arrow

कांग्रेस सुदृढीकरण तथा सञ्चालनका लागि चौथो आयाम

logo
नवीनचन्द्र घिमिरे,
प्रकाशित २०७६ भदौ २२ आइतबार
nabin-chandra-ghimire.jpg

पृष्ठभूमिः गणित तथा विज्ञानले बस्तुका तीनवटा आयामहरु दृष्य र मूर्त हुन्छन् भनेको छ । यसैगरी चार वा तीनभन्दा बढी, धेरै र अनगन्ती आयामहरु हुन्छन् पनि भनेको छ । जसलाई मूर्त रूपमा देख्न र महसूस गर्न सकिँदैन भन्ने गणितीय र वैज्ञानिक सिद्धान्त छ । विज्ञान र गणितले अमूर्त स्वरूपमा स्वीकार गरिसकेको बहुआयामलाई अब नेपाली काँग्रेसले मूर्त अमूर्तरूपमा स्वीकार गरी अवलम्बन गर्नुपर्ने देखिन्छ । 

नेपाली काँग्रेसको राजनीतिक इतिहास हेर्दा यसले हालसम्म त्रिआयामिक पक्षबाट सङ्गठनलाई अगाडि बढाएको पाइन्छ । जसका कारण नेपाली काँग्रेस २००३ सालबाट आज पर्यन्त राजनीतिक, साङ्गठनिक, सैद्धान्तिक र वैचारिक धरातलमा अडिएर हिँडिरहेको छ अथवा भनौं दौडिरहेको छ ।  अब यी तीनवटा आयामको जगमा नयाँ अनि चौंथो आयाम खडा गरी मुलुकलाई समृद्दिको बाटोतर्फ अगाडि बढाउन पुनः राजनीतिक नेतृत्त्व लिन जरूरी छ । पाँच वर्षसम्मका लागि जनमत भने आफ्नो पोल्टामा नभएको परिस्थितिमा समयअनुसारका राजनीतिक घटना, प्राप्ति तथा उपलब्धिहरुको निर्मम समीक्षा गर्दै अगाडि बढ्नु जरूरी छ ।

पार्टी सुदृढीकरण तथा सञ्चालनका तीन जोड एक (चार) आयामहरु–
नेपाली काँग्रेसको हालसम्मको साङ्गठनिक तथा राजनैतिक क्रियाकलाप वा गतिविधिहरुलाई त्रिआयामिक कसीमा राखेर अनि तिनै आयामिक पक्षबाट राजनीतिक, आर्थिक र सामाजिक हिसावले प्राप्ति र उपलब्धि तथा क्षति र नोक्सानीका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ । जसअनुसार ती आयामहरुलाई क्रमशः यसरी खण्डीकरण गरिएको छ । जुन कुरालाई पार्टीको आन्तरिक पछिल्ला अभिलेखहरुस घोषणा पत्रस राजनीतिक मन्तव्यहरु अनि राजनीतिक वहसमा प्रयोग गर्दै आइएका पाइन्छन् । 

क,    पहिलोः इतिहासको स्मरण, आदर्श, सिद्धान्त र कार्यक्रमहरुको अनुशरण तथा अग्रज नेतृत्त्वको सम्मान 
ख,    दोस्रोः जनमानसको एकत्रकरण र उत्प्रेरणा 
ग,    तेस्रोः कार्यकर्ता परिचालन तथा नागरिक आन्दोलन
घ,    चौंथोः लोकतान्त्रिक समाजवाद अभियान 
त्यसो त यसमा भएका अन्तर्य तत्त्वहरु नयाँ त होइनन् यद्यपि नयाँ ढङ्गले खाका बनाइएको मात्रै हो । यो अभियान अंग्रेजी अक्षर पी बाट सुरु हुने गरी उत्पादन, सहभागीता र प्रवद्र्धनका तीन स्तम्भमा आधारित हुनेछन् । 

यो आयामलाई नयाँ आयामका रुपमा प्रयोग गर्न खोजिएको हो । यसले प्रत्यक्षतः नागरिकलाई उत्पादन र सेवासँग जोडी उनीहरुको समृद्दि र सहभागितालाई स्वीकार गर्दछ । अप्रत्यक्षरुपमा लोकतान्त्रिक समाजवादको आधार खडा गर्दछ जुन पार्टी संगठन र सुदृढीकरणको एक महत्त्वपूर्ण अङ्ग हुन जान्छ । 

जसले जननेता बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद उन्मुख सैद्धान्तिक कार्यक्रमको पुनर्व्याख्या र उक्त सैद्धान्तिक आधार माथिको पुनर्विचारलाई स्वीकार गर्दछ । 

चौंथो आयामभित्रका अवयवहरुः 

उत्पादन, सहभागिता र प्रबर्द्धनः लोकतान्त्रिक समाजवादका तीन प्रमुख आधारहरु हुन् । 

क उत्पादन– नागरिक तथा कार्यकर्तालाई समृद्द बनाई समाजवादतर्फ उन्मुख गराउने अवधारणामुखी कार्य । जुन वस्तु उत्पादनदेखि बजार हुँदै उपभोक्तासम्म पुग्छ र प्राप्त भएको पूँजीलाई उपभोक्तादेखि उत्पादक र उत्पादनसँग जोडिएका व्यक्तिको गोजीसम्म पुर्याउने माध्यम बन्छ ।

ख, सहभागिता – नागरिक तथा कार्यकर्तालाई राजनीतिक तथा सामाजिक गतिविधिमा अर्थपूर्ण र व्यापक किसिमको सहभागितामूलक कार्य । जसले नागरिक र कार्यकर्ताको भावनाको सुनुवाई, सम्मान र कदर सहितको सहभागितामूलक र समावेशितामूलक अभ्यासलाई अङ्गीकार गरी सहभागितामूलक र समावेशीकरण लोकतन्त्रलाई टेवा पुर्याउन मद्दत गर्नेछ । 

ग, प्रबर्द्धन – राज्य, नागरिक तथा कार्यकर्ताको लगानी, सहभागिता र समावेशितामा आधारित प्रबर्द्धनात्मक कार्य । अधिकांश विश्व परिवेश अधिकारमुखी अवधारणामा अगाडि बढिरहेको सन्दर्भमा यस कल्याणकारी अवधारणालाई पनि सँगसँगै लैजानु पर्ने आवश्यकता छ । मुलुक र पार्टी एकातर्फ परिस्कृत लोकतान्त्रिक अभ्यासको दौडमा छ भने अर्कोतर्फ समाजवादी सिद्धान्त र कार्यक्रमको मार्गदिशामा अगाडि बढिरहेको छ । लोकतान्त्रिक समाजवादी राज्य स्थापनार्थ अधिकारमुखी अवधारणालाई सबल बनाउन आंशिक रुपमा भए पनि कल्याणकारी अवधारणा अन्तर्गतका वितरणमुखी या संवोधनमुखी कार्य गर्न जरूरी छ । जसले पूँजी उत्पादनमा खासै योगदान त पुर्याउँदैन तर सीमान्तकृत, सेवा वा सुविधा विमुख नागरिक र कार्यकर्तालाई सामाजिक सुरक्षारसंरक्षण कार्यक्रमका माध्यमबाट संवोधन गरिन्छ र उनीहरुको आत्मसम्मानलाई सम्मान गर्ने प्रयास मात्रै हो ।
 

के हो त पार्टी सुदृढीकरण तथा सञ्चालनको चौथो आयाम ?
यो लोकतान्त्रिक समाजवाद अभियान नामक चौंथो आयामको मूर्तरूप मुलुकका हरेक बस्तीहरुमा समृद्दि र लोकतन्त्रलाई सुदृढ गराउने अभियान हो भने यसको अमूर्तरूप लोकतान्त्रिक समाजवाद स्थापनार्थ गरिने पार्टी सुदृढीकरणको विराट, दीर्घकालीन र निरन्तर अभियान हो । 

यस आयामिक अभियानले नागरिक तथा कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने काम गर्छ जुन समाजवाद लक्षित छ भने राजनीतिकरसामाजिक गतिविधिमा नागरिक र कार्यकर्ताको सहभागिताको अर्को सुन्दर पक्ष छ जुन लोकतन्त्रको मूलभूत आधार हो र सामाजिक सुरक्षा तथा संरक्षणका विषयलाई प्रबर्द्धन गर्ने कार्य गर्छ जुन कल्याणकारी अवधारणामा आधारित छ । 

यस पूर्व सञ्चालन गरिएको राजनीतिक आन्दोलन, सत्ता सञ्चालनका पक्षहरु, गाउँ जागरण अभियान लगायतका अभियानहरुको निरपेक्ष र निर्मम समीक्षा गर्दै अबको पाँच वर्षमा ‘गाउँगाउँमा काँग्रेस, घरघरमा काँग्रेस, जनजनमा काँग्रेस, मनमनमा काँग्रेस’ पुर्याउनका लागि विशेष कार्यक्रम सहितका अभियानहरु सञ्चालन गर्नुपर्छ । 

राजनीतिको अन्तिम र मूल ध्येय भनेको मुलुकमा पार्टीगत नीति र विचारलाई लागू गर्न अनि नागरिक समृद्दि र सुखलाई संवोधन गर्नका लागि गरिने सत्तारोहण नै हो । 

हाल नेपाली काँग्रेसको साङ्गठनिक धरातल कमजोर हुँदै गएको विश्लेषण गरिएको छ । यद्यपि पूर्व परिभाषित तीनवटा आयामिक पक्षहरुले नेपाली काँग्रेसको राजीतिक कर्मलाई विराट क्षितिज र फराकिलो धरातल दिएको छ । अब तिनै क्षितिजमा विचरण गर्दै र फराकिलो धरातलमा चहार्दै फलदायी राजनीतिक कर्मका माध्यमबाट नागरिक, कार्यकर्ता र संगठन बीचको सम्बन्धलाई पुनर्जागृत गर्दै मुलुकको राजनीतिक नेतृत्त्व लिन सकिन्छ । गौरवशाली इतिहासको आधार भूमिमा टेकेर धुमिलिएको वर्तमानलाई सङ्ग्ल्याउँदै मुलुकलाई अब उज्यालो भविष्यतर्फ डोर्याउनुपर्ने देखिन्छ । पार्टीसँग पार्टी अनुभवी र ऊर्जाशील भातृ तथा शुभेच्छुक संस्थाहरु क्रियाशील छन् । यद्यपि वर्तमान परिस्थितिमा तिनीहरुको पर्याप्त, सहज र सरल ढङ्गले परिचालन हुन सकिरहेको अवस्था छैन ।

चौथो आयाम सञ्चालनका लागि केही  अभियानामूलक कार्यक्रमहरू–
लोकतान्त्रिक समाजवादको वैचारिक तथा सैद्धान्तिक धरातलमा उभिँदै चौंथो आयामलाई सम्वोधन गर्न सञ्चालन गर्नुपर्ने केही प्रस्तावित अभियानामूलक कार्यक्रमका क्षेत्रहरु निम्नानुसार हुन सक्छन्,

क,    राजनीतिक, साङ्गठनिक र नागरिक पहुँचका कार्यक्रमहरु
ख,    उत्पादन, क्षमता तथा सशक्तिकरण सम्बन्धी कार्यक्रमहरु
ग,    नागरिक सुरक्षा, जीवनरक्षा, आत्मसम्मान प्रबर्द्धानात्मक कार्यक्रमहरु
घ,    सीमान्तकृत नागरिक समूहको सशक्तिकरण, संरक्षण तथा सहभागिता मूलक कार्यक्रमहरु 
ङ,    पूर्वाधार, वातावरण तथा ऊर्जा प्रबर्द्धन सम्बन्धी कार्यक्रमहरु
च,    आविष्कार, विज्ञान तथा सूचना प्रविधि प्रबर्द्धनात्मक कार्यक्रमहरु
छ,    लोकतन्त्र, समाजवाद र गणतन्त्रका आधारभूत सैद्धान्तिक प्रबर्द्धनात्मक कार्यक्रमहरु
ज,    आन्तरिक नीति,  सैद्धान्तिक कार्यक्रम तथा वैचारिक पक्ष प्रवाह सम्बन्धी कार्यक्रमहरु
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ