arrow

डेंगु नियन्त्रणमा सरकार असफल, मन्त्री खनालदेखि डा सन्दुक रुइतसम्म पीडित

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
dengue-mosquito.jpeg

काठमाडौँ । देशभर हजारौं मानिस डुंगु संक्रमणमा परे पनि सरकारले उचित कदम चाल्न सकेको छैन । रोगीको तथ्यांक लुकाएर सरकारले डेंगु नियन्त्रणमा आइरहेको दावी गर्दै आएको छ । 

तर कृषिमन्त्री चक्रपाणि खनाल डेंगुबाट ग्रस्त भएका छन् । त्यसैगरी चिकित्सकहरु पनि यसबाट अछुतो हुन सकेका छैनन् ।  नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत पनि डुंगु लागेर अस्पतालमा भर्ना भएका छन् । 

उनीमात्र होइन उनीसहित उनको परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ । अहिलेसम्म एक दर्जन चिकित्सकले डेंगुको उपचार गराइरहेका छन् । 

चिकित्सकहरुका अनुसार सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाएर बस्ने र सरसफाइमा विशेष ध्यान दिन जरुरी रहेको सूचना प्रवाह भइरहेका छन् । 

तर चिकित्सकहरु नै संक्रमित भएपछि त्रास भने बढेको छ । 

सकेसम्म लामखुट्टे बस्ने स्थान हटाउने गर्नुपर्नेमा जोड दिइएको छ । पानी परिरहँदा खाल्डाखुल्डीमा लामखुट्टेको बासस्थान फराकिलो हुने भएकाले त्यस्ता स्थान मास्न पनि आग्रह गरिएको छ । संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई पनि टोक्यो भने डेंगु सर्छ । तसर्थ पनि चिकित्सकहरुलाई खतरा बढेको हो । 

डेंगुबाट हालसम्म चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर उपचार र नियन्त्रण प्रक्रियामा भने स्थानीय सरकार सक्रिय भएका छैनन् । 

जनदबाबका कारण केही स्थानीय सरकारले अरुलाई देखाउनका लागि धूवाँ उडाउने (फगिङ) को प्रयोग गरिरहेका छन् । तर यही फगिङकै प्रयोग नै स्वास्थ्यका लागि खतरा औंल्याइँदैछ । 

लामखुट्टे, त्यसको फुल र लार्भा खोजेर नष्ट गर्ने काम यदि प्रभावकारी तरिकाले नगर्ने हो भने हजारौंको बिरामी गणना गरिएका पीडितको संख्या लाखमा पुग्न बेर लाग्नेछैन । 

सरकारी अस्पतालमा गएका विरामीको मात्र गणना भइरहँदा निजी अस्पतालमा उपचार गराइरहेका कति डेंगु पीडितको हिसाबसमेत भएको पाइँदैन । 

सर्वसाधारण बिरामी हुँदा सरकारले वास्ता गरेन भन्न सकिएला तर केन्द्र सरकारकै मन्त्री समेत डेंगुबाट थलिँदा समेत केपी शर्मा ओली नेतृत्वको सरकार विभिन्न भाषणबाजीमै अल्झिनुलाई भने सामान्य मान्न नसकिने विज्ञहरु बताउँछन् । 

डेंगु परीक्षणका लागि किटको समेत अभाव भइरहँदा रोग पहिचानमै समस्या भएको छ । देशका ४८ जिल्ला अहिले डेंगुको मारमा छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ