arrow

कारागारका सबै कैदीबन्दीमा भाइरल  

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
udayapur.png

गाईघाट । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला कारागार शाखाका सम्पूर्ण कैदीबन्दी भाइरल ज्वरोबाट बिरामी भएपछि उपचार शुरु गरिएको छ ।     
     
शुरुमा दुई–चार कैदीबन्दीलाई मात्र सामान्य ज्वरो आए पनि विस्तारै सम्पूर्ण कैदीबन्दी नै भाइरल ज्वरोबाट प्रभावित हुन पुगेपछि सोमबारदेखि उनीहरूको नियमित उपचार शुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्ला अस्पताल उदयपरबाटै चिकित्सकसहित औषधि झिकाइ कारागारमै उपचारको व्यवस्था गरिएको छ ।     
एक सय त्रिहत्तर कैदीबन्दीसहित तीन बालबालिका रहेको जिल्ला कारागार उदयपुरका सबै कैदीबन्दी भाइरलको ज्वरोबाट प्रभावित भएपछि अहिले नियमित उपचारको व्यवस्था गरिएपछि उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको प्रजिअ खड्काले बताए । 

कैदीबन्दीको उपचारमा निःशुल्क औषधि र केही औषधि खरीद गरी ल्याएर प्रयोग गरिएको र अहिले उनीहरूको अवस्था सामान्य बन्दै गएको छ ।     
     
शुरुमा सामान्य अनियमित ज्वरो आउने र रुघाखोकीबाट शुरु भएको भाइरलका बिरामीका कारण कैदीबन्दी ओछ्यानमै थला पर्न थालेका थिए ।     
     
५० कैदीबन्दी अटाउने क्षमता रहेको जिल्ला कारागार उदयपुरमा हाल १७३ कैदीबन्दी राख्न बाध्य हुनुपरेको र उनीहरूले पिउने पानी प्रदुषित रहेका कारण कैदीबन्दी भाइरलबाट प्रभावित हुन पुगेको कारागार प्रशासनले बताएको छ ।     



नयाँ