arrow

पार्टीभित्र यस्तो छ ईश्वर पोखरेलको दावी 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
Ishwor-Pokharel.jpg.jpeg

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी एकीकरण भएको १४ महिनापछि एकीकरणका सबै काम सक्ने सहमति भएको छ । 

यो सहमतिले शीर्ष नेताहरु नै विभिन्न विभाग र संगठनको प्रमुख बन्ने दौडमा लागिरहेका छन् । सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतम लगभग पक्का भएको स्रोत बताउँछ । 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टकराव रहँदा रहँदै गौतमलाई प्रचण्डले साथ दिएका छन् । पार्टी एकता गर्नका लागि पनि गौतमले प्रचण्डसंग लामो समयसम्म सहयात्रा गरेका थिए । गौतम ओलीप्रति असन्तुष्ट छन् । 

एमालेमा रहँदा कुनै समय गौतमले नै बोकेका कारण ओली पार्टी अध्यक्ष भएका थिए । तर कालान्तरमा ओलीले गौतमलाई धोका दिँदै आएपछि उनले पनि विकल्प खोल्दै आएका छन् । 

ओली सरकारको आलोचना चर्को हुँदा पनि निर्धक्कसाथ निडर भएर काँध थापिरहेका ईश्वर पोखरेलले पनि संगठन विभाग प्रमुखकै दावी गरिरहेका छन् । तर गौतमसंग टक्कर लिन नसक्ने अवस्थामा उनले स्कुल विभागको प्रमुखमा दावी गरिरहेको बुझिएको छ ।  

ईश्वर पोखरेलको यो दावीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आँखा लगाएको पाइएको छ । तर श्रेष्ठलाई पोखरेलले साइड लगाउने पनि स्रोत बताउँछ । 

नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्व एमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति जुटेको थियो । 

संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमति भएको छ । ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहने सहमति अध्यक्ष द्धयबीच भएको छ ।

सहमतिअनुसार जिल्ला इन्चार्ज पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ लिन भागबण्डा भएको छ ।

नेकपाको यही साउन ५ गते आइतबार बस्ने बैठकले संगठन विभागको प्रमुखहरु र ७७ वटा जिल्लाको इन्चार्ज र सह–इन्चार्जको नामावली घोषणा गर्नेछ ।

नौ सदस्यीय केन्द्रीय सचिवालयमा दुई अध्यक्षबाहेक सातजना ‘हेभिवेट’ नेता छन् । ओली र प्रचण्डपछि मर्यादाक्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छन् । 

त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन् । सात नेतालाई विदेश विभाग, संगठन विभाग, पार्टी स्कुल विभाग, प्रादेशिक मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला तथा सुशासन विभाग मध्येबाट जिम्मेवारी तोक्ने तयारी छ । 

सबै हेभिवेटबाट बाजी कसले मार्ला भन्ने चासो त छँदैछ तर ईश्वर पोखरेलले पनि राम्रो विभाग लिने दावी रहँदै आएको छ ।

नेकपासंग पार्टी एकता नभएको भए एमालेका अध्यक्ष बन्ने हैसियतमा रहेका पोखरेल पार्टी एकताले भने सचिवालय सदस्यमा समेटिएका छन् । 

ओलीको यदि अझै पनि शक्ति छ भने उनले पहिलो विकल्पमा ईश्वर पोखरेललाई नै राख्नेमा कुनै आशंका नरहेको स्रोत बताउँछ ।

सरकारमा उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका पोखरेल प्रधानमन्त्री ओली बाहिर जानासाथ कार्यबाहक खाइरहेका हुन्छन् । 

ओलीका उत्तराधिकारी मानिएका ईश्वर पोखरेलले त्यो गरिमालाई जोगाइराख्न पनि राम्रो पद पाउने विश्वास गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ