arrow

कूल क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत नाक, कान र घाँटीका बिरामी

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
cancer.png

चितवन । उपचारका लागि आउने क्यान्सरका नयाँ बिरामीमध्ये १४ प्रतिशत भन्दा बढी नाक, कान र घाँटीका हुने गरेका पाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

वर्षेनी यस रोगका बिरामी थपिँदै गएका छन् । सन २०१५ मा क्यान्सरका नौ हजार ७१८ बिरामीमध्ये एक हजार ४९४ नाक, कान घाँटीका रहेका थिए । यसैगरी सन् २०१६ मा १० हजार ७१५ क्यान्सरका बिरामीमध्ये एक हजार ५४१ र सन् २०१७ मा १० हजार ८२९ मध्ये एक हजार ५५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए ।

विभागले देशभरका ठूला १२ अस्पतालबाट तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । विभागका प्रमुख भोला सिवाकोटीका अनुसार सन् २०१८ को तथ्याङ्क सङ्कलन हुने क्रममा रहेको छ । उहाँका अनुसार कूल क्यान्सरका बिरामीमध्ये १४ प्रतिशत हाराहारी यस रोगका बिरामी हुने गरेका छन् । नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

नाक, कान, घाँटीको क्यान्सर रोग खानपानमा ध्यान दिन सकेमा धेरै हदसम्म कम हुने अस्पतालका विशेषज्ञ डा देजकुमार गौतमले जानकारी दिए । अस्पताल आउने क्यान्सरका बिरामीमध्ये ७० देखि ९० प्रतिशतलाई सुपारी, गुट्खा, सुर्ती र मादक पदार्थको सेवनका कारण हुने गरेको भन्दै उहाँले यसलाई रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

विश्वमा वार्षिक छ हजार नौ सयको क्यान्सरका कारण मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । जसमध्ये नाक, कान घाँटीको क्यान्सरका कारण १५ प्रतिशतको मृत्यु हुने गरेको अनुसन्धान विभागका रजिष्टार डा गम्भिर श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ४० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । नाक, कान घाँटीमा हुने क्यान्सरमा ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको श्रेष्ठले बताए ।

नाक, कान, घाँटीमा हुने क्यान्सरको रोग रोकथामका लागि भिटामिन, फलफूल खाने, मासु धेरै नखाने, घाममा धेरै हिँडडुल गर्न नहुने, सुर्तीजन्य वस्तु सेवन गर्न नहुने, मादकपदार्थ सेवन गर्न नहुने श्रेष्ठले जानकारी दिए । अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेले यस अस्पतालको तथ्याङ्कलाई केलाउँदै सन् २०१७ मा १५ दशमलव ८७ प्रतिशत नाक, कान घाँटीका बिरामी अस्पताल आएका जानकारी दिए ।

क्यान्सर रोकथाम तथा अनुसन्धान विभागका प्रमुख सिवाकोटीले गाउँघरमा चेतना बढ्दै जाँदा अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए । अहिले अस्पतालले देशको चार स्थानमा गरी ८० स्वास्थ्यकर्मीलाई क्यान्सर रोग सम्बन्धी तालीम दिइएकाले पनि सामान्य समस्या आउँदा पनि अस्पताल आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ