arrow

वडाध्यक्षलाई अभद्र व्यवहार गरेको भन्दै पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध पक्राउ पूर्जी 

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
udaya-singh-shrestha.jpg

नेपालगञ्ज । नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेबाट पक्राउ अनुमति लिई पक्राउ  पूर्जी जारी गरिएको हो । 

अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले बताए । 

मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्वन्धी कसुर अन्तर्गत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो । एसपी ओलीले बेहनाले ९ दिनअघि नै जाहेरी लिएर आएपनि आफूले मेलमिलापका लागि समय दिएको बताउँदै उनीहरुबीच मेलमिलाप नभएपछि बेहनाको आग्रहमा सोमबार मुद्दा दर्ता गरिएको बताए ।

‘बेहनाले मैले न्याय पाउने कि नपाउने भनेपछि सोमबार अपरान्ह मुद्दा दर्ता गरिएको हो’, एसपी ओलीले भने । मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले पक्राउ पूर्जी जारी गरेको पुष्टि गरे । 

श्रेष्ठका विरुद्ध मुद्दा दर्ता गरेका वडा नम्बर ४ का वडाध्यक्ष बेहनाले पत्रकार श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ (फिरौती) लिएको साथै गत असारमा वडा कार्यालयभित्र प्रवेश गरी फिरौती माग गरेको बताए । 

आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जाल मार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने गरी गैरकानुनी रुपमा फोटो चोरी गरी सार्वजनिक गरेको आरोपमा मुद्दा दर्ता गरेको बताए । 

मुलुकी अपराध संहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ