arrow

नारायणी डेभलपमेन्ट बैंकका फरार अध्यक्ष द्वा राष्ट्र बैंकको कार्यक्रमबाटै पक्राउ

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
tuti-hathkadi.jpg.jpeg
काठमाडौँ। नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले दोषी ठहर गरेपछि फरार रहेका व्यक्ति सोही डिभिजनले आज आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि त्यहाँ सहभागीबीच कानेखुसी चल्यो । डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एकदिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी दिएको थियो । 
 
अध्यक्ष द्वा तथा बैंकका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ समेतका विरुद्धमा चितवन, टाँडी प्रधान कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको रु २३ करोड ७२ लाख २६ हजार ७४४ हिनामिना गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ विपरीतको कार्य गरेको उजुरीमा पुनरावेदन अदालत मकवानपुर, हेटौँडाको फैसलापछि द्वा अदालतबाट फरारको सूचीमा थिए । 
 
उनै द्वा राष्ट्र बैंक, थापाथलीमा आयोजित कार्यक्रममा सहभागी भएको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बैंक परिसर बाहिरबाट आज पक्राउ गरेको हो । 
 
बैंकका अध्यक्ष द्वाको प्रमुख योजना तथा मिलेमतोमा विभिन्न नाममा नक्कली ऋणी तथा आफन्तलाई अनियमित तरिकाले कमसल धितो राखी ऋण प्रवाह गर्ने र सो ऋण रकम आफैँले प्रयोग गर्ने गरेको आरोप लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो । 
 
बैंकका तत्कालीन महाप्रबन्धक श्रेष्ठलाई गत असार २३ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, चितवनमा पठाइएको र सोही बैंकका पूर्वअध्यक्ष दिव्यकुमार श्रेष्ठलाई समेत नारायणी डेभलपमेन्ट बैंकको मुद्दामा अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय, चितवनलाई आदेश दिएको थियो । 
 
सो मुद्दाको मुख्य अभियुक्त द्वा समेतका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत हेटाँैडामा गत साउन २३ गते रु २३ करोड ७२ लाख २६ हजार ७४४ बिगो कायम गरी हदैसम्म सजायका लागि मागदाबी गरेको थियो । 
 
सो मुद्दामा अदालतको फैसलापछि असोज ५ गतेको आदेशले प्रतिवादी श्रेष्ठसमेतलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा द्वा भने फरार रहेका थिए । कानुनअनुसार फरार रहे पनि उनी सोही बैंकको अध्यक्षको हैसियतले लुकीछिपी काम गर्दै आएको उपरीक्षक लोहनीले जानकारी दिनुभयो । उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय, चितवनमार्फत पुनरावेदन अदालत, हेटौँडामा पठाइने ब्युरोले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ