- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
प्रधानमन्त्री केपी शर्मा ओली जव बोल्छन त्यसबेला उनका मुखबाट वाण नै निस्कन्छ भन्ने आम बुझाइ हो । त्यसैपनि ओलीको बोलीलाई गोली भनी प्रयोग हुनेगरेको छ संचार माध्यमहरुमा ।
यो पटक सरकारले विगतको भन्दा फरक, घरघरमा झण्डा फहराउन उर्दी जारी गरेर र समारोहमा जानेलाइ टी–शर्ट बाँडेर मनाइरहँदा ओलीका बोलीको गोलीका शिकारमा परे देशका युवा जमात ।
यतिधेरै खुशियालीको समारोहमा सम्वोधन गर्दा कुनै वर्गमाथि प्रधानमन्त्रीबाट यस्तो वचन–बाणको प्रहार होला भनी ठानिएको थिएन । किनभने यो एउटा राष्ट्रिय पर्व थियो र त्यसलाई औपचारिक सम्वोधन गर्ने पदाधिकारी देशको कार्यकारी प्रमुख थिए ।
तर भयो के भने यो समारोहमा सम्वोधन गर्दा अरुबेलाको जस्तै कतै न कतै र कसै न कसैलाई विषाक्त लाग्ने वचन–बाण प्रयोग भई नै हाले र त्यसको शिकारमा पर्यो देशको समग्र युवावर्ग जसले आधुनिक प्रविधि (सामाजिक सञ्जाल) को प्रयोग गरी राज्यका गतिविधिमा गहिरो अभिरुचीका साथ सकृयता देखाइरहेका थिए र छन् । प्रधानमन्त्री ओलीका अनुसार देशमा यतिखेर जस्तो ‘घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोलेर सिङ्गो समाजलाई त्यतातर्फ प्रेरित गरिरहेको छ त्यो भनेको यही युवावर्ग हो ।’
प्रधानमन्त्रीका शब्द
‘मलाई थोरै चिन्ता केही फुर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ । मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । ‘क्रिटिकल अप्रोच’को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ ।’ (असौज ३ सैनिकमञ्च )
बुझाउने कुरो
यो भनाइले बुझाउँछ प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा धेरै रुची राख्दा रहेछन् । त्यसमा खासगरी युवापुस्ताको प्रतिकृया प्रति उनले नजिकबाट नै हेरिरहेका रहेछन् । यस्तो सामाजिक सञ्जालमा निरन्तर प्रकट भैरहेका यस्तो हरेक कुरामा सरोकार राख्नेहरुबाट अहिलेको राज्य सञ्चालन जसरी भैरहेकोछ त्यसमा यो वर्ग घोर असन्तुष्ट रहेछ भन्ने प्रधानमन्त्रीलाई लागेको हुनुपर्छ । त्यसमा यो वर्गका जस्ता प्रतिकृया आइरहेका छन् ती अहिलेको राज्य सञ्चालकले चाहेको जस्तो भएन छ । त्यसकारण होला प्रधानमन्त्रीको मनै देखिको प्रतिकृया यसरी प्रकट भयो ।
अझ यसलाई थप भनिँदा प्रधानमन्त्रीका लागि त यी प्रतिकृयाहरु उनले अरुका लागि प्रहार गर्दै आएका जस्ता वचन–बाणनै भैरहेका रहेछन् । त्यसले उनलाई घेच्यो र शुभकामना आदान प्रदान गर्ने यस्तो राष्ट्रिय पर्वमा यो सिंगो वर्गलाई समाजमा घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोलेर विगारेको भन्ने आरोप लगाइयो ।
यता वास्तविकता चाहिँ अर्कै देखिन्छ । समाजमा घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्ने र समाजलाई त्यस्तो घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा सिकाउने काम यो आधुनिक प्रविधिमार्फत प्रतिकृया व्यक्त गरिरहेको यो वर्गले होइन बरु प्रधानमन्त्री ओली आफैले यस्तो घृणाको प्रसार गर्ने काम विगत लामो समय देखिनै गरिरहेका भन्ने बुझाइछ आम तहमा । विश्वास लाग्दैन भने अध्ययन नै गरौं ।
रेकर्डबाटै हटाउनु पर्ने बोली
प्रधानमन्त्रीका बोलीका बारे आम तहमामात्र होइन, ओली त्यस्तो बोली बोल्ने व्यक्ति हुन जसको बोली राज्यले रेकर्डमा समेत राख्न सक्तैन, हुँदैन भन्ने औपचारिक रुपमा नै स्थापित भैसेको छ । यो आरोप जस्तो लाग्छ भने गएको बैशाख अन्त्य (२७ गते) तिरको संसदको एउटा रेकर्ड हेरे हुन्छ । उनले संसदमा जे बोले त्यो संसदको रेकर्डमा राख्न नहुने ठहर गर्दै सभमामुखले त्यस दिन त्यसलाई मेटाइदिएका थिए । संसद भनेको जनताको प्रतिनिधित्वको सबैभन्दा ठूलो निकाय हो । प्रधानमन्त्री समेत त्यहीँका उत्पादन हुन । आफु जन्मिएको ठाउँमा समेत उनले जस्ता वचन–बाण प्रयोग गरे त्यसले संसदकै अवमूल्यन गरेका भनी उनको वोलीलाइ रेकर्डबाट हटाउनु परेको हो । संसदको अभिलेखबाट बोली हटाइने ओली यो देशका पहिला प्रधानमन्त्री हुन । संसद भनेको देशभरीकै सामाजिक प्रतिविम्व झल्कने ठाउँ हो । त्यस्तो ठाउँमा त प्रधानमन्त्रको बोली रेकर्डमा राख्नै नहुने खालको हुन्छ भने अनुमान गरौं आफनो बोलीद्वारा समाजमा प्रदुषण फैलाउने काम सामाजिक सञ्जाल चलाउने यी तमाम युवाले गरे कि यस्तो बोलीबोल्ने प्रधानमन्त्रीले भन्ने आफै अनुमान गरौं ।
कस्ता कस्ता नामाकरण
मान्छेलाई अरिँगाल, छौडा, विच्छी, बाँदर, विरालो र मुसाको सज्ञा दिएर सम्वोधन गर्नेमा पर्छन प्रधानमन्त्री केपी शर्पा ओली र उनको बोली । उनले आफना कार्यकर्तालाई अरिँगाल भनी गराइदिएको नामाकरण व्यापकनै भैसकेको छ । ओलीकै मुखबाट र प्रधानमन्त्री भएकै बेला कसैलाई छौँडा भनी दिएका संज्ञा उनका आफनै सल्लाहकारले वारम्वार प्रयोगमा ल्याएरहेका छन् । उनको दलका नेतानै उनले बाँदर र बिरालोका रुपमा सम्वोधित भएका व्यक्ति हुन् । देशका वुद्धिजीवीलाई मुसा भनी नामाकरण गर्ने पनि प्रधानमन्त्री ओली नै हुन् उनैले त्यस्ता वुद्धिजविलाई थलानै पारिदिने भनी सार्वजनिक रुपमानै धम्की नै दिएका थिए केही पहिले मात्रै ।
पछिल्लो समय प्रधानमन्त्री ओलीबाट आएको एउटा अभिव्यक्तिले सर्वसाधारणलाई आफनो प्रधानमन्त्री मान्न पनि गाह्रो भएको अवस्था प्रकट भैरहेका छन । एकजना पत्रकारले त लेखेनै –‘अहिले कलेजमा विरामी सहपाठीलाई छिटो ठीक हुनु ‘गेटवेल सुन’ भन्दा हाँसेर मलाई चाहिँदैन तिम्रो शुभकामना भन्ने जवाफ सुनिन्छ यदाकदा ।’ भदौ पाँच गते उपचारका लागि १० दिनमा दोस्रोपल्ट ओलीलाई शीघ्रस्वास्थ्यको कामना गर्दा माधव नेपाललाई उनले दिएको उत्तर थियो, ‘मलाई मरोस् भन्दै हिँड्नेको चाहिँदैन शुभकामना ।’ यो भनाइले जतिसुकै ठूलो दुस्मनी भएपनि सुस्वास्थ्यको शुभकामना दिने संसार भरीकै र नेपाली समाजको त विशेषतानै रहेको कुरालाई खण्डित गर्छ । पछिललो समय सामकाजिक सञ्जालमा प्रधानमन्त्रीको भनाइको सवभन्दाबढि नकारात्मक टिप्पणी आएको विषय यो ‘मलाई मरोस् भन्दै हिँड्नेको चाहिँदैन शुभकामना’ रह्यो । अझै पनि जो कोहीले जहिले पनि यी विवरण हेर्न सकिन्छ ।
‘वचन– बाण’संग्रहबाट केही
‘वचन– बाण’ यो बेलामात्र होइन विगत देखिनै प्रधानमन्त्रीका नै बोली समाजमा उनले भने जस्तै घृणा फैलाउने कडी बन्दै आएको पाइन्छ । त्यसलाई बटुलिँदा मात्र पनि एउटा सानोतिनो संग्रहनै हुनेगरी यस्ताम बाण प्रकट भैरहेका छन् । जुत्ताको साइज मिलाउन खुट्टा ताछ्न निर्देशन दिने आदि जस्ता सन्दर्भमा विगत देखिनै प्रधानमन्त्री बाट जस्ता बोली बोलिए र त्यो क्रम अझैपनि जारी छ त्यसलाई समाजले पचाउन सकेको छैन । यो कुरा विभिन्न समयमा गरिएका अध्ययनले नै देखाउँदै आएका हुन् ।
सडकका खाल्डा पुरिदिन माग गर्दै कुनै क्षेत्रका नागरिकहरु कुनै समय प्रधानमन्त्री ओलीसम्म पुगे । उनले त्यहीँ भनिदिए – ‘ती खाल्डा यो सरकारले खनेको होइन ।’ विकास निर्माणको काम हुँदै नभएको कुरा आयो । उनले जवाफ दिए –‘सरकार जादूको छडी देखाउन आएको होइन ।’
संसदको दोस्रो अधिवेशन समाप्त हुन लागेको एक दिन उदयपुरका एक जना सांसदले एउटा खोलाको बाढीले धेरै नोक्सान पारेको हुँदा तटवन्धनका लागि माँग गरे । प्रधानमन्त्री ओलीले जवाफ दिइहाले –‘त्यो खोलो यो सरकारले छ महिनामा ल्याएको हो र ?’
कन्चनपुरकी एक बालिकाको वलात्कारपछि हत्या भएको घटनाबाट देश आन्दोलित रहेको बेलाको एक समय प्रधानमन्त्री ओली अमेरिकामा थिए । त्यसबेला त्यहाँका एकपत्रकारले सोधे – हत्यारा कहिले पक्राउ पर्लान ? उनको बनिबनाइ उत्तर आयो –‘वाह्र वर्ष नि लाग्न सक्तछ ।’
थलै पार्ने वाण
सरकरा वर्षदिन पूग्न लाग्दाको क्रममा सरकारी टेलिभिजनको, प्रधानमन्त्रीको कार्यालयले नै खर्च व्यहोरेको एउटा कार्यक्रम मार्फत देशका तमाम बुद्धिजीविलाई मुसा भनेर सम्वोधन गरेको कुरा त्यतिबेला सर्वाधिक चर्चा र संझनामा थपिन आएको वाण थियो । अर्को कुनै यस्तै वाण नआउन्जेल गएको मसिर १९ को प्रधाननमन्त्रीसंग जनता भन्ने कार्यक्रममा हानिएको त्यो वाणले ठाउँ पाइरह्यो समाजमा चर्चाका लागि र त्यसपछि आयो आफना कार्यकर्ताको समाजमा परिचय नै फेरिदिने नाम –अरिँगाल ।
थला पार्ने धम्की
इसाइहरुको एउटा धर्मसभाबाट प्रधानमन्त्रीले पाएको एकलाख डलरलाई इनाम भनेपछि देशका वुद्धिजीवीले सकेसम्मको गाली पाए प्रधानमन्त्रीबाट सरकरी टेलिभिजनमार्फत । ओलीले त्यसलाई पुरष्कार भने पनि अरुले चाहि इनाम नै भनिरहे पछिसम्म । त्यसकै प्रतिकृयामा प्रधानमन्त्रीले आफनो टिभि अन्तर्वार्तामा भने का थिए –‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य, तल्लो स्तरका देख्छु । त्यस्ता बुद्धिजीवीलाई एकपल्ट मसँग पहिले, सञ्चार माध्यममा आउनुभन्दा अगाडि किनभने मैले जवाफ दिँदा उहाँहरू थला पर्ने सम्भावना हुन्छ । त्यसकारण म थला पार्न चाहन्न । उहाँहरूलाई म जान्दछु। त्यसकारण मसँग एकपल्ट उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो कि होइन ? म उहाँहरूलाई सोध्न पनि चाहन्छु । उहाँहरूका असलियतहरू, जसरी उहाँहरूले असभ्य ढंगले बोल्नुभएको छ । अलिकति असलियत बाहिर आउँदा उहाँहरूको के हुन्छ ? त्यो अलि विचार गरे हुने हो । अब मलाई कति मात्रै भन्न मन छ भने सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा । गोपनीयताहरूको वास्ता नगर्ने प्रवृत्ति अर्को । यस्ता प्रवृत्तिहरू र अत्यन्त अनुत्तरदायी र झूटो प्रचारहरू गर्ने अर्को ।’
अरिँगाल आह्वान
अरिगाँलको आह्वान अर्को धेरै नै वजार लिएको विषय हो जसले नेकपाका कार्यकर्ताको नामनै अंरिँगालमा परिणत गरायो । यो दलका वरिष्ठ नेताले संसदमानै यो कुरा उठाइसेका छन । अघिल्लो भदौ ३० को एउटा सार्वजनिक कार्यकमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–
‘सरकारले ज्यादै राम्रो काम गरेको छ, यति राम्रो काम यसअघि नेपालका कुनै पनि सरकारले गरेका थिएनन, तर राम्रा कामको पनि गलत प्रचार भएको छ, सरकारका राम्रा कामको गलत प्रचार गर्नेविरुद्ध कालो अरिंगालको गोला जसरी खनिन म आमकार्यकर्तालाई आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीले यस्तो निर्देशन जारी गरेकै दिन देशैभरी सामाजिक अन्याय विरुद्ध एउटा ठूलो प्रदर्शनी भएको थियो । सुदूर पश्चिम कन्चनपुर देखि सुदूर पूर्व झापासम्म फैलिएको र पहाड र तराइ सबैतिर एकैदिन एकैपटक ३६ ठाउँमा आयोजित यो प्रदर्शनीको विषय थियो वलात्कारपछि हत्या गरिएकी एउटी किशोरीले न्याय पाउन, हत्याराहरु समातिउन् भन्ने । ओलीको यस्तो अरिँगालको बाण यही प्रदर्शनी तर्फ लक्षित थियो भन्ने बुझे त्यसबेला सबैले ।
जुत्ता मिलेन ! खुट्टा ताछ !!
ओली प्रधानमन्त्रीमा नियुक्त भएका लगत्तै चौथो दिन, फागुन ७ को एउटा सार्वजनिक समारोहमा कार्यकर्तालाइ आह्वान गर्दै भने – ‘अव जुत्ता अनुसारको खुट्टा बनाउनु पर्छ । त्यसका लागि आावश्यक पर्यो भने खुट्टा ताछ्ने काम पनि गर्नु पर्छ ।’ दुइपार्टी एकीकरणको प्रस्ताव गर्न आयोजित समारोहमा उनले आफ्ना कार्यकर्तालाई निर्देशननै दिए ‘जुत्ताको साइज मिलेन भने खुट्टा ताछेर मिलाउनू ।’ यो भनाइले यो बेलासम्म प्रचलनमा रहेको ‘खुट्टा अनुसारको जुत्ता’ भन्ने उखानमा परिवर्तन भएर ‘जुत्ता अनुसारको खुट्टा’ भन्नेमा परिणत भयो । यहाँ अर्को आश्चर्य के देखियो भने उनले त्यो भव्य मञ्चबाट यस्तो निर्देशन दिँदा तल बस्ने कार्यकर्ताले गडगडाहट तालि बजाएका थिए । यता नागरिक तहबाट भने यसको पनि व्यापक प्रतिकृया आयो ।
थप केही नमूना
– असारको मध्यमा बलुवाटारमा एउटा दिवाभोज भयो । पात्र थिए गीतका लेखक र गायकहरु । त्यहाँ प्रधानमान्त्रीले भनिदिए
–‘अव गरिवीका गीत नलेख्नू र नगाउनू पनि ।’
– भदौको मध्यमा ओली आफैंले राजधानीका सम्पादकहरुलाई वोलाएर करिव दुइ घण्टा आफ्ना कुरा सुनाए । यो कन्चनपुर घटनाले उत्कर्ष पाएको बेलाको कुरा हो । समाचार सरकारका पक्षमा थिएनन् । घटना नै त्यस्तै थियो । एक वालिकाको क्रुरतम हत्या भएको र महिनादिन बढी हुँदापनि हत्यारा पत्तानलोगको घटनाले वास्तवमानै समाज निराश थियो । यस्तो बेला त्यहाँ ओलीले भनिदिए –‘समाजमा निराशा जगाउने समाचार दिँदै नदिनू ।’ यसको अर्थहुन्छ यस्ता समाचार पत्रकारहरुले आफै उत्पादन गरेका हुन् ।
बुद्धिजीवी मुसा
रारा सम्वोधन प्रधानमन्त्रीको एउटा चर्चित कुरा मध्येमा पर्छ । खर्चकै हिसावले पनि यो धेरै महँगो थियो । अघिल्लो दिन नौवजे त्यता लागेका प्रधानमन्त्री भोलीपल्ट साँझमात्र फर्किएका थिए । यो सम्वोधनका बारे धेरै प्रतिकृया आए । १० बैशाखमा उनले यसको प्रतिकृया दिँदै भने– ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ । मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन, विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ? नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ । ससुराली जान लागेको ज्वाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ ।’
यो सम्वोधन कति कार्यान्वय होला भनी एकजना विश्लेषकले राजा महेन्द्रले पनि यस्तै गरेका भनी त्यसको हविगत सम्झाएका थिए । त्यसको उत्तरमा उनले यस्तो प्रतिकृया दिएका हुन् । तर यो घोषणको कुरा त्यस्तै भयो जस्तो ती लेखकले भनेका थिए ।