्षर भइसकेको छ । सरकारले उक्त बैंकसँग रकम लिएर काबेली इनर्जीलाई प्रदान गर्ने प्रावधान बमोजिम वित्तीय सम्झौता भएको हो । 
 
इपानका पूर्व अध्यक्षसमेत रहनुभएका सुवर्णदास श्रेष्ठको कम्पनी सानिमा माई हाइड्रो पावरले राष्ट्रिय प्रसारणमा यसै वर्ष मात्रै २९ मेगावाट विद्युत् जोड्न सफल भएको छ । यस्तै पूर्व लमजुङको छ्याङ्दी खोलामा निर्मित छ्याङ्दी खोला जलविद्युत् आयोजनाले पनि दुई मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ । 
 
सरकारले सहजीकरण मात्रै गरिदिने हो भने नेपालीको लगानीमा नै मझौला तथा ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ भन्ने स्थापित भएको श्रेष्ठको भनाइ छ । गत वैशाख १२ गतेको भूकम्प र भारतको अघोषित नाकाबन्दीले केही अवरोध गरे पनि जलविद्युत् क्षेत्रमा क्रमशः लगानीको वातावरण बन्दै गएको छ । 
 
नेपाल राष्ट्र बैंकले कुल पूँजीको न्यूनतम १२ प्रतिशत जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेका कारण पनि ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था पनि त्यसतर्फ आकर्षित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ