arrow

सभामुखको संसदमा 'थकाउ र बसाउ' रणनीति, पेलेरै जाने प्रवृत्ति सुध्रिएन

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
samsad-congress.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले सोमबार दिउँसो १ बजेको प्रतिनिधि सभाको बैठकमा ४० मिनेटसम्म प्रतिपक्षी सांसदहरुले निरन्तर विरोध गरिरहे । सुरुदेखि नै बैठक अवरुद्ध गरेका प्रतिपक्षीहरुलाई सभामुख कृष्णबहादुर महराले ४० मिनेटसम्म सहजीकरणको प्रयास पनि गरेनन् र संसद बैठक स्थगित पनि गरेनन् । यसको एउटै कारण हुनसक्छ सांसदहरु केहीबेरमा थाक्नेछन् र आ आफ्नो स्थानमा गएर बस्छन् भन्ने । तर, झण्डै ४० मिनेटसम्म प्रतिपक्षले विरोध गरिरहेपछि बल्ल सभामुख महराले बैठक सोमबारको लागि स्थगित भएको सुनाए । अर्को बैठक बुधबार विहान ११ बजेको लागि बोलाइएको छ ।

केही दिन अघि सर्लाहीमा 'इन्काउन्टर'मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनामा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै विपक्षीहरुले केहीदिनदेखि संसद अवरोध गर्दै आएका छन् । गत बुधबारदेखि सुरु भएको संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश र छलफल गर्नको लागि प्रतिपक्षीले अबरोध खुलाएका थिए । फेरि सोमबारको बैठकमा उनीहरुले यसमा अवरोध जनाए । यसरी लामो समयसम्म माग पूरा गर्न नसक्ने सभामुख महराले आफ्नो कुशलता देखाउन नसकेपनि प्रतिपक्षको विरोधकाबीच शून्य समयको प्रक्रिया प्रारम्भ गरेपछि विपक्षीहरु रोष्ट्रम घेर्न पुगेका थिए। 

मुख प्रतिपक्ष कांग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि कांग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए।

कांग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ