arrow

महाकालीमा निर्मित पुल संचालन गर्न भारत सहमत, जनजीवन सहज हुने विश्वास

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७६ साउन १० शुक्रबार
mahakali-bridge.jpg

दार्चुला। सात महिनाअघि निर्माण भएको महाकाली नदीमाथि बनेको दार्चुलाको लाली र भारतको डोडा जोड्ने झोलुंगे पुल संचालन गर्न भारतीय पक्ष सहमत भएको छ। 

गत पुस २ गते नै नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएता पनि अहिले सम्म संचालनमा आउन सकेको छैन ।

साउन ६ गते काठमाडौंस्थित भारतीय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुल संचालनका लागि भारत सरकारले सम्बन्धित मंत्रालयलाई अनुमति दिएको जानकारी गराएको छ। 

यस्तै भारतीय दुतावासको पत्र पाएसंगै परराष्ट्र मंत्रालयले गृह मंत्रालयलाई र गृह मंत्रालयले दार्चुला प्रशासनलाई भारतीय पक्षले पुल संचालनका लागि पत्राचार भएको जनाएको छ। तर कहिलेबाट पुल सञ्चालन गर्ने यकिन जानकारी दिइएको छैन ।

यसअघि गत जेठमा भारत पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी डा विजय कुमार जोगदण्डले आवतजावत गर्न उपयुक्त रहेकाले अनुमति दिन उत्तराखण्डका गृह सचिवलाई पत्र लेखेका थिए । 

भारतीय पक्षको मागअनुसार पुल क्षेत्रमा बाटाघाटो बनाउने, शौचालय बनाउने र चेकपोस्ट बनाउने काम नेपाली पक्षले गरेको छ।

तुइन विस्थापित गर्ने कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न गरिएको लेकम गाउँपालिकालको लाली र भारत पिथौरागढको डोडा जोड्ने पुल निर्माणका लागि नेपाल सरकारले एक करोड ३२ लाख विनियोजन गरेको थियो ।

पुल निर्माण भएर पनि भारतीय पक्ष तिरको बाटोघाटो, चेकपोष्ट, तथा शौचालय निर्माण गर्न ७ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको लेकम ३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशी बताए। 

‘सो रकमबाट एक महिनामै बाटो, शौचालय र चेकपोस्ट बनायौँ, दुवै देशका अधिकारीले पनि स्थलगत अध्ययन गरेर पुल सञ्चालनमा ल्याउन उपयुक्त छ भने । तर अहिलेसम्म पुल सञ्चालन गरेको छैन’, जोशीले भने ।

नेपाल भारत सीमा नदीमाथि बनेको पुल सञ्चालनमा आउन नसक्दा दार्चुलाको लाली क्षेत्रका स्थानीय जोखिम मोलेरै ट्युब तर्न बाध्य छन्। 

निर्माण सम्पन्न पुल सञ्चालनमा नआउँदा लाली क्षेत्रका स्थानीय ज्यानको बाजी थापेर वारपार गर्न बाध्य छन् । पुल सुचारु भएपछि जनजीवन सहज हुने अपेक्षा स्थानीयको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ