arrow

चितवन मेडिकल कलेजको अबैध असुली र रहस्यमयी मौनता

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७६ भदौ २६ बिहिबार
ramesh-bastokoti.jpg

चितवन। चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्ने बिद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै गरेको आन्दोलनबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्र बिक्रम चन्दका छोरा प्रकाश चन्द सहित १५ जना बिहीवार पक्राउ परेपछी केही हदसम्म भए पनि चितवन मेडिकल कलेजले गरिरहेको अनियमितताबारे ध्यानाकर्षण भयो। यसअघि पनि त्यहाँ अध्ययनरत बिद्यार्थीहरुले पटक पटक विभिन्न स्वरुपमा आन्दोलन गरे पनि यसबारे न कसैले सुन्यो, न त यसबारे कसैको ध्यानाकर्षण भयो। बिद्यार्थी र अभिभावक भित्र भित्रै पिल्सनु र आफ्नै आँखा अगाडि भैइरहेको अनियमितताको साक्षी बन्नु बाहेक कुनै बिकल्प रहेन। जब प्रकाश चन्द पक्राउ परे अनि धेर थोर भएपनी यसप्रति मानिसहरुको चासो गयो। भलै प्रकाश सहित सबै रिहा भैसकेका छन् ।

यो बर्षको बिद्यार्थी भर्नाको शुरुवात देखिनै यो पंक्तिकार पनि चितवन मेडिकल कलेजले गरिरहेको अनियमिताबारे साक्षी छ। एक जना विद्यार्थीले सरकारले तोकेको दर अनुसार शुल्क बुझाएर जब एड्मिसन लगायत अन्य आबश्यक प्रकृयाका लागि कलेज गयो तब उसँग थप १२ लाख ५० हजार रुपियाँ माग गरियो। र तत्काल ६ लाख २५ हजार बुझाउन भनियो। संयोगले ती बिद्यार्थि पक्तिकारको नजिकको चिनजानको मान्छे भएका कारण के भएको रहेछ भनेर बुझ्न उनका अभिभाबकसँगै कलेज पुगेको थियो। त्यतिबेला कलेजका प्रशासन प्रमुख अरुण कोईरालाले भनेका थिए ' सरकारले तोकेको रेटमा हामी पढाउन सक्दैनौ, एक्स्ट्रा चार्ज नलिकन हाम्रो लगानी नै उठ्दैन।

'उनले पक्तिकारकै अघि ती अभिभावकसँग प्रस्ट भनेका थिए, ' थप रकम अर्थात ६ लाख ५० हजार नबुझाई हामी बिद्यार्थी पढाउन सक्दैनौ। यो मेडिकल कलेज एशोशियशनको पनि निर्णय हो।' उनले अझै भनेका थिए , ' तपाईं जहाँ गए पनि केही हुनेवाला छैन, यो हाम्रो नियम नै हो ।' उनले पछि लिने भनिएको एक्स्ट्रा रकमको रसिद भने कुनै हालतमा दिन नसकिने बताएका थिए।'  उनले त्यसो भनिसके पछि मैले आफ्नो परिचय दिँदा आफ्नो बाध्यतालाई बुझिदिन उनले आग्रह गरे।

पछि केही अभिभावकहरुले जिल्ला प्रशासन कार्यालयमा यसबारे उजुरी पनि दिएका थिए। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन मेडिकल कलेजलाई सरकारले तोकेभन्दा बढि शुल्क नलिन भन्दै पत्रनै लेखेर निर्देशन समेत दिए। तर सिडिओको त्यो आदेशलाई कलेजले पुर्णतः बेवास्ता गर्यो। अझ भनौ टेरपुच्छर लाएन। सिडिओले पनि मैले पत्र लेखिदिएको छु भनेर आलटाल गर्दै अभिभावकलाई पन्छाउने काम मात्र गरे। उनले गैरकानुनी असुली गर्नेलाई कारबाही गर्ने त के छुन समेत सकेनन्। यो सबै कुराको साक्षी यो पंक्तिकार थियो।

त्यस पछि पनि बिद्यार्थी र अभिभावकहरुले बिभिन्न निकाय र जनप्रतिनिधिहरुसँग समेत हारगुहार गरे तर पैसाको शक्तिले उन्मत्त चितवन मेडिकल कलेज र यसका अध्यक्ष एबम् प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपानेले कोहि कसैलाई टेरेनन्। अझ प्रस्ट भन्नू पर्दा उनिहरुले 'सेटिङ' गरेर यो म्याटरलाई क्लोज गरिदिए।

अहिले फेरि बिद्यार्थीहरुले यो मुद्दाको उठान गरेका छन्। बढी शुल्क लिन पाइदैन, सरकारले तोकेको शुल्क लेउ, निमुखा, सोझा र गरिब र मध्यमबर्गिय नागरिक माथी शोषण नगर, अनेक बहानामा शुल्क उठाउन पाईदैन भन्दै शान्तिपुर्ण आन्दोलन भएको छ। तर डाक्टरी पढ्ने बिद्यार्थी माथी प्रहरीले लाठि चार्ज गर्दै पक्राउ गरेर थुनेको छ। के यो बिद्यार्थी र अभिभावक माथी अन्याय होइन ? यो लोकतन्त्र हो कि लुट्तन्त्र हो ? जहाँ राज्यनै सहायक भएर खुलम खुला लुट्न छुट दिईरहेको छ, यसको जबाफ प्रशासनले दिन पर्छकी पर्दैन? सबैभन्दा गजब र अचम्मको कुरा त के छ भने जब आफ्ना हक हित र अधिकारका लागि विद्यार्थीहरु आन्दोलन गर्दै गर्दा प्रहरीको कुटाई खाँदै हिरासतसम्म पुगे त्योबेला आफुलाई बिद्यार्थीहरुको मसिहा सम्झने विद्यार्थी संगठनहरु मौन थिए। कुनै पनि विद्यार्थी संगठन चुक्क समेत बोलेनन्।आन्दोलनको नेतृत्व जस्ले सुकै गरेको होस् त्यहाँ बिशुद्द शैक्षिक माग थियो भन्ने कुरा आफुलाई विद्यार्थी संगठनको नेता हुँ भन्नेको दिमागमा घुसेन। पैसा, पावर र प्रभाबको अघि सबै नैतिकता बिक्री भयो। विद्यार्थी संघठनहरुले यसको जबाफ दिन पर्छकी पर्दैन ? 

केही विद्यार्थी नेताले तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेर भद्दा अभिनय गरेपनी त्यसलाई लाज जोगाउन गरिएको अभिनय भन्दा अरु केही मान्न सकिन्न। विद्यार्थी भर्नाको शुरूवात देखिनै देखिएको यो समस्या वारे सबै विद्यार्थी संघठनलाई राम्रोसँग थाहा छ, तर उनिहरुले यो बारेमा चुक्कसम्म नबोल्नु अत्यन्तै लाजमर्दो कुरा हो। यो समग्र विद्यार्थी आन्दोलन र अहिलेसम्म प्राप्त गरेको उपलब्धिकै धज्जी उडाउने काम हो। धेरै पैसा तिर्न बाध्य र आफुहरुको कुरा सुनुवाई नहुँदा निराश भएका विद्यार्थीहरुले सबै विद्यार्थी संगठन पनि पैसामा बिक्री भए भनेर भन्न थालेका छन्, के त्यस्तै हो ?

यदि यो हो भने ठूलो दुर्भाग्य हो। विद्यार्थी आन्दोलन कै बदनाम हो । त्यस्तो नहोस् भन्ने कामना गरौ बाँकी कुरा संगठनहरुले दिने रिजल्टमा भर पर्छ। अर्कोतर्फ जिल्लाका राजनितिक दलहरुले समेत यो बिसयमा चुक्क बोलेका छैनन्। यहाँबाट निर्बाचित जनप्रतिनिधिहरु समेत मौन छन्। जताततै यो बिषयमा सबै मौन मात्र देखिन्छन्। सरकारी निकाय, अनुगमन गर्ने संयन्त्र सबै मौन छन् । यस्तो किन भएको होला ? यसको सफा र सिधा उत्तर छ, पैसा, पावर र प्रभाब।

चितवन मेडिकल कलेजका अध्यक्ष एबम् प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपानेको पहुँच सिधा माथिसम्म छ, यो सबैलाई थाहा भएकै कुरा हो। उनले पैसाको बलमा आफ्नो प्रभाव यसरी बिस्तार गरेका छन् कि उनको बिरुद्द्मा कोहि चुक्क बोल्न सक्दैन। उनको कलेजले शक्तिकै आडमा कतिपय गैरकानुनी कामलाई समेत बैध बनाईदिन्छ।

अहिले कलेजले गरेको अबैध असुली यसैको एउटा ज्वलन्त उदाहरण हो। अबैध हो भन्ने सबैलाई थाहा छ तर कोहि बोल्न सक्दैन कारण न्यौपानेको पहुँच नै हो। राजनितिक दललाई चन्दा पाइदैन भन्ने डर, सरकारी सेवकलाई सरुवा, घटुवा र दुर्गमको डर। यो केही उदाहरण मात्र हो जे होस् न्यौपाने र चितवन मेडिकल कलेजले सबैको चित्त बुझाएकै छन्। त्यसकारण पनि सोझा साझा विद्यार्थी र अभिभावकहरुको आवाज सुनिएको छैन। प्रहरी लगाएर उनिहरुको आवाजलाई दबाउने कोसिस गरिएको छ।

चितवन मेडिकल ककेजको अबैध असुलिको बारेमा कोहि पनि नबोल्नु र मौन रहनु आफैमा रहस्यमयी कुरा हो। यो सबै लोभ, लालच र त्रासको कारण भएको हो भन्ने कुरामा दुई मत छैन। केही बुज्रुकहरुलाई यस बारेमा भन्दा अन्त कलेजले नि लिएका छन् रे हामी मात्र किन बोल्नु भनेर पन्छिन खोज्छन्, ती बुज्रुकलाई मेरो भन्नू के छ भने चितवन छुट्टै पहिचान बोकेको जिल्ला हो, ठुला ठुला परिबर्तनका कुरा र कन्ट्रोभर्सीका कुरा पनि यहि भएका छन्। त्यसकारण यस्तो अबैध असुलि र गैरकानुनी हर्कतका बारेमा पनि यहिबाट आवाज बुलन्द पार्नु पर्ने होईन र ? कति दिन लोभ, लालच र त्रास बस्ने ?

चितवन मेडिकल कलेजले शुल्क बढी भयो भनेर निर्दोष विद्यार्थीलाई कुट्दै थुनाएकै दिन अर्को एउटा परोपकारी काम गर्यौ भन्दै खुब प्रचार गरेको छ। त्यो के हो भने डेङु परिक्षणका लागि उसले १ हजार कीट निशुल्क उपलब्ध गराएको भनेर। नागरिकलाई यसले केही मात्रामा राहत त देला तर यस्तै सामाजिक कार्यको ढोङ देखाएर भैरहेको करोडौं लुटको बारेमा कस्ले बोलिदिने ? किन सबै मौन ? अब बोल्ने बेला भएन र ? अन्त्यमा, एक जना सामजिक अभियन्ता प्रेम रिमालले फेसबुकमा गरेको पोस्ट जसले मेरो मन छोयो त्यसलाई यहाँ पनि शेयर गर्न चाहन्छु।

करौडौंको ठगी दुईचार सय डेङ्गे परीक्षणका कीट सित्तीमा दिएपछि माफ हुने हो ? सरकार म घोषणा गर्छु मेडिकल कलेजले गरेको लूट नियन्त्रण गर्ने हिम्मत गर म पाँच हजार डेङ्गे परीक्षणको कीट जुटाइदिन्छु। हजारौं अभिभावकहरूलाई लुटेर केही विरामीको रगत जचाइदिन्छु भन्नेलाई धन्यवाद हो भने कुरा प्रष्ट छ ठगहरूको पहुँच धेरै माथि छ।

हामी सामान्य स्कुल चलाएर बसेका मान्छेहरू नर्सलाई सरकारी तलव भनेर विज्ञापन गर्छौं तर आफै अठार बीस लाख हसुर्ने अनि नर्सलाई छ महिना सित्तिमा काम लगाउने, त्यसपछि दशआठ हजार हातमा हाल्दिने। के यो भ्रष्टाचार होइन ? मेडिकल अफिसर (जोसँग अहिले ६०र७० लाख लिने गरेका छन् पढाउन) लाई १८-२० हजार दिएर लदाइरहेका छन्।

जेल जान तयार हुनुपर्छ, पछि हट्ने होइन। यस्तो ब्रम्हलूटका विरूद्धमा सबै एकजुट हुनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ