arrow

बाढीले सिंगो बस्ती जोखिममा    

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
bajura-district.png

बाजुरा । सदरमुकाम मार्तडी नजिकै रहेको बाउली खोलामा आउने बाढीका कारण बडिमालिका नगरपालिका–८ गडखेतको सिङ्गो बस्ती जोखिममा रहेको छ । नजिकै बाउली खोला बग्न थालेपछि बस्ती बग्ने खतरा बढेको हो ।     
     
 हरेक वर्ष जागराम बस्नुपर्ने समस्या हुँदा पनि तटबन्धका लागिसमेत कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । बाउली खोलामा मिसिने खारगाड खोलाले बढी क्षति पु¥याएको हो । बाउली र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेका वडा सदस्य नरबहादुर अयडीले बताए ।
     
 खोलामा उचित तटबन्ध नहुँदा बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । नगरपालिका र अन्य निकायलाई हारगुहार गर्दा पनि तटबन्धका लागि कसैले वास्ता नगरेको गुनासो स्थानीय धनबहादुर रावलको भनाइ छ ।

बाउलीकै कटानले यसअघि पनि सिङ्गो बस्ती सार्नु पर्ने अवस्था आएको थियो । बीचमा केही समय रोकिएपछि स्थानीय पुनः बस्ती बस्न थालेका हुन् । अर्को स्थानमा विकल्प नभएपछि उनीहरुलाई समस्या थपिएको रावलले जानकारी दिए ।

 स्थानीय पानी परेको रात नसुतेरै जाग्रराज बस्ने गरेका छन् । जिल्ला सदरमुकाम नै रहेको वडा भएर पनि राज्यका निकायको ध्यान जान सकेको छैन । गडखेतमा ५० परिवार बस्ती भए पनि सयौँ रोपनी जमीन ८ र ९ नम्बर वडाका स्थानीयको रहेको छ । 

खोलाले केही भाग खेत कटान गरेर क्षति पु¥याइसकेको छ । तत्काल विकल्प नसोचिए सिङ्गो बाउली नै खोलाको बगरका रुपमा परिणत हुने देखिएको छ । खारगाडमा झोलुङ्गे पुल नहुँदा वडा नं ३ का बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ ।     
     
 पानी परेको दिन खोलामा वारपार गर्नै समस्या हुने गरेको शिक्षकसमेत रहेका स्थानीय धनबहादुर रालवले बताए । मार्तडी बजारका लागि आउने तरकारी पनि रजालीबाटै आउने गरेको छ । 

पानी परेको दिन तरकारी रोकिने हुँदा बजारमा समस्या हुने गरेको छ । बस्ती जोखिमसँगै मार्तडीसँगको रजालीको सम्पर्क नै टुट्ने अवस्था आइलागेको वडा नं ३ का वडाध्यक्ष वीरबहादुर रावलले बताए ।
     
 खारगाड खोलाको मुहानको पहिराको बालुवा थुप्रिदै गएको र बाउली खोलाले कटान शुरु गर्दा जोखिम बढेको हो । नदीको उचित व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग नगरपालिकाले पहल थालेको नगर प्रमुख पदम बडुवालले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ