arrow

धनगढी टि-२० क्रिकेट लिग: सुपर ओभरमा चौराहा विजयी

जितसँगै टिम चौराहाले नगद रु तीन लाख पुरस्कारसहित ट्रफी उचालेको छ

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Cricket.jpg.jpeg
धनगढी। यहाँ सम्पन्न ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३’ प्रतियोगिताको च्याम्पियन चौराहा बनेको छ । निर्धारित २० ओभरको खेलमा टिम चौराहा र सिवाइसी अत्तरियाले समान १४६ रन बनाएपछि धकेलिएको सुपर ओभरको खेलमा टिम चौराहा विजयी बन्दै च्याम्पियन बनेको हो । सुपर ओभरको खेलमा स्टार खेलाडी भुवन कार्कीको चौकाको सहयोगमा टिम चौराहालाई विजयी बनाएको हो । 
 
जितसँगै टिम चौराहाले नगद रु तीन लाख पुरस्कारसहित ट्रफी उचालेको छ । उपविजेता अत्तरियाले नगद रु एक लाख ५० हजार पुरस्कार पाएको छ ।
 
सुपर ओभरको खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाका विनोद भण्डारीलाई टिम चौराहाका तीव्र गतिका बलर योगेन्द्रसिंह कार्कीले पहिलो बलमै क्लिन बोल्ड गर्नुभयो । विनोद आउट भएपछि महबुब आलमलाई साथ दिन आउनुभएका प्रेम तामाङ पनि पाँचौँ बलमा रन आउट भएपछि अत्तरियाले तीन रन मात्रै बनाउन सक्यो । 
 
चार रनको विजयी लक्ष्य पाएको टिम चौराहाका लागि भुवन कार्कीले दोस्रो बलमा नै आफ्नो टिमलाई जित दिलाउन सफल हुनुभयो । महबुब आलमले फालेको पहिलो बल डट खेल्नुभएका कार्कीले दोस्रो बलमा चौका प्रहार गरेपछि जित सहज बनेको हो । 
 
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले निर्धारित २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । दीपेन्द्र थापाले ३७, योगेन्द्रसिंह कार्कीले २६ र विपिन रावलले २०, कप्तान सोनु तामाङले १० र सन्दीप जोराले ११ रनको योगदान गर्नुभयो । अरु ब्याट्सम्यानले दोहोर अङ्कको रन बनाउन सकेनन् । 
 
बलिङ गर्दै अत्तरियाका लागि सुरेन्द्र चन्दले २० रन खर्चेर सर्वाधिक चार विकेट लिए । प्रेम तामाङले दुई, कप्तान महबुब आलम र ज्ञानेन्द्र कुँवरले समान एक÷एक विकेट हात पारे । 
 
एक सय ४७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको अत्तरियाले निर्धारित ओभर खेल्दै नौ विकेटको क्षतिमा १४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । १० ओभरसम्म निकै उत्कृष्ट खेल प्रदर्शन गरेको अत्तरियाले १४ ओभरपछि लगातार विकेट गुमाउँदै गएको थियो । 
 
अत्तरियाका लागि प्रारम्भिक ब्याट्सम्यान प्रेम तामाङले अर्धशतक पूरा गर्नुभयो । उहाँले ५४ बलको सामना गर्दै ६३ रन बनाउनुभयो । महबुब आलमले १३ बलमा ३३ रन र नरेश बोहराले नटआउट १७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन । 
 
टिम चौराहाका लागि अमन पन्थी र भुवन कार्कीले समान दुई÷दुई विकेट हात पार्नुभयो । प्रतियोगितामा अर्धशतक बनाउनुभएका सिवाइसी अत्तरियाका प्रेम तामाङ ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत हुनुभयो । प्रतियोगितामा रोयल क्याम्पस रोडका सन्तोष भट्ट ‘म्यान अफ द सिरिज’ घोषित भई नगद रु ५० हजार पुरस्कार हात पार्नुभयो । 
 
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा गत फागुन २२ गतेबाट सुरु भएको प्रतियोगितमा पाँच टिमको सहभागिता रहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ