arrow

के शीतल निवासमा वादशाह नीरोको अवतरण भएको हो ?

logo
केदार सुवेदी,
प्रकाशित २०७६ साउन ७ मंगलबार
rastapati-kalakar.jpg

देशमा करिव १५० जनाको ज्यान गएको, हजारौंको सख्याका मान्छे विस्थापित भएका अवस्था उत्पन्न भएको प्रकोप चलिरहँदा कै एकदिन (२७ असार) राष्ट्रपति निवासमा जस्तो विशिष्ट कलाकारबाट नाचगान र भव्य प्रकारको रात्री भोज सम्पन्न भयो त्यसले नै यो आलेखको शीर्षकमा उल्लेख भए जस्तो यस्तो प्रश्न खडा गरेको हो । त्यो नाचगान पछि राष्ट्रपतिका हातबाट वितरण भएको अवार्डलाई कतिपयले  ‘वक्सिस’ भन्ने संज्ञा दिए । त्यसदिन राष्ट्रपतिबाट आफनो निवासमा देशकै ख्यातिप्राप्त कलाकारबाट नाचगान अवलोकन र श्रवण, पुरष्कार  वितरण, भव्यरुपको रात्रीभोजमा सरिक आदिभयो । स्वाभाविक छ यो काम राष्ट्रपतिको अनुमति नभै सम्भव थिएन ।  

यस्तै यस्तै घटनाले होला यतिबेला शीतल निवासमा अवतरण हुनलागेको हो भनी सोध्न थालिएको नीरो इतिहासको त्यस्तो पात्र हो जो नागरिकका जीवन आपत विपतमा पर्दा उ खुशी हुन्थ्यो को तुलनात्मक चर्चा हुन थालेको । रोम शहरमा आगो लागेर जनतामा हाहाकार मच्चिँदा बादशाह नीरो आफ्नो दरबारको बार्दलीमा बसेर मजाले बाँसुरी बजाइ रहेको भन्ने घटना यो पात्र संग जोडिएर आउछ अन्यत्र कतै यस्तो भएको पाइयो भने त्यसको विम्व प्रस्तुत  हुँदा । यता रोम जलिनै रह्यो र उता नीरो बाँसुरी बजाइ नै रह्यो । संसार भरीनै आपतविपतको यस्तो बेला कुनै शासकले यस्तो मनोरञ्जनमा रमाउँछन भने त्यसको उदाहरण दिन यो घटना वा कथा प्रयोगमा आयो भने भन्न पर्ने हुन्छ –यहाँ पनि त्यस्तै भैरहेछ  । उच्चपदस्थहरुको सत्ता उन्माद र हदैसम्मको सम्वेदनहीनताको बिम्ब वताउन रोमन बादशाह नीरोलाई प्रस्तुत गरेपछि अरु उदाहरण खोज्नै पर्दैन, यसले आफै सबैकुरा वताउँछ वा बुझाउँछ । 

यसरी आए समाचार

वितेको हप्ताको एक दिन उता देशमा पहाडमा पहिरो र तराइमा  डुवान कायम रहेको, त्यसले धमाधम मान्छे निलिरहेको र यता राष्ट्रपतिको निवास  शीतलनिवासमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा नाचगान चलिरहेका शब्ददृश्यहरु एकैचोटी प्रकट भए, त्यसले नै यो निवासमा नीरोको अवतरणको चर्चा गराएको हो ।  तत्सम्वन्धी समाचारका अंश यस्ता थिए –

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण शुक्रबार बिहानैबाट जनधनको क्षतिका समाचारहरु अनलाइन, रेडियो तथा टेलिभिजनहरुमा आउन थालेका थिए । अपरान्हसम्म देशभर करिब १७ जनाको ज्यान गइसकेको थियो । त्यति नै संख्यामा बाढी र पहिरोमा परी बेपत्ता भएको तथा घाइते भएको खबरहरु आइरहेका थिए ।

झरी एकतमासले दर्किरहेका बेला महाराजगन्जस्थित शीतल निवास (राष्ट्रपतिको सरकारी निवास) मा भने छुट्टै तामझाम थियो । राष्ट्रिय चलचित्र अवार्ड बाँड्ने कार्यक्रम थियो । चलचित्रकर्मीहरुको भीड थियो । राष्ट्रपति प्रमुख अतिथि थिइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा पनि उपस्थित थिए ।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरु समेटेर तयार पारिएको नृत्य प्रस्तुत गरियो । प्रस्तुतिमा विगतदेखि वर्तमानसम्मका कलाकारहरु संलग्न थिए । अभिनेता तथा अभिनेत्रीहरु सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दीलिप रायामाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत नृत्यमा सहभागी थिए ।

कार्यक्रम भव्य देखिन्थ्यो । अवार्ड जित्ने चलचित्रकर्मीको मुहारमा खुसीको आभा देखिने नै भयो । अवार्ड जित्ने चलचित्रसँग जोडिएका व्यक्तिको मुहारमा पनि चमक नै थियो । तीन वर्षदेखि थाँती रहेको कार्यक्रम भव्य र सभ्य बनाउन लागिपरेका कलाकारको मुहारमा भने चमक हैन, चिन्ताका रेखाहरु प्रवाहित भइरहेका थिए । तर, पनि उनीहरु स्टेजमा गए । आफ्नो प्रस्तुति दिए । आफ्नो प्रस्तुति दिएपछि नायक सरोज खनाललाई भनियो– रात्रिभोज छ, सरिक भएर जानुहोला । तर, भोज नखाई उनलाई ‘घाँटीघाँटी’ भइसकेको थियो । उनी धन्यवाद ! भन्दै औपचारिकताको एक शब्द खर्चिएर घरतर्फ लागे ।

राजाले पनि नगरेको काम

यता यो कार्यक्रम चलिरहँदा उता एक कलाकार नायिका करिष्मा मानन्धरको फेसबुक स्टाटसमा यस्ता शव्द प्रकट भए –‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस, तपाईं हाम्रो आमा हो । हामी तपाईंको लागि ज्यान दिन्छौं ।’

यो भनाइको अर्थ स्पष्ट छ –सामान्य अवस्थामा पनि सत्तासिनहरुले घरमा कलाकारलाई बोलाएर नाच्न लगाउने काम त राजाले पनि गर्न छाडेका थिए, उनीहरु यस्तो नाच हेर्न मन लागे नाचघरमै जान्थे । हो, राणाकालमा चाहिँ यस्तो हुन्थ्यो होला ।  जानकारहरु अनुसार राणाकालमा शासकहरुले आफ्नै दरबारमा नर्तकी राखेर मनोरञ्जनका लागि नृत्यको रसास्वादन लिन्थे । तर, राणा शासन अन्त्य भएर नेपालको राजकाज शाह वंशमा आएपछि पछिल्ला दशकमा राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा राजपरिवार सवार हुन थाल्यो । नायिका करिष्माको भनाइले पनि यस्तै भन्छ । त्यसदिन  राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपतिले नाचगानका लागि बोलाउनु वा अनुमतिदिनु र चलचित्रकर्मी गएर राष्ट्रपति समक्ष नृत्य प्रस्तुत गर्नु–गराउनुले यतिबेलाको शीतलनिवास खासगरी यस्ता सान–सौगातका लागि राणाशासनको पुनरावृत्ति तर्फ लागेको देखाउँछ । यी नायिकाले त यो कुरा मुखैले भनिन् नै ।

अर्को, सामान्य अवस्थामा पनि (तिहारको विशेष परिस्थिति बाहेक) निवासमा नाचगान टोली बोलाउनु, २–४ घण्टा नचाएर अवार्डका नाममा बक्सिस दिनु र भोज खुवाएर पठाउनु यतिखेरको जमाना सुहाउँदो कुरा मानिएन । त्यसकारण यहाँ राणासंग तुलना भयो राष्ट्रपति निवासको यो काम तर देशको वस्तु स्थितिले त त्यसदिनको यो काम राणा सम्ममा पनि सीमित रहेन । सात समुद्रपारीको पात्र रोमन सम्राट निरोसंग तुलना भयो । निरोको शासनमा रोम शहर जलेको थियो तर उसले बासुरी बजाएर नागरिकमा आइपरेको त्यो विपतबाट आनन्दनलिन खोज्यो ।

आगो र पानी उस्तै

मान्छेका लागि आगो र पानी उस्तै हो । एउटाले डढाउछ अर्कोले बगाउछ । १८ सय वर्ष अघिको त्यो रोम शहरमा आगो लागेको थियो । नेपालमा यो दिन शहर र गाउँ सबैतिर आगोको ठाउँमा पानी थियो फरक त्यति होला । जताततै पानीनै पानी । त्यही पानीका कारण पहाडमा जताततै पहिरो गयो मान्छे पुरिए ।  तराइ १५ फुटसम्मको डुवानमा पर्‍यो । आगो होस कि पानी कुरा त उही हो जताततै मान्छे मारिइरहिनु र हाहाकार मच्चिनु । यस्तो बेला राष्ट्रपति निवासमा यस्तो नाचगान, पुरष्कार वितरण र भोजभतेर हुनु निरोले शहर जलिरहँदा आफु दरवारको वार्दलीमा बासेर बाँसुरी बजाए भन्दा कति भिन्न होला अनुमान गरौं ।

निरोबारे संक्षिप्त

वीकिपिडियाका अनुसार निरोको यो कथा १८ सय ३६ (इ ००६४) वर्ष अघिको कुरा हो । यसमा रोम शहरमा आगो लागेको र त्यस्तो बेला त्यो आगो निभाउनुको साटो सारंगी (कतै बाँसुरी कतै सारंगी) वजाएर मनोरञ्जन गरेको कुरा वताइएको छ । कुरा एउटै हो – शासकमा मानवीय पीडा प्रति सम्वेदना नहुनु ।  निरोको संक्षिप्त जीवनीमा रोम शहर जलेको र त्यो बेला उसले बाँसुरी बजाएर मनोरञ्जन गरेको घटना प्रमुख रुपमा आउछ । रोमशहरको  त्यो आगो छ दिनसम्म दन्किरह्यो । बाँसुरी पनि त्यसरी नै बजी रह्यो ।

निरोलाई उनकी आमाले विशेष रुपले सम्राट बनाएकी थिइन । सम्राट बनेको तीनचार वर्षमै उसले आफ्नी आमाको हत्यागरेको विवरण इतिहासमा उल्लेख छ  । आमा, पत्नी, गुरु आदि सबैलाई हत्या गरेको उसले पछि आफै आत्महत्या गरेको भनिएको छ । उसले आफनो शासनकालमा सबैलाई तुच्छ दृटिले हेर्ने गरेका विवरणमा उल्लेख छ । 

१८ सय वर्षको अन्तर

१८ सय ३६ वर्षअघिको, नेपाल भन्दा त्यति टाढाको देशको एउटा शासकले के गरेको थियो भन्ने सम्झना गराउने खालको काम यतिबेला यहा चर्चामा आउँदैछ । गणतान्त्रिक नेपालको संविधान सभाले बनाएको संविधान अनुसारको राष्ट्राध्यक्षबाट भए गरेका कामकुराहरु यतिबेला  किन त्यस्तो शासकसंग तुलना भयो वा भैरहेछ भन्ने आफै एउटा प्रश्न हो नै ।

अपमानको कुरा

यो सन्दर्भ अरु प्रकारले पनि चर्चामा रह्यो । सामाजिक सञ्जालका भित्ताहरु हेरियोस् । शीतलनिवासमा त्यसदिनको नाचगान, यता प्रकृतिप्रकोप र अर्को तर्फ आफना निवासमा आफैले बेलाइएका कलाकारको घोर अपमानको पक्ष जोडिएर रोमको निरोसंग तुलना गर्नुपर्ने अवस्था आएको मानियो ।

 

राष्ट्रपतिलाई गीत सुनाउन र नाच देखाउन त्यसदिन जो निवासमा जान मानेनन् त्यो आफनो ठाउँमा छ जो गए तिनको जस्तो अपमान भयो त्यो पनि निरोको शासनसंग तुलना गर्न लायक नै पाइयो । त्यसदिन राष्ट्रपति निवासमा चारपाँच घण्टा विताउँदाका अपमान बोधका सन्दर्भहरु सामाजिक सञ्जालमा भरिएका छन  । ती मध्येका केही हेरे पुग्ला  ।

शीतलनिवास नजाने कसम

यो नाचागान कार्यक्रमका एक प्रमुख नायक सरोज खनालले नायिका करिष्मा मानन्धरको फेसबुक स्टाटसमा लेखे –‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए । तर, हामी पर्फर्मर करिब २५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । मचाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खिएर बसेँ । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ भनेर सेयर गरिनँ । तर, ‘मनको बह कसैलाई कह’ भन्छन् त्यसैले आइ सेयर विथ यु ।’ पीडा मिश्रित यो कमेन्टसँगै सरोजले आफू कमोडमा बसिरहेको तस्बिर पनि पोस्ट गरे ।

तस्बिरमा उनी नृत्यका लागि तयार भएर पालो कुरिरहेको जस्तो देखिन्छ । जसको नाचगान सुन्न हेर्न राष्ट्रपतिलाई इच्छा लाग्यो र कार्यक्रम आयोजित भयो तिनै कलाकारप्रति यस्तो व्यवहार पनि निरोकालीन शासनकै विम्ब माने धेरैले । यी विवरण सामाजिक सञ्जालमा अधिकाधिक शेयर भएकामा पर्छन जसमा सबैले आफुलाई लागेका कुरा प्रतिकृया स्वरुप प्रकट गरे ।

अभिनेता खनालले त भने नै ‘मैले निकै धेरै अपमानित महसुस गरेँ । मेरो यो पहिलो र अन्तिम कार्यक्रम हो ।’

राष्ट्रपतिलाई जनताकी छोरी भनिन्थ्यो केही पहिलेसम्म । जनताकी छोरीको निवासमा पुग्दा जोकोहीलाई अर्कै अनुभूति हुनुपर्ने हो आत्मीयताको । नाम शीतलनिवास हो भने त्यहाँ गएकाहरुका लागि त्यो निवासले शितलता दिनुपर्ने थियो । अझ त्यसमाथि यी कलाकार त राष्ट्रपतिकै मनोरञ्जनका लागि गएका थिए । यिनका मनमा छटपटी थियो होला कतै राष्ट्रपतिले अधुरो महशुस गर्ने हुन कि, पुराका पुरा मनोरञ्जन नहोला कि  भन्ने ।  त्यसकारण उनीहरुले पूर्व अभ्यास पनि गरेका होलान । तर त्यसको सम्मान त भएन नै उल्टो यो निवास भित्र जीवन भरी प्रवेश गर्दिनँ भन्दै किरिया खाएर निस्कन पर्‍यो । यो पनि त एउटा अर्को निरोकै झझल्को हुनु पर्छ ।

मन दुख्ने कुरा

टिप्पणीकार मुक्तिवन्धु लेख्छन –जनजीवन बिल्लीबाठमा परेको यस घडीमा मुलुकका राष्ट्रपतिले गायन र नृत्यका कलाकारहरु जुटाएर महलको पटाङ्गिनीमा नाचगानको आयोजना गर्न सक्नु भएको समाचार सुनिनु, भोजभतेरको आयोजना गर्न सक्नु भएको र श्रव्यदृश्यका आनन्द उपभोग गर्न सक्नु भएको समाचार सुनिनुले श्रोताका मनमा कस्तो दृष्टान्त उभिने ?राष्ट्रिय अवार्ड वितरण वा जुनसुकै नाममा किन नहोस, पीडाका क्षणमा पीडितहरुका लागि नाचगीतका मनोरम भनिने श्रव्यदृश्य पनि हृदयविदारक नै लाग्छ । जनजीवनको बिचल्लीमा सत्तासीनहरुको खुसियाली र रङ्गरउस कुन संस्कार संस्कृतिको उत्पादन होला ? रोमन बादशाह नीरोले त बाजा मात्र बजायो । नाचमण्डली झिकाएर महलमा छमछमी त नचाएन ।

निरो अभ्यासको निरन्तरता

शीतलनिवासमा रोमसम्राट नीरोको अवतरण हुन थालेको हो ? भन्ने प्रश्न यो पटकको विपतका बेला आयोजित नाचगानमामात्रै  होइन यस अघिपनि प्रकट भैरहेका थिए  अर्थात निरो अभ्यासको निरन्तरता केही अघि देखिनै कायम रहेका आम तहको बुझाइ पाइन्छ । त्यस्तो निरन्तर अभ्यासका दर्जनौं मध्ये यहाँ दुइवटा घटना समाचारका रुपमा प्रस्तुत छन:-

समाचार एक: ‘राष्ट्रपतिलाई स्वागत गर्न बनाइएका स्वागत गेटलाई व्यवास्ता गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी झापाको गौरादह नगरपालिका वडा न ५ स्थित महारानी झोडा कृषि सहकारी संस्थाको नमुना एकीकृत  कृषि सहकारीले आयोजना गरेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै ओर्लिइन्  । राष्ट्रपति विद्यादेवि भण्डारीलाई हार्दिक स्वागत छ भनी लेखिएका गेटहरु नगर प्रवेशस्थल लखनपुर डिपु चोक, मिलन चोक र महारानी झोडाका प्रमुख चोक चोकमा यत्रतत्र  बनाइएका देखिन्थे र त्यहा स्वागतगर्न नागरिकपनि बसेका थिए । तर  राष्ट्रपति ती गेटबाट नगर प्रवेश नगरि कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै पुगिन् । साथै राष्ट्रपति भण्डारीले कार्यक्रम स्थल साथमै रहेको नमूना कृषि परियोजनाको हवाइमार्गबाटै अवलोकन गरेकी थिइन् । परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।’ (हाम्राकुरा पुस १८)

समाचार दुइ: २०७५ सालको दशैँमा राष्ट्रपतिले अति विशिष्ठ व्यक्तिहरुलाइ घुडा टेकाएको घटना पनि यो अभ्यासमै पर्छ । ‘यस वर्ष राष्ट्रपति निवासमा टीका ग्रहणका लागि पुगेका व्यक्तिहरु प्रतिको जस्तो व्यवहार गरियो  त्यो सार्वभौमसत्ता सम्पन्न जनताका लागि एउटा घोर अपमाननै थियो । आफु सुनको लेपन लगाइएको कुर्सीमा बसेर टिकालाइदिँदा वाध्यतावस टिकाल गाइमाग्ने व्यक्तिले घुडा टेक्नु पर्ने वातावारण बनाइयो ।   यस्तो घुडाटेकाइमा परे पूर्व प्रधानन्यायाधीश नै । उनी यी राष्ट्रपतिलाइ शपथ खुवाउने पदाधकारी हुन  ।  आफनो सामुन्ने घुंडा टेकेको एउटा सम्मानित नागरिकलाई देख्दा यी राष्ट्रपतिमा कतै रौं वरावरको पनि  विषाद देखिएन । बरु अनुहारले नै देखायो उनी भित्रभित्रै गदगद भइन, घुंडा टेकेर थापिएको निधारमा टिका लगाइ दिँदाको चित्र नियलेर हेरियोस् उनी अन्तर्मनैदेखिको खुशीले हाँसिरहेकी जस्ती देखिन्छिन् ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ