arrow

विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार

सर्लाही । सर्लाही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री महेन्द्र राय यादवले जनप्रतिनिधिलाई विकास निर्माणमा अझ जिम्मेवार बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

सर्लाहीको लालबन्दीबाट प्रशारण भइरहेको सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज सञ्चालन गरिरहेको संस्था सामुदायिक सञ्चार एकता सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै पूर्वमन्त्री यादवले सञ्चारमाध्यमले सही गलत औँल्याएर विकासमा सहयोग गर्नुपर्ने बताएका हुन् । 

स्थानीय तहदेखि केन्द्रसम्म नै हाल बेथिती बढिरहेको उल्लेख गर्दै यो समयमा सञ्चारमाध्यम अझ जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । यादवले पछिल्लो समय चुरेक्षेत्र अतिक्रमणबाट देखिएका खानेपानीको अभावलगायत अन्य समस्या समाधान गर्न चुरेको संरक्षणका लागि स्थानीयवासी र तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए । 

तराईलाई मरुभूमी हुनबाट जोगाउन पनि चुरे संरक्षणको विकल्प नरहेको यादवको भनाई छ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य समेत रहेका यादवले कुनै पनि हालतमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताए । 

उनले विमानस्थलका लागि चाहिने आवश्यक रुख मात्रै काटेर त्यहाँका सर्वसाधारण, स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए । 

साधारण सभाको उद्घाटन सत्रमा प्रदेश सभा सदस्य बेची लुङ्गेली, ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटा, हरिपुर नगरपालिकाका नगरप्रमुख जमरुद्दिन मन्सुर, मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साह, समाजसेवी सुशील थपलिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 

साधारण सभाको बन्द सत्रले पुनः बेनीबहादुर कार्कीको अध्यक्षतामा रेडियोको १३ सदस्यिय सञ्चालक समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा रेणुकान्त ढुङ्गाना, सचिवमा विनोदकुमार थापा, कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, सदस्यहरुमा कपिलमुनि मैनाली, बेचुप्रसाद तिमल्सिना, गोबिन्दबहादुर महत, मनोजकुमार सिंह, राधा घिमिरे, पवनकुमार साह, केशव ढुङ्गेल, नवीन चौधरी र माधव खरेल चयन भएका छन् । 

यस्तै तीन सदस्यीय लेखा समितिमा संयोजक विष्णु चालिसे, सदस्यमा रामबाबु मुखिया र मोहनबहादुर केसी चयन भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ