arrow

नेकपाका मेयर तस्करीमाः भन्सार छलेर भित्र्याइएका तीन ट्रक राजस्वद्वारा बरामद

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
nimfunjo-sherpa.jpg

काठमाडौं । रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका तीन वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा, दिलीप गिरी र प्रेम लामाको अरनिको ग्रुपले रेडिमेड कपडा ल्याएका ट्रक बरामद भएका हुन् । 

ती ट्रकमा ठूला मानिसको पाइन्टलाई बच्चाको पाइन्ट घोषणा गरिएको फेलापरेको राजस्व अनुसन्धान स्रोतले बताएको छ । 

स्रोतका अनुसार भन्सार अधिकृतद्वय भूपेन्द्र कार्की र पोष्टराज बास्तोला तथा नासुहरु सुवास आचार्य र रामचन्द्र ढुंगानाले ती ट्रक चेकजाँच गरेका थिए । 

भन्सार प्रमुख पुण्यविक्रम खड्काले उनीहरुले गरेको चेकजाँच सदर गरेपछि काठमाडौंतर्फ आउने क्रममा ती ट्रक राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

निमफुन्जोको अरनिको ग्रुपले तातोपानीदेखि रसुवा भन्सारसम्म नै सेटिङ गरी न्यून बिजकीकरण गरी सामान आयात गर्दै आएको छ । 

रसुवा भन्सारबाट कारोबार सुरु भएदेखि नै उनले १८ लाख भन्सार तिर्नुपर्ने सामान २ लाखमात्र भन्सार तिरी आयात गर्दै आएका छन् । 

 राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले रसुवा भन्सारबाट आएका मालबाहक ३ कन्टेनर बरामद भएको र कति भन्सार छली भएको छ भन्नेबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए । उनले कन्टेनर बरामद भएको मिति र ठाउँ याद नभएको बताए । 

यद्यपि उनले कसैले दबाब नदिएको प्रष्टीकरण दिए । उनले भने, ‘बाहिर कसले के गरेको छ थाहा छैन, तर विभागमा कसैले दबाब दिएको थाहा छैन ।’

राजस्वले ट्रक बरामद गरेपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीलाई निमफुन्जोले चर्को दबाब दिइरहेको स्रोतले बताएको छ । ब्यापारी निमफुन्जोले नेकपाका नेताहरुमार्फत् पनि मैनालीलाई दबाब दिइरहेको स्रोतले बताएको छ । 

३ वटा ट्रकमा करिब १ करोड भन्सारछली भएको विभाग स्रोतले बताएको छ ।  १ करोड भन्सार छली देखिएमा राजस्व चुहावट ऐन लगाउँदा ३ करोड बुझाउनुपर्ने हुन्छ । भन्सारछलीका सामान राजस्वले बरामद भएमा राजस्ज चुहावट ऐन आकर्षित हुन्छ । 

निमफुन्जोका कन्टेनर चेक जाँच गर्ने भन्सार अधिकृत पोष्टराज बाँस्तोला केही महिनाअघि ६ लाख भन्सार छलीको केसमा पनि परेका थिए । रसुवा भन्सारबाट हुने आयातमा रेडिमेड कपडामा प्रति ट्रक २० हजार, निकासीमा १५ हजार र स्याउमा ३ हजार दस्तुरी भन्सार प्रमुख र अधिकृतको फन्डमा जम्मा हुने गरेको छ । 

जुन दस्तरी भन्सार अधिकृत बाँस्तोलाले नै महिना महिनामा काठमाडौंमा आएर वितरण गर्ने गरेको स्रोतले बताएको छ । (दृष्टि साप्ताहिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ