- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वाराणसी। त्यो खेल अरु सामान्य मानिसको खेल भन्दा फरक थियो । आम युवाहरु र उनीहरुको खेलको क्रममा लगाउने पोषाकको रंग फरक थियो र उनीहरुलाई चिनाउने उद्घोषकले गर्ने उद्घोषण पनि फरक नै थियो । उनीहरु देवभाषा संस्कृतलाई सजिलै बुझ्न सक्दथे भने अरु त्यो भाषालाई मुस्किलले पनि बुझ्न सक्दैन थिए ।
अरु क्रिकेट खेलाडीहरु प्रायः सेतो रंगको पहिरनमा क्रिकेट खेल्न जाने गर्दछन् भने उनीहरुले केहीले सेतो धोती र कुर्था त केहीले पहेँलो धोती लगाएर मैदानमा उत्रिएका थिए । तर, त्यो खेल अरु खेल भन्दा भिन्न थिएन । बनारस स्थित सम्पूर्णानन्द विश्वविद्यालयको प्राङ्गणमा केही समय अघि भएको त्यो खेलका खेलाडी थिए संस्कृत पढ्ने बटुकहरु । उनीहरुले क्रिकेट खेल्ने समयमा पनि आफ्नो पोषाकलाई विर्सन सकेनन् । उनीहरुले पहेँलो चोला, लामा लामा शिखा, निधारमा टिलिक्क परेको तिलक लगाएका युवाहरुको एउटा प्रतियोगिता नै चलिरहेको थियो ।
त्यो खेलको विशेषता धेरै भिन्न थियो । यहाँ कमेन्ट्री पनि अन्य भाषाबाट नभई संस्कृतबाट हुने गरेको थियो । वाराणसीमा यो म्याच सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा विद्यार्थीहरु, आफन्त र आगन्तुकहरुलाई आनन्द दिन र जागरुक बनाउनको लागि आयोजना गरिएको थियो । यस क्रममा महाविद्यालयका छात्र (बटुक)हरु आफ्नो पहेँलो धोतीमा टीका त्रिपुण्ड लगाएर चौका-छक्का हानिरहेका थिए । यो नियमित हुने कार्यक्रममा सम्पूर्णानन्द विश्वविद्यालयले सबै खेलको कार्यसञ्चालन संस्कृतबाट नै गर्ने गर्दछ ।
संस्कृतबाट खेलको अम्पायरिङ गर्नेहरुले अब क्रिकेट खेल सुरु हुन्छ भन्नको लागि इदानीं यष्टिक्रीडा आरक्यते भन्दछन् । बाउन्ड्री कटेर गएको बललाई चिनाउनको लागि कंदुकं सीमापारं गतम् भनिन्छ । 'चतुष्कम्' (चौका), षट्कम् (छक्का), धावनांका: (रन) बहिर्गमनम् (आउट) ...। यसैगरी संस्कृतमय कमेन्ट्री सम्पूर्णान्दको हरेक वर्ष हुने संस्कृत विश्वविद्यालयको मैदानमा गुन्जिन्छ । संस्कृतको मन्दिरमा संस्कृतमा कमेन्ट्री त्यहाँको लागि कुनै नयाँ कुरा होइन । तर, यो उद्घोषण बाहिरी श्रोताहरुको लागि भने अनौठो लाग्न सक्छ । यो वर्ष यो खेल अप्रिल महिनामा भएको थियो । यस्तै खेल अघिल्लो वर्ष मे महिनामा र त्यो भन्दा अघिल्लो वर्ष फेब्रुअरी महिनामा भएको थियो ।