arrow

एसएलसी परीक्षामा रोल्पामा छात्र भन्दा छात्रा बढी

छात्राहरुलाई सेनिटरी प्याड बितरण

logo
कविता उपाध्याय ।
प्रकाशित २०७२ चैत १८ बिहिबार
SLC_2072_.jpg.jpeg
रोल्पा। यस वर्षको एस.एल.सी परीक्षा परीक्षामा रोल्पा जिल्लाबाट ४ हजार १ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जस अन्तर्गत नियमित तर्फ १२ सय ७७ जना छात्र र १४ सय ५५ जना छात्रा रहेका छन् भने एक्जाम्टेड तर्फ १३ सय ९४ जना विद्यार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ। सबैभन्दा बढी परीक्षार्थी कृष्ण मावि घर्तीगाउँ केन्द्रमा ४ सय १८ जना र सबैभन्दा कम २ सय १ जना परीक्षार्थी सूर्योदय मावि सुलिचौर मिझिङ केन्द्रमा रहेका छन् । एस्एलसी परीक्षा मर्यादित रुपमा सम्पन्न गर्नका लागि जिल्लाका १५ वटा विद्यालयमा परीक्षा केन्द्र र मावि तहका स्थायी शिक्षकहरुलाई  केन्द्राध्यक्षको रुपमा  तोकिएको छ ।  
 
यस वर्षको एस्.एल.सी. परीक्षामा रोल्पामा छात्र भन्दा छात्राको संख्या बढी देखिएको छ । हुने खाने वा सक्ने परिवारले छोरालाई जिल्ला बाहिरका महंगा विद्यालयमा पढ्न पठाउनु र छोरीलाई गाउँकै विद्यालयमा भर्नादिने भएका कारण पनि छात्राको संख्या बढी देखिएको हुन सक्ने जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए। उनका अनुसार जनसंख्याको हिसाले पनि छात्र भन्दा छात्राकै संख्या बढी छ। अर्कोतर्फ कक्षा ८ उत्तीर्ण भएसंगै छात्रहरु विद्यालय छोडेर बैदेशिक रोजगारीमा वा  खाडी मुलुकतिर पुग्ने भएका कारण पनि यस्तो देखिएको हुन सक्ने पौडेलको बुझाइ छ । साथै पछिल्ला समयमा छोरीलाई पनि विद्यालय पठाउनु पर्छ भन्ने सोंच वा शिक्षाको प्राथमिकतामा छोरी पनि परेका कारण  परीक्षामा छात्राको संख्या बढि देखिएको हुन सक्छ उनले बताए। 
 
यसका साथै यस वर्षको एसएलसी परीक्षामा सहभागि हुने सम्पूर्ण छात्राहरुलाई सेनिटरी प्याड वितरण गरिएको जिल्ला शिक्षा अधिकारी पौडेलले जानकारी दिए। सिकाई, ब्यवहार परिवर्तन र ब्यक्तिगत सरसफाइका लागि १५ वटै परीक्षा केन्द्रका सबै छात्रालाई सेनिटरी प्याड बितरण गरिएको हो। छात्राह्ररुलाई महिनावारीका समयमा हुने समस्याहरुलाई मध्यनजर गर्दै सहज रुपमा परीक्षामा सहभागी गराउने उद्देश्यले प्याडसंगै प्राथमिक उपचारका लागि किट बक्स पनि उपलब्ध गराइएको छ। गत वर्षको एस्.एल.सी. परीक्षामा जिल्लाका ३ वटा केन्द्रमा सेनिटरी प्याड वितरण गसिएको थियो। जसका कारण किशोरीहरुलाई परीक्षामा सहभागी हुन सहज भएको उनीहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ