भागवण्डाका कारण सर्वसाधारणलाई दुर्लभ बन्दै नर्सिङ अध्ययन

जीवन शर्मा, प्रकाशित मिति : २०७६ श्रावण १४ मंगलबार

 ओखलढुंगा । पहुँचवालाहरुको भागबण्डाका कारणले ओखलढुंगामा नर्सीङ अध्ययन सर्वसाधारणहरुका लागि दुर्लभ बन्दै गएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालनमा आएको स्कूल अफ हेल्थ साइन्स नर्सिङ अध्ययनका लागि व्यवस्थापन समितिले भागबण्डामा कोटा निर्धारण गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बन्दै गएको हो ।

सर्वसाधारण नागरिकले नर्सिङ पढ्न पाउने गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परषद (सिटीइभिटी) संग संझौता गरी ल्याइएको नर्सिङ कलेजमा भर्ना हुन् विभिन्न कोटा निर्धारण गरेसंगै सर्वसाधारणले नर्सिङ पढ्न नपाउने भएका हुन् ।  

शैक्षिक सत्र ०७५-०७६ देखि सञ्चालनमा आएको २० जनाको मान्यता प्राप्त उक्त कलेजमा पढ्नका लागि खुल्ला रुपमा परिक्षा लिएर भर्ना गर्नु पर्नेमा सिद्धिचरण नगरपालिका, उद्योग बाणिज्य संघ, कर्मचारी, अनमी लगायतको लागि कोटा निर्धारण गरेपछि नर्सिङ पढ्न चाहाने सर्वसाधारले पैसा तिरेर पनि पढ्नबाट बञ्चित हुने अवस्था आएको छ । क्याम्पस व्यवस्थापन समितिले मनोमानी रुपमा आफुअनुकुल भागबण्डा गरेर सर्वसाधारणलाई पढ्नबाट बञ्चित गर्ने निर्णय गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।

 क्याम्पस व्यवस्थापन समितिको गत साउन–८ गतेको निर्णय अनुसार शैक्षिक सत्र ०७६-०७७ को भर्नाका लागि २० जना मध्य सि.टि.इ.भिटी कर्मचारी बाट –१ जना, अस्पतालमा कार्यरत कर्मचारी–१, सिद्धिचरण नगरपालिका–२, ओखलढुंगा उद्योग बाणिज्य संघ–२, छात्राबृति–२ अ.न.मि –१, पूरुष कोटा ३ गरी १२ जना भागबण्डामा कोटा निर्धारण गरेको छ  भने ८ जना खुल्ला प्रतिष्पर्धामा राखिएको छ । यो निर्णयले आम सर्वसाधारण र पहुँच नभएकाहरुका लागि नर्सीङ पढ्न पाउनु दुर्लभ बनेको सरोकारवालाहरुले बताए । उक्त गलत निर्णय तत्काल सच्याएर प्रतिष्पर्धाका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसंग माग गरिएको  स्थानीयले सूर्यप्रकाश राइले बताए ।  

व्यवस्थापन समितिले काडमाण्डौमा बसेर एकलौटी निर्णय गरेकाले त्यसलाइ सच्याएर जानुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष जय बहादुर श्रेष्ठले बताए । उनले आफुलाई थाहै नदिइए मनलागि निर्णय गरेर स्वास्थ्य शिक्षा जस्तो विषयलाई व्यापारीकरण गरि जिल्लाकै वेइजत गर्न खोजेको आरोप लगाए । ‘‘इच्छुक सबै सर्वसाधारणले प्रतिस्पर्धाका आधारमा पढ्न पाउनु पर्छ । श्रेष्ठले भने,‘ स्वास्थ्य जस्तो संवेदनशिल विषयमा भागवण्डा गरेर कस्तो जनशक्ति उत्पादन गर्न खोजिएको हो ? ।”

ओखलढुंगामा भएका समितिका पदाधिकारीहरु काठमाण्डौ गएर बैठक बस्नु, जिल्ला शिक्षा समिति लगायत सरोकारवाला निकायलाई जानकारी नै नदिइनु र सिटीइभिटीको मान्यता अनुसार हुनु पर्ने बर्गिकृत छात्राबृतिको कोटालाइ समेत ध्यान नदिइ चार जना बसेर आफुअनुकुल गरिएको भागबण्डाको निर्णय गलत भएको शैक्षिक सरोकारवालाहरुले बताएका छन् । यसरी एकलौटी निर्णय गरेर मानवको स्वास्थ्य र शिक्षा जस्तो संवेदनशिल विषयलाई व्यपारीकरण गर्न खोजिएको उनिहरुको आरोप छ । यस बर्ष नर्सिङ अध्ययनका लागि ६० जनाले आवेदन फारम भरेका छन् ।

 कोटा निर्धारणको अभ्यास अन्य जिल्लाहरुमा पनि रहेको बताउदै ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा.रोशन खरेलले अर्को बर्ष देखि सच्याएर लौजाने जवाफ दिए । नर्सीङ अध्ययनका लागि केही कोटा निर्धारण प्रायोजित रुपमा गरिएको र स्थानीय सरकारलाई पनि त्यसमा समावेश गरिएको ओखलढुंगा स्कूल अफ हेल्थ साइन्सका व्यवस्थापन समिति अध्यक्ष विजय मिश्रले बताए । कोटा ककस्लाइ दिने भन्ने निर्णय व्यवस्थापन समितिले गर्ने भएकाले विभिन्न निकायलाई कोटा छुट्याएको उनको भनाइ छ ।  सबै विद्यार्थीहरुले इन्ट्रान्स पास गर्नु पर्ने र सम्बन्धित निकायको सिफरिसका आधारमा भर्ना गरिने मिश्रको बताए  ।  

स्कूल अफ हेल्थ साइन्स व्यवस्थापन समितिले कोटा निर्धारण गरेको निर्णयको प्रतिलिपी  

नयाँ