arrow

'वार्षिक दस करोडको फूल आयात हुनु लाजमर्दो'

logo
राजाराम कार्की,
प्रकाशित २०७२ चैत १९ शुक्रबार
Pushpa-mela1.jpg.jpeg
काठमाडौँ। झट्ट सोच्दा १० करोड रुपैयाँ केही होइन भनिएला ! तर कृषि प्रधानमुलुकले अझै १० करोड मूल्य बराबरको फूल आयात गर्छ भन्नुचाहिँ लाजमर्दो विषय हो।
 
दीपावली र प्रेमदिवस (भ्यालेन्टाइन डे) का दिन प्रायः फूलको अभाव हुने गर्छ। त्यसो त शीर्ष व्यक्तित्वको मरणमा काठमाडौँमा फूलको हाहाकार नभएको पनि होइन। यसअघि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा फूल चढाउन नपाउँदा मानिस दुःखी भएका थिए। र, त्यो समय काठमाडौँमा फूलको हाहाकार थियो।
 
स्वदेशी उत्पादनले नधानेपछि आयात हुनु स्वाभाविक हो। तर, निर्यातको प्रचुर सम्भावना भए पनि उत्पादन बढाउन सकिएन भन्छन् – कृषि सचिव उत्तमकुमार भट्टराई। यस्तै सकारात्मक सोचाइ राखेर काम गर्ने हो भने एक वर्षभित्र नेपाल फूलमा आत्मनिर्भर हुने फ्लोरीकल्चर एसोसिएसन नेपालका कार्यबाहक अध्यक्ष दिलीप बादेको भनाइ छ।
 
प्रत्येक नगरवासीले आ–आफ्नो घरमा अनिवार्य पाँच गमलामा तथा प्रत्येक नगरपालिकाले सम्भावना भएका सडकमा फूलखेती गर्ने हो भने अर्को साल नेपाल फूलमा आत्मनिर्भर हुन्छ।
 
“विदेशमा यो परम्परा छ। तर नेपालमा यस प्रकारको योजना लागु भएको छैन,” बादेले भने। यस्तै माइतीघर मण्डलादेखि कोटेश्वरसम्मको सडकबीचको जग्गामा व्यावसायिक फूलखेती गर्ने हो भने करोडौँ रुपैयाँको गुलाफ फुलाउन सकिने पुष्प व्यवसायी विश्वमणि पोखरेल बताउदछन्।
 
नेपालको भारतसँगको व्यापार घाटा झन्डै छ खर्ब छ। “कृषि उत्पादनमा आत्मनिर्भर हुने हो भने करिब ३३ प्रतिशत अर्थात् दुई अर्ब व्यापार घाटा कम गर्न सकिन्छ” भन्छन् कृषि मन्त्रालयका सहसचिव सुरज पोखरेल।
 
खेतबारीका आली, कान्ला तथा सामान्य खेर गइरहेको बाँझो जमिनमा सहजै फूलखेती गर्न सकिन्छ। यहाँ २०४९ सालपछि व्यावसायिक फूलखेती गर्न थालेको इतिहास छ। नेपालको पुरानो फूलखेती गोदावरीस्थित एभरग्रिन नर्सरी हो।
 
फूलखेतीले व्यावसायिकता हासिल गरेको करिब २३ वर्ष पुगेको छ। माग वार्षिक २० प्रतिशत छ। मुलुकमा फूलको माग बढ्दै गएअनुसार परनिर्भरता भने शून्यमा झर्न सकेको छैन। जन्म, मृत्यु तथा पूजापाठ गर्न पुष्प चाहिन्छ। तर सोही पुष्पसमेत नेपालीले आफ्ना लागि पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा आयातमा निर्भर हुनुपरेको व्यावसायिक तथा व्यापार आयोजना (प्याक्टका) आयोजना निर्देशक डा इन्द्रकान्त झा बताउदछन्।
 
फूलको आयात भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायतका मुलुकबाट भइरहेको छ। यस वर्ष गुलाफलगायत अन्य फूल गरी १० करोडको आयात भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव मीनबहादुर तामाङले जानकारी दिए।
 
बजारमा फूलको माग बढेको बढ्यै छ। आवश्यकताअनुसारको उत्पादन दिन सकिएको छैन। तामाङ भन्छन् – “नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायतका देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग दैनिक बढेको छ।”
 
“युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ,” सनराइज एग्रो टेक सेन्टरका मालिक विश्वमणि पोखरेलले भने।
 
सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ। बजार छ, उत्पादन छैन। झन्डै पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन्। एक सय ४० हेक्टरमा फूलको खेती भइरहेको छ।
 
वार्षिक एक अर्ब २७ करोड ७५ लाखको कारोबार हुने पुष्प व्यवसायबाट हाल ४० हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन्। अडतिस जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन्, तर पनि मागअनुसारको आपूर्ति हुन सकेको छैन।
 
प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति, २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ। सरकारले आव २०७१/७२ देखि पुष्प व्यवसाय प्रवद्र्धनका लागि एक करोड बजेट विनियोजनसमेत गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ