arrow

यसकारण शिक्षक सेवा अनुमति पत्रको परीक्षा केन्द्र दार्चुलामै राख 

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ असोज २ बिहिबार

दार्चुला । शिक्षक सेवा आयोगले लिने शिक्षक सेवा अनुमति पत्रको परीक्षा केन्द्र दार्चुलामै राख्न नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले शिक्षक सेवा आयोगको कार्यालय मार्फत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई ज्ञापनपत्र बुझाएका छन् । 

अध्यापन अनुमति पत्रको परीक्षाका लागि दार्चुलाको परीक्षा केन्द्र बैतडी तोकिएको छ । शिक्षक सेवा आयोगले यहि असोज ९, १० र ११ गते हुने अध्यापन अनुमति पत्रको परीक्षाका दार्चुला र बैतडीको केन्द्र बैतडी तोकेको छ । 

शिक्षक सेवा आयोगद्धारा असार २ गते खोलेको शिक्षक स्थायी अध्यापन अनुमति पत्रको परीक्षाका लागि बैतडी जानुपर्ने बाध्यता रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका दुई जिल्ला दार्चुला र डडेल्धुराको केन्द्र अन्यत्रै जिल्ला तोकिएको छ । 

यसका लागि दार्चुलाका परीक्षार्थीले बैतडी र डडेल्धुराका परीक्षार्थीहरुले डोटी जानु पर्ने बाध्यता रहेको छ । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुको परीक्षा केन्द्र सोही जिल्लामै तोकेको आयोगले दार्चुला र डडेल्धुराको केन्द्र छिमेकी जिल्लाहरुमा तोकेको छ । 

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्लाको रुपमा रहेको दार्चुला जिल्लाका परीक्षार्थीहरुले परीक्षाका लागि बैतडी जानुपर्ने बाध्यता रहेको भन्दै बुधबार ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू र नेविसंघ क्याम्पस इकाइ सभापतिले बताएका छन् । साथै उनीहरुले दार्चुला र बैतडीको परीक्षा केन्द्र बैतडी जिल्लाको सदरमुकाममा विना कुनै कुनै आधार हचुवाको भरमा तोकिएकोमा असन्तुष्टि जनाएका छन् ।

यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले लिने स्नातक तह प्रथम वर्षको सेमेस्टर परीक्षा पनि सोही अवधिमै हुने भएकाले विद्यार्थीहरुले एउटा ठाउँको परीक्षा छोड्नु पर्ने बाध्यता भएकोले निजहरुमा पर्ने गम्भिर समस्यालाई सरकार र सम्बन्धित निकायले वेवास्ता गरेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विगतका वर्षहरुमा अध्यापन अनुमति पत्रको परीक्षाको लागि दार्चुलामै केन्द्र तोकिने गरेकोमा यस वर्ष आयोगले बैतडी जिल्ला कायम गरेको भन्दै दार्चुलाका परीक्षार्थीलाई खान बस्न असहज हुने देखिन्छ । 

दार्चुलाका अधिकांश परीक्षार्थीहरुले भौगोलिक विकटताका कारण पनि परीक्षामा सहभागी हुनबाट समेत बन्चित हुने अवस्था रहेको भन्दै सम्बन्धित निकायले परीक्षार्थीको माग सम्बोधन गर्नुपर्ने ज्ञापनमा भनिएको छ । 

“यदि सम्बन्धित निकायले यस मागको तत्काल संबोधन नगरी बेवास्ता गरेमा दार्चुला जिल्लाका सम्पूर्ण परीक्षार्थीले आवश्यक कडा कदम चाल्ने व्यहोरा पनि यसै ज्ञापनपत्र मार्फत सबै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौ ।” नेविसंघ क्याम्पस इकाइ सभापति सुरेन्द्र सिह धामी र अनेरा स्ववियू अध्यक्ष दिपक भट्टद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ । 

यसअघि पनि दार्चुला जिल्लाको परीक्षा केन्द्र दार्चुलामै निर्धारण गरिनुपर्ने माग सहित प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले भाद्र २६ गते सदनमा कुरा उठाउदै यस विषयमा शिक्षामन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ