arrow

ओमविक्रम विष्टलाई  ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’, कसले के के जिते 

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
image-award-rss.jpg

काठमाडौं ।  ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई सम्मान गरिएको छ ।

इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तर रुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगतको महाउत्सव अन्तर्गत उक्त विधामा नेपाली पप दुनियाँका बादशाह विष्टलाई सम्मान गरिएको हो ।  

शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा हाल उपचारका क्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरे ।

अमेरिकाबाट भिडियो सन्देश पठाउँदै वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताए । 

इमेज अवार्डको २१औं संस्करणमा को को बने विजेता ? 

यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् ।

महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो । त्यसैगरी वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् ।

‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो । त्यसैगरी, आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात पार्यो ।

सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।

‘गलबन्दी च्यातियो......’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए ।

सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो । यस्तै, उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल।।।’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा।।।’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो ।

त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर........’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन......’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए । त्यसैगरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड।।।’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए ।

यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो । सर्वोत्कृष्ट चलचित्र गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’ चलचित्रको ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त गर्यो ।

त्यसैगरी, चलचित्र ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे ।

‘जात्रै जात्रा’ चलचित्रका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र निर्देशको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट चलचित्र बन्न सफल भयो ।

२०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरुमध्येबाट २२ ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ