arrow

 प्रदेश २ द्वारा लोकसेवा विधेयक पारित, आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
pradesh-2.JPG

धनुषा । प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश नं २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।     
     
 बैठकमा टेबल भएको झण्डै अढाइ महीनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो । यो विधेयक गत जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको थियो भने मंगलबार बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ ।     
     
 यो विधेयक पारित भएसँगै अब प्रदेश नं २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।     
     
 सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए ।

समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।     
     
 मंगलबारको प्रदेशसभा बैठकमा उनले साउनमा मात्रै पाँच पटक बैठक बसेको र यही समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए ।     
     
 यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ माथि पनि  सैद्धान्तिक छलफल भएको छ ।     
     
 छलफलमा भाग लिँदै नेकपाका सांसद गोविन्द न्यौपाने र काङ्ग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्याउनु जरुरी रहेको बताए । मन्त्री साहले सीप नसिकी हजारौँ युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा स्थापना गरेर उनीहरुलाई विभिन्न किसिमको तालीम दिन र आफैँ रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ