arrow

छलकपटलाई मान्यता दिने कणिकनीति : जुन अहिले कूटनीति बनेर विश्वमा व्याप्त

logo
डा. प्रकाश ढकाल,
प्रकाशित २०७६ साउन ११ शनिबार
kanikneeti.jpg

काठमाडौं। महाभारतको एक प्रमुख नीतिकार मध्ये कणिक हुन्। कणिक भारद्वाज गोत्रीय विद्वान् हुन्। महाभारतको कथासँगै कणिकका प्रसङ्गहरू आएका छन्। महाभारतमा कणिक नीतिको विशिष्ट स्थान रहेको छ। कणिकले यस नीतिलाई आपत्कालीन नीति भनेका छन्। आधुनिक संसारको भौतिकवादी राजनीतिमा कणिकनीति व्यापक चर्चामा छ। आधुनिक राजनीतिमा कणिकनीतिलाई कुटनीति पनि भन्ने गरिएको छ।

कणिकनीतिमा प्रायः मानवताभन्दा बाहिरका धेरै प्रसंगहरू बताइएको छ। जसले गर्दा मानवताको व्यापक हनन भएको महसुस हुन्छ। कणिक स्वयम्ले पनि यसलाई आपत्कालीन भनेपछि यसको अवलम्बन गरिनु खासै उपयुक्त छैन।

आधुनिक विश्व राजनीतिमा कुटनीतिको छुट्टै मर्यादा रहेको छ। महाभारतकालीन कणिकनीतिबाट क्रमश सुधार हुँदै कुटनीतिको आधुनिक स्वरूप निर्माण भएको हो। कुटनीतिले वर्तमान समयमा दुवैपक्षले आन्तरिक रूपमा हुने छलफल सल्लाहलाई जनाउँछ। लिखित रूपमा नहुने छलफलले मात्र समस्या समाधान हुने प्रसंगहरू सबै कुटनीति अन्तर्गत  पर्दछन्। कुटनीति एउटा उच्चस्तरिय छलफल हो। जहाँकुनै समस्याको समाधान मौखिक प्रक्रियाबाट हुन्छ।

महाभारतका कणिकको नीतिमा छलछाम, छलकपट, दाउ जस्ता कुराहरू पर्दथे। जसले दीर्घकालीन भन्दा पनि शीघ्रकालीन समस्या समाधान गर्नको लागि प्रयोग गरिएको हुन्थ्यो। महाभारत शान्तिपर्वमा राजा युधिष्ठिरले शरशय्यामा रहेका भीष्मपितामहलाई आपत्कालीन नीतिका बारेमा सोध्दा भारद्वाज गोत्रीय विद्वान् कणिक र सौविर देशका राजा शत्रुञ्जयको बीचको सम्वादलाई सन्दर्भमा ल्याएर जनाएका थिए। भीष्मले मान्छे मार्नु, शत्रुदेशका पुल तोड्नु, रासन पानी आउने नाका बाटो घाटो बन्दगर्नु, हमलागर्नु जस्ता कृत्यहरू नराम्रा मानवता बिहिन, धर्मविरोधी भएतापनि शत्रुलाई दमन गर्नको लागि यस्तो गर्नैपर्छ।

यो नै क्षत्रीयधर्म हो भनेर भनेका छन्। यसै प्रसङ्ग नै कणिकनीति भएको विश्वास छ। अझ आफ्ना छोराहरूभन्दा भाईका छोराहरू शस्त्र, शास्त्र विद्यामा एकदम निपुण भएपछि महाराज धृतराष्ट्र शोकमग्न बने। पाण्डवहरूलाई शास्त्रीय एवं वैधानिक विधिबाट पराजितगर्ने कुरा सामथ्र्यमा नरहेपछि उनीहरू कुपथमा लागेर भएपनि पाण्डवविरुद्घ जाईलागे।

धृतराष्ट्रले पनि आफ्ना सन्तानको विजयको इच्छा चाहेर नै धेरै जनाको सल्लाह लिए। त्यस मध्येका एक सल्लाहकार कणिक पनि हुन्। कणिकको शिक्षा लिने विशेष छात्र शकुनि पनि हुन्। राजनीतिका सर्वस्वीकार्य चार उपायहरू साम, दाम, भेद र दण्डमध्ये सर्वात्तम दण्ड नै हो। शत्रुहरूको जरै निर्मूल पार्नुपर्छ। शत्रुहरूका हाँगाविगाहरू प्निकुनै न कुनै रूपमा फेरी जाग्छन् अनि शत्रुस्वरूप बन्दछन् तसर्थ शत्रुको बिऊ राख्नुहुँदैन भन्ने कुरा उल्लेख गरिएको छ। चाहे सानो निर्बल किन नहोस् तर शत्रुको बिउ राख्नु हुँदैन।

राजाले बोलीचालीमा मात्र नम्रभाव देखाउनु पर्छ। भित्री मन भने छुराभैँ तिखो धारिलो बनाउनु पर्दछ। पहिलो भेटले अत्यन्त पुलकित पार्नुपर्दछ। आफ्नो ऐश्वर्य, विजय एवं प्रगति चाहने राजा वा शासकले अवस्था अनुरूप शत्रुलाई पनि अभिवादन गर्नुपर्दछ। अझ आवश्यक परेको खण्डमा प्रतिज्ञा सहित वाचा समेत बाँध्नुपर्दछ। साथै उसलाई सामान्य विपत् पर्दा समेत धैर्यधारण गर्न उत्प्रेरित गर्दै शत्रुका आँखाको आँशु समेत पुछ्ने गर्नुपर्दछ।

समयमा परिवर्तन आएर आफ्नो अनुकूल नभए सम्म शत्रुलाई काँधमा नै बोकिरहनु पर्दछ। जब आफ्नो अनुकूल समय हुन्छ तब शत्रुलाई काँधमा बोकेको माटाको घैँटोलाई भैँ छोडिदिएर शत्रुलाई छिन्न भिन्न पार्नुपर्दछ।

राजा वा शासकले कोइली, बँदेल, सुमेरु पर्वत, शुन्य घर, नर्तक, अभिनेता र घनिष्ठ साथी यी छ जनाका उल्लेखनिय गुणहरू सिक्ने प्रयत्नगर्नुपर्दछ। स्वरमा मिठास हुनु कोईलीको गुण हो। रोक्नै नसक्ने गरेर भएको कडा आक्रमणलाई पनि रोक्न सक्ने सामथ्र्य विशेषतः बँदेलमा हुन्छ। अत्यन्तअग्लो हुनु सुमेरु पर्वतको विशेषता हो। धेरै मानिसहरूलाई आश्रय वा एकान्तवास दिन सक्नु एकान्त घरको विशेषता हो।

आफ्ना कला कौशलद्वारा अरुलाई प्रसन्न तुल्याउनु नर्तकी, कलाकर्मीको विशेषता हो। आपद् काल तथा रमाईलो क्षणमा सहयोग गर्ने र सबैको हित चाहने घनिष्ट मित्रको विशेषता हो। कमजोर वा निर्धो राज्यले आफुकँहा शत्रु आउँदापनि उठेर स्वागत, सत्कार,उपहार आदिद्वारा सम्मान प्रकट गर्नुपर्दछ। आफ्नो स्वागत सम्मानमा ऊ लठ्ठिएपछि तिखो चुच्चो भएको पंक्षीले पाकेको फल ठुँगेभैँ सताउनु पर्दछ। आफ्नो सम्मानले सन्तुष्ट पारेर विश्वस्त तुल्याउँदै जानुपर्दछ। आफ्नो मोह जालमा फसाएपछि उसलाई तड्पाउँदै उसका लक्ष्य र साधनहरूमा पटक पटक धक्का दिएर शत्रुको सामथ्र्यलाई छिन्न भिन्न पार्नुपर्दछ।

कुनै पनि राज्यका राजावाशासकहरूले अरुलाई मर्माघात नगरी, क्रुरकर्म नगरी, धेरैको प्राणसंहार नगरी ठूलो ऐश्वर्य प्राप्तगर्न सक्दैनन्। माछा, बाघ लगायतका सम्पूर्ण हिंस्रक जीवजन्तुहरूले हिंसाको माध्यमबाट आफ्नो जीवनयापन गर्दछन्। शासकहरूले पनिआपत्को घडिमा हिंस्रक बनेर आफ्नो सामथ्र्य प्रयोग गर्दै शक्तिमान् बन्नुपर्दछ।

शत्रु, आगो, ऋण यी तीनवटा कुराहरू कसैको पनि शेष राख्नु हुँदैन। उल्लेखित तीन कुराहरूलाई सानो भनेर हेप्नु महान् भूल हो। कमजोर भएर बसेको शत्रुले के नै पो बिगार्ला ? भनेर ढुक्क हुनुहुँदैन। यिनीहरू कहिल्यै साना हुँदैनन्। यस्ता शत्रुले रुखले जरा फैलाएभैँ आन्तरिक शक्ति सञ्चय गर्दै सबल बन्दछन्। सानो आगोको फिलिङ्गाले जसरी सारा वन सखाप पार्दछ। त्यसरी नै एक दिन शक्तिशाली बनेर विशाल श्रीसम्पत्तिलाई एकै झिल्कोले स्वाहा पारिदिन्छ।

नेपालको राणाकालीन इतिहासमा प्रधानमन्त्री बन्ने क्रमका जङ्गबहादुर राणाका छोरा जगतजङ्ग राणासहित उनका सम्पूर्ण छोराहरूलाई मार्ने व्यापक षड्यन्त्र भयो। धेरै छोरासहित जगतजङ्ग मारिएका थिए। उनका केहि छोराहरूलाई छोरीको भेषमा लुकाएर बचाएको कुरा इतिहास प्रसिद्ध छ। बाँकी रहेको ऋण व्याजले, शत्रु ईखले, अग्नि सामथ्र्यले गर्दा बढ्दै जान्छन्। सानो तथा कमजोर भएपनि शत्रुलाई उपेक्षा गर्नुहुँदैन।

राजा वा शासकले आफुभन्दा बलियोसँग निहुरिएर, कमजोरलाई धम्काएर, लोभी व्यक्तिलाई धन सम्पत्तिको लोभ देखाएर आफ्नो वशमा राख्नुपर्दछ। समयानुसार नरम र कठोर बन्न जान्ने व्यक्तिहरूले आफ्ना कामहरू सफल पार्दछन्। यस्ता व्यक्तिहरूद्वारा शत्रुहरूमाथि समेत उनीहरूको नियन्त्रण रहन्छ। शत्रुता लिनु घातक हुन्छ। शत्रुलाई सकेसम्म आफूभन्दा टाढा हुन दिनु हुँदैन। उसैसँग बेकारको शत्रुता लिनु भनेको निद्रा गुमाउनु मात्र हो।

आफ्नो सामथ्र्यको पहिचान आफैले गर्नु अझ महान् कुरा हो। तर्ने नसकिने खोलालाई तर्दछु भन्ने साहस बुद्धिमान् राजाले गर्नुहुँदैन। जसलाई आफूले जित्न सकिन्न भन्ने लाग्दछ त्यस्ता उपर पनि केही सम्पत्ति हडप्ने, निहुँ खोज्ने काम गर्नुहुँदैन। 

युद्धका पक्षमा वा अन्य राजकीय पक्षमा कसैलाई आँकलन गर्नुपूर्व नै आत्म आँकलन गर्नुपर्ने कुरा प्रष्ट छ। आफ्नो सामथ्र्य थाहा नपाइकन अरु उपर आक्रमणमा जानु अन्धकारमा तलाउमा फाल हाल्न बराबर हो। युद्ध वा अन्य कूटनीतिक सवालमा राजाले कहिल्यै घमण्ड गर्नु हुँदैन।

शत्रुपक्षलाई विजय गर्नका निम्ति उनीहरूसँग सोझै प्रस्तुत हुनु पराजयको संकेत हो। विजय प्राप्त गर्नका निम्ति राजाले आफ्ना कुल, इष्ट देवताको स्मरणमा व्रत उपवासहरू गरेर राष्ट्रका प्रजा र अन्य देशका राजा प्रण्जाको ध्यान आकृष्ट गर्नुपर्दछ। जसरी रुखमा पाकेको फललाई टिप्न चाहनेले सर्वप्रथम रुखको हाँगो आफूतिर केहि नुहाएमा मात्र टिप्न सजिलो पर्दछ।

विजयको अभिलाषा भएको राजाले त्यस देश वा पक्षका कसैलाई केही न केही रूपमा आकर्षण नगरिकन सोझै आक्रमणको निशाना बनाउनु अत्यन्त मुर्खता हो। महाभारतमा धृतराष्ट्र र कणिक भरद्वाजको वार्ता अत्यन्त प्रसिद्ध छ। धृतराष्ट्रले कूटनीतिको विशेष शिक्षा कणिकबाटै लिएका थिए। महाभारतका स्यालको कथा बताएर कणिकले आफ्नो नीतिज्ञको परिचय दिएका छन्। कणिकको अनुसार स्याल साम, दाम, दण्ड, भेद यी चारै प्रकारका उपायको सफल प्रयोग गर्ने तत्ववेत्ता प्राणी ओ स्याललाई मुख्यपात्र बनाएर बताइएको यो कथामा बाघ, मुसो, ब्वाँसो र न्याउरीमुसो पनि छन्।

आफूभन्दा बलशालीहरूसँग नुहेर हात जोरेर भएपनि उनीहरूलार्य जित्नुपर्दछ भने कमजोरीहरूलाई डर धम्की देखाएर आफूले विजय हासिल गर्नुपर्दछ। यस्तो विधि अपनाउने राजा बल्ल सुखी हुन्छ।

लोभी पापीलाई लोभ देखाएर कमजोरलाई धम्काएर बलशालीहरूसँग नुहेर विजय हासिल गर्नु नितान्त नीतिगत कुरा छन्। प्रतिज्ञा, वाचाबन्धन गरेर विष प्रयोग गरेर धोका दिएर भएपनि शत्रुलाई मार्नैपर्छ भन्ने कुरा व्यक्त छ। शासकले कहिल्यै पनि अरुका अवगुणहरूको चर्चा गर्नुहुँदैन। गोप्य विषयहरूमा गोप्यता राख्ने प्रयत्न गर्नुपर्दछ। शत्रुपक्ष कमजोर भएको स्पष्ट प्रमाण पाएको बेलामा मात्र शत्रु उपर प्रहार (आक्रमण) गर्नुपर्दछ। आफ्नो प्रतिपक्ष वा शत्रुपक्षको फौजमा महामारी आपत् परेको, अनिकाल परेको प्यासले तड्पेका लगायता समस्यामा जकडिएका बेलामा शत्रु उपर प्रहार गर्नुपर्दछ।

शत्रु कमजोर भएको बेला आक्रमण गर्दा विजय पाउने प्रबल आशा रहेको हुन्छ। मानिसहरूलाई निरन्तर सम्पर्क सम्बन्धमा रहिरहने बनाउन अत्यन्त आवश्यक छ। धनवान् मानिसले कहिल्यै धनी मान्छेलाई भेट्न जाँदैन। जसका सम्पूर्ण कामहरू पुरा भैसकेपछि उसले उसैसँग पनि मित्रता गाँस्न चाँहदैन तसर्थ आफूले पुरा गर्नुपर्ने अरुको काम अधुरो राख्नुपर्छ जसले गर्दा मानिस बराबर आफूकहाँ निरन्तर आइरहोस्।

राजनीति गर्ने मानिस वा राजाले जहिल्यै पनि आफ्नो परिधिमा राख्ने हरसम्भव प्रयास गर्नुपर्छ। उसका कामहरू छिट्टै फत्ते नगरिकन विस्तारै गरिदिनुपर्छ जसले गर्दा ऊ निरन्तर आफ्नो सम्बन्ध तथा संगतमा रहिरहोस्। 

यसरी कणिकले राज्य सञ्चालनका लागि आवश्यक ठानिएको गोप्य नीतिको वारेमा प्रकाश पारेका छन्। विशेषतः कणिकनीति नै कुटनीति हो। अर्थात् गोप्यरूपमा कसैलाई नभनिकन चाल नदिइकन शत्रु उपर विजयको अभिलाषा राख्ने नीति नै कुटनीति हो। समस्याका समाधानका लागि दुवै पक्षकाले निर्णय हुनुपूर्व गरेको छलफलका प्रकरण नै कुटनीतिक प्रकरण हुन्।

मूलतः कणिक र राजनैतिक चारओटा उपायहरू मध्येका दण्डनीतिका प्रयोगवादी हुन्। उनका मतमा दण्डले नै सबैलाई शासन गर्न सकिन्छ। उनले दण्डको महत्तालाई विशेषरूपमा प्रष्ट्याएका छन्। राजा वा शासकले विजयको अभिलाषा लिँदा धर्मको अभिलाषा त्याग्नुपर्दछ। राजा वा शासकका निम्ति युद्ध जित्नु, राज्यको सीमा फैलाउनु ठूलो धर्म हो। शासन चलाउन वा सीमा फैलाउँदा हुने मानव हत्या हिंसालाई कणिकले सामान्य ठानेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ