arrow

 करणीको घटना मिलाउन बसेको पञ्चायतमै झडप

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
Sonama_Gaunpalika.png

जलेश्वर । बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ ।     

सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।     
     
तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।     
     
 पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए । छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।     
     
प्रहरी कार्यालयमै निःशुल्क जाहेरी     
     
सेवाग्राहीलाई सुविधा पुग्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले आजदेखि प्रहरी कार्यालयमै निःशुल्क जाहेरी लेख्ने व्यवस्था मिलाएको छ ।     
     
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पीडितलाई यसअघि सामान्य घटनामा निवेदन लेखिदिएर आवश्यक सहयोग गर्दै आएकामा बिहीबारदेखि निःशुल्क जाहेरीसमेत लेख्न शुरु गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
     
प्रहरी कार्यालय बाहिर निवेदन र जाहेरी लेख्नेहरुले चर्को रकम असुल्ने गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदन र जाहेरी लेख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
     
जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाबाट न्यायका लागि जिल्ला प्रहरीसम्म आउने पीडित अधिकांश गरीब, विपन्न नै हुने गरेको र उनीहरु निवेदन र जाहेरी लेखाउनमै पनि चर्को मूल्य तिरेर ठगिनुपरेको थाहा पाएर अबदेखि प्रहरी कार्यालयमै जाहेरी लेखिदिने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । 

प्रहरी कार्यालयको यो व्यवस्थाबाट अब बाहिर चर्को र मनोमानी ढङ्गले निवेदन र जाहेरी लेखेवापत पैसा लिने गरेको समस्याबाट पीडितहरुले मुक्ति पाउने उहाँको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ