arrow

डेङ्गुको महामारी भन्दै भ्रममा नपर्न चिकित्सकको आग्रह

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
dengue-mosquito.jpg

काठमाडौं । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गुनै हो भन्ने यकिन नभइसकेको बताए ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए । उनले भने,‘डेङ्गु नियन्त्रणका लागि तीनै तहको सरकारले आवश्यक कदम चालिसकेको छ । लामखुट्टेको प्रजातिबाट सर्ने रोग भएकाले त्यस्ता लामखुट्टे बन्न नदिने उपायबारे व्यापक जनचेतना चलाइएको छ ।’

रोग फैलाउने लामखुट्टे नियन्त्रणको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउनुपर्ने बताउँदै उनले त्यसमा आम जनसमुदायको साथ हुनुपर्ने बताए । उनले भने, ‘रोग नियन्त्रण सरकारबाट मात्र सम्भव छैन, सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ डेंगु रोगविरुद्ध सिंगो देश एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौंलगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए । उनले भने,‘यो महामारी होईन, धेरै नेपालीका लागि नयाँ भएकाले त्रास उत्पन्न भएको हो ।’ डेङ्गु रोगको पहिचान गरी समयमै उपचारमा लाग्न सकिने बताउँदै उनले यो रोग निको हुने खालको भएको र एक अर्कालाई नसर्ने स्पष्ट पारे । उनले भने, ‘यो सरुवा रोग होइन ।’

डा. बास्तोलाले डेङ्गुले टोकेको चारदेखि दश दिनमा लक्षण देखापर्ने, १० हजार जनालाई टोकेमा १ हजारमा डेङ्गु हुने र सातदेखि दश दिनसम्म यसका लक्षण शरिरमा रहने, १ हजारमा पनि ५ सयलाई फ्लु हुने, ५ सयलाई डेङ्गु हुने जानकारी दिए ।  उनले अस्पतालमा डेङ्गु रोगीमात्र नभएर स्क्रब–टाइफसका रोगी देखिएको बताए । उनले डेङ्गु रोगका कारण बिरामीमा रक्तश्राव हुने तथा जटिल लक्षण देखा परेकोलाई मात्र अस्पताल भर्ना गर्ने गरेको सुनाए ।

उनले भने,‘डेङ्गु रोगका कारण मानिसको मृत्यु भइहाल्ने होइन ।’ रोग लागेपछि झोल पदार्थ र सिटामोल खान भन्दै जुन पायो त्यो औषधीको प्रयोग नगर्न पनि उनले सुझाव दिए । यो रोग लाग्दा शरीरमा सेतो रक्तकोषिकाको मात्रा घट्दै जाने, खान मन नलाग्ने, अत्यन्त पीडा हुने र अन्तमा रक्तश्राव हुने लक्षण देखापर्ने पनि उनले जानकारी दिए ।

उनले विरामीको कलेजो, मृगौलामा समस्या देखा परेमा आइसियूमा राखेर उपचार गर्ने गरेको जानकारी गराए । डेङ्गु रोगका कारण मिडियाले भ्रम फैलाएको हुँदा सामान्य विरामीहरु पनि डेङ्गुको डरले अस्पताल जाने गरेको उनको भनाई छ । सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ डा.जीवनबहादुर शेरचनले पोथी लामखुट्टेले लीड गर्ने क्रममा मानिसलाई टोक्यो भने डेङ्गु रोग लाग्ने बताए ।

डेङ्गु रोग पोथी लामखुट्टेले टोक्यो र त्यो लामखुट्टे रोगी भएमात्र मानिसमा यो भाइरल सर्ने हुँदा यसमा धेरै नआत्तिन पनि उनले आग्रह गरे । लामखुट्टेले  जापानीज इन्सेफेलाइटिस, स्क्रब टाइफस जस्ता रोग सार्ने गरेको उनले सुनाए ।  हालसम्म पाँच किसिमका लामखुट्टेका कारण डेङ्गु रोग लाग्न सक्ने अनुसन्धानबाट पत्ता लागेको उनले जानकारी दिए । नेपालमा डेङ्गु–२ को संक्रमण रहेको र यसलाई पचाउन नसकेमा डेङ्गु–३ लाग्ने उनको भनाई थियो ।

डेङ्गु जो कोहीलाई नहुने र रोगसँग लड्ने क्षमता कमजोर भएका मानिसहरुमा यो रोग बढी देखिने गरेको उनले जानकारी गराए । नेपालमा हालसम्म डेङ्गुका कारण आठ जनाको मृत्यु भएको खबर आएपनि डेङ्गुकै कारण विरामीको मृत्यु भएको भन्ने यकिन नभएको जिकिर गरे । उनले भने,‘डेङ्गुका कारण हो या अन्य कारणले भएको हो अध्ययन भइरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ