- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आपराधिक गतिविधिमा सक्रिय विदेशी नागरिकहरुबाट नेपाल असुरक्षित बन्दै गर्दा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको भूमिकाबारे चासो बढेको छ ।
पछिल्लो समय निरन्तर रुपले अन्तर्राष्ट्रिय आपराधिक गतिविधि बढिरहे पनि इन्टरपोलले भने सफलतापूर्वक आफ्नो काम गरिरहेको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख एवं नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले दावी गरेका छन् ।
हाम्राकुरासंगको विशेष कुराकानीमा उनले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा अपराधमा संलग्नहरुको तथ्याङ्क इन्टरपोलसंग रहेको र त्यसकै आधारमा उनीहरुलाई नियन्त्रण गर्न इन्टरपोल लागेको बताए ।
उनले नेपाल प्रहरीले अध्यागमन विभागसंग मिलेर अपराधमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको समेत बताएका छन् ।
सहप्रवक्ता जोशीले इन्टरपोलसंग भएको अपराधीहरुको तथ्याङ्क अध्यागमन विभागलाई पनि उपलब्ध गराइएकाले सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराधमा संलग्नहरु पक्राउ पर्ने क्रम जारी रहेको बताए ।
केही समयअघि प्रहरी महानिरीक्षक एवं नेपालका लागि इन्टरपोल प्रमुख सर्वेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरी पौडेलबीच सम्झौता भई गृह मन्त्रालयको स्वीकृतिमा इन्टरपोलको मुख्यालयमा त्यस्तो तथ्याङ्क पठाइएपछि इन्टरपोलले माइन्ड डिभाइस दिएको थियो ।
त्यो डिभाइस अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएकाले यदि कुनै अपराधीको जानकारी त्यो डाटावेशमा भए तत्काल पक्राउ पर्ने एसएसपी जोशीले बताए ।
उनले भने, ‘त्यस्तो व्यक्ति विमानस्थलमा भेटिए त्यहीं रोकेर कार्वाही हुन्छ ।’ त्यो डाटावेशमा पहिले अपराधीको सूचीमा नभएको व्यक्तिबारे जानकारी हुँदैन ।
दुई लाख बढी नेपालीको तथ्याङ्कसमेत त्यो डाटावेशमा रहेको एसएसपी जोशीले बताए । त्यो डाटावेशमा विशेषगरी विभिन्न ट्राभल डकुमेन्ट वा पासपोर्ट लिएर हराएर अर्काको नाम प्रयोग गरेर जानेहरुको जना समावेश भएको हो ।
एसएलकेडी (स्टोलन–चोरी भएको वा लस्ट –हराएको) भनी नयाँ पासपोर्ट बनाएकाहरु धेरै छन् । तिनीहरुको पनि रेकर्ड राखिएको उनले बताए । त्यसको डाटा माइन्ड डिभाइसमा राखिएको र त्यसकै आधारमा अध्यागमन विभागले कार्वाही गर्ने गरेको उनले जानकारी दिए ।
सहप्रवक्ता जोशीले उनले भने, ‘हाम्रो अध्यागमनसंग सहयोग र समन्वय छ । केही नयाँ अवसर खोज्नेहरु पनि छन् । तर तिनीहरु पनि पक्राउ परिरहेका छन् ।’
यो सफलता माइन्ड डिभाइस राखिएपछि बढी मिलेको उनको अनुभव छ । विमानस्थलबाटै पनि इन्टरपोललाई जानकारी गराएर इन्ट्री रिफ्युज (प्रवेशाज्ञा नदिने) गरेर त्यहींबाटै फर्काइएको घटना पनि रहेको जोशीले बताए ।
एसएसपी जोशीले माइन्ड डिभाइस फाइन्ड डिभाइसमा परिणत भएपछि अझ सशक्त हुने पनि बताए ।
पर्यटककै रुपमा नेपाल आउने र नेपालमा आपराधिक गतिविधि गर्नेहरु समेत हुन सक्ने भएकाले इन्टरपोलको डाटावेश विमानस्थलमा राखिँदा उसको पासपोर्ट चेकिङ भइसकेपछि नियन्त्रणमा लिर्न सकिने उनले बताए ।
खराव मनस्थितिका मानिसहरु भागेर यदि नेपालमा आएका छन् भने उनीहरुलाई सजिलै पक्राउ गर्न सकिने उनको दावी छ । अपराधमा संलग्नहरु निरन्तर समातिँदै गर्दा उनीहरु निरुत्साहित हुने आशा उनको छ ।
नेपाल प्रहरीको इन्टरपोल विश्वमै सबैभन्दा सक्रिय भनी चर्चित छ । तर नेपालमा त्यसको प्रभाव कम देखिएको हो कि भन्ने पनि अनुभूति गर्न सकिन्छ ।
यस सम्बन्ध सहप्रवक्ता जोशी स्पष्टै भन्छन्, ‘हामी हिडनमा सक्रिय भइरहेका हुन्छौं । अनुसन्धान गरिरहेका हुन्छौं । त्यसलाई देखाउन मिल्दैन । कतिपय देखाउन मिल्ने कसैले घर बनायो भने सबैले घर बनाएछ भनेर प्रगति देख्ने हो । हाम्रो प्रगति हिडनमा हुन्छ ।’
उनले लुकेर गरिएको अनुन्धानकै कारण अहिले निरन्तर रुपले अपराधीहरु पक्राउ परेको दावी गरेका छन् ।
के हो इन्टरपोल ?
अपराधी तथा अभियुक्त विश्वको जुनसुकै ठाउँमा पुगे पनि कानुनी कार्वाहीको दायरामा आउन सकुन् भनेर स्थापना भएको संस्था हो अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ।
अपराध नियन्त्रणमा विश्वका १९२ राष्ट्रका प्रहरीहरु यो संस्थामा जोडिएका छन् । फ्रान्सको लियोंमा मुख्यालय रहेको यस इन्टरपोलमार्फत कुनै ठाउँ वा देशमा अपराध गरेर अर्काे देशमा अपराधी भाग्यो भने सम्बन्धित देशले सहकार्य गर्दछ ।
आवश्यक ठाने इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई पक्राउ पुर्जी आदेश जारी गर्न सक्छ । प्रमाण चित्त नबुझे वा अपर्याप्त ठाने इन्टरपोल महासभाले आग्रह अस्वीकार पनि गर्न सक्दछ । इन्टरपोलबाटै रेड कर्नर नोटिस, डिफ्युजन नोटिस जारी हुन सक्छ ।
अनुसन्धानका क्रममा कुनै व्यक्ति देशभित्र नभेटिए त्यस्तो अवस्थामा मुद्धा दायर भएको निकायले त्यस देशको इन्टरपोलको समन्वयकारी निकाय नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मार्फत इन्टरपोललाई आग्रह गर्दछ । त्यो स्वीकृत भए सम्बन्धित देशले अभियुक्त गएको वा जान सक्ने देशलाई आवश्यक जानकारी उपलब्ध गराई नियन्त्रणमा लिन सघाउँछ ।
रेड कर्नर नोटिस भने अपराधी पक्राउ गर्नका लागि जारी गरिन्छ । रेड कर्नरमा कुख्यात अपराधीलाई मोष्ट वान्टेटका रुपमा पनि राख्न सकिन्छ ।